चर्चित डनहरूको अपराध पात्रो

Deepak-Manangeधेरै अवैध सम्पत्ति
गणेश लामा
काभ्रे खहरे पाङ्गममा जन्मिएका चर्चित डन लामासँग जति धेरै सम्पत्ति छ, उनको अपराध यात्रा पनि त्यत्तिकै डरलाग्दो छ । दोस्रो पुस्ताका भनिए पनि उनले पहिलो पुस्ताका डनहरूलाई पनि उछिनेका छन् । विभिन्न अभियोगमा प्रहरीले उनलाई पटक–पटक पक्राउ पनि गर्‍यो तर छुटिहाल्छन् ।
ठमेललाई आधार क्षेत्र बनाएका लामा ०६२ सालमा मात्रै दुई पटक पक्राउ परे । हातहतियार, खरखजना र ज्यान मार्ने उद्योगमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । ०६६ सालमा पनि उनी पक्राउ परे । ६ माघ ०६६ मा गोठाटारमा ९ वर्षीय बालकको ज्यान जाने गरी भएको गोलीकाण्डमा उनी पनि मुछिए । प्रहरीले उनका मतियारलाई पक्राउ गरे पनि उनी भने दुबई फरार भए ।
लामाविरुद्ध अदालतमा मुद्दा चल्यो । काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिँदा आर्थिक चलखेल भएको आरोप लाग्यो । लगत्तै नेपाल फर्किएका उनले ११ भदौ ०६७ मा प्रहरी परिसर काठमाडौंमा अत्मसमर्पण गरे । तर, अदालतबाट सफाइ पाइसकेकाले १५ दिन मात्रै हिरासतमा बसेर छुटे ।
टेकुका व्यापारी पवन गुप्तालाई धम्क्याएको उजुरी परेपछि उनी फेरि पक्राउ परे । २५ लाख १९ हजार रुपियाँ नतिरेपछि ठगीको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको ठाडो आदेशमा उनलाई हिरासतबाट छाडियो । २० पुस ०६७ मा गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)मा प्रवेश गरेका लामा अहिले सोही पार्टीको केन्द्रीय सदस्य छन् ।
ठगीदेखि ज्यान मुद्दासम्म
दीपक मनांगे
ठगी आरोपमा हालसालै पक्राउ परेका मनांगेको अपराध फेहरिस्त लामो छ । काठमाडौं–१६ पकनाजोल बस्ने मनांगेले पटक–पटक गरी दुई वर्ष नौ महिना १५ दिन जेल सजाय पनि भोगिसकेका छन् । उनीमाथि चारवटा सार्वजनिक अपराधको मुद्दा लागेको थियो ।
ज्यान मार्ने उद्योगअन्तर्गत मनांगेविरुद्ध दुईवटा मुद्दा अदालतमा पुगेका थिए । उनीविरुद्ध डाँका मुद्दा पनि लाग्यो । विभिन्न मितिमा अदालतमा मात्रै उनले ३८ हजार रुपियाँ धरौटी रकम तिरेका छन् । प्रहरी रेकर्डअनुसार १७ भदौ ०५९ मा उनले लोचनप्रसाद विमलीको एक लाख २८ हजार २ सय २० रुपियाँ डाँका गरेका थिए । अनुसन्धानपछि १२ भदौ ०६३ मा मात्रै प्रहरीले उनीविरुद्ध अदालतमा डाँका मुद्दा दर्ता गरेको थियो ।
९ पुस ०६० मा उनले नागेन्द्र श्रेष्ठलाई तरबार प्रहार गरे । प्रहरीले उनलाई घटना भएको भोलिपल्टै पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलायो । १४ चैत ०६० मा उनले फेरि सुनील श्रेष्ठलाई तरबार हाने । १८ वैशाख ०६१ मा पक्राउ परेका मनांगेविरुद्ध सार्वजनिक अपराधअन्तर्गतको मुद्दा चलाइयो । ३१ वैशाख ०६१ मा उनले समकक्षी चर्चित डन चक्रे मिलनको बायाँ हात छिन्ने गरी तरबार प्रहार गरे ।
सो घटनाको एक वर्षपछि पक्राउ परेका मनांगेले झन्डै दुई वर्ष जेल सजाय नै भोगे । उनकै निर्देशनमा ९ फागुन ०६३ मा अर्का डन काजी शेर्पामाथि गोली प्रहार भयो । ज्यान मार्ने उद्योगअन्तर्गत उनलाई प्रहरीले १७ असोज ०६४ मा पक्राउ गर्‍यो । चन्द्रबहादुर चौधरीलाई कुटपिट गरेको भन्दै उनलाई ३ जेठ ०६८ मा प्रहरीले फेरि पक्राउ गर्‍यो । ठगी गरेको भन्दै उनलाई गत मंगलबार पनि प्रहरीले पक्राउ गरेको छ । अहिले उनी प्रहरी हिरासतमै छन् । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका उपाध्यक्ष पनि हुन् ।

दरबारदेखि माओवादीसम्मको सम्बन्ध
चक्रे मिलन
चक्रे मिलन उपनामले चिनिने चर्चित डन मिलन गुरुङको राजनीतिमा खासै संलग्नता देखिन्न । कुनै बेला पूर्वयुवराज पारस शाहको निकट पात्र मानिने उनलाई कांग्रेसदेखि एमाओवादीसम्मले प्रयोग गरेको भने पाइन्छ । तर, सदस्यता भने कुनै पार्टीको लिएका छैनन् ।
चक्रेको आपराधिक पृष्ठभूमि पनि दीपक मनांगेको भन्दा कम छैन । उनीमाथि ज्यान मार्ने उद्योगका मात्रै चारवटा मुद्दा लागे । पछिल्लोपटक त उनी लागुऔषध कारोबारमा समेत संलग्न देखिए । प्रहरी रेकर्डअनुसार २२ वैशाख ०५८ मा उनले राजीवराज शाहीमाथि तरबार प्रहार गरे । ७ जेठ ०६३ मा मात्रै प्रहरीले उनलाई पक्राउ गर्‍यो ।
१९ चैत ०६० मा चक्रेले सञ्जय श्रेष्ठमाथि तरबार प्रहार गरे । घटनाका मुख्य मतियार उनलाई प्रहरीले त्यहीबेला पक्राउ गर्‍यो । १६ भदौ ०६३ मा राजु थापालाई उनले गोली हाने । २२ वैशाख ०६४ मा हेपाली हाइटस्थित यादव डंगोललाई पनि उनले गोली हाने । उपचारका क्रममा डंगोलको मृत्यु भएपछि उनीविरुद्ध प्रहरीले ज्यान मुद्दा चलायो ।
५ माघ ०६५ मा चक्रेसहितको समूहले सञ्जय श्रेष्ठलाई फेरि खुकुरी प्रहार गरे । पछिल्लोपटक लागुऔषध कारोबारको अभियोगमा उनी पक्राउ परे । सोही मुद्दाअन्तर्गत उनी अहिले पुर्पक्षका लागि सुन्धरास्थित केन्द्रीय कारागारमा राखिएका छन् ।

‘गुरु’हरूकै दुस्मन
अभिषेक गिरी
विराटनगरमा भारतीय गुन्डाहरूको सन्जाललाई तोडेर करिब १० वर्ष एकछत्र राज गर्न सफल उमेश गिरी र उनका उत्तराधिकारी उमेश यादवको छत्रछायामा जन्मेको हो, अभिषेक गिरीको गुन्डाराज । गिरी र यादवकै सिको गर्दै उनी पनि विराटनगरमा सबै राजनीतिक दलबाट प्रयोग भए ।
अपहरण, हत्या, तस्करी, ठेक्कापट्टालगायत सबैखाले धन्दाबाट गिरीले मनग्य सम्पत्ति पनि जोडे । पछि, यादव मधेसी जनअधिकार फोरममा प्रवेश गरे । गिरी कांग्रेसको छत्रछायामा रमाए ।
यादवबाटै गुन्डाराज सञ्चालनका दाउपेच सिकेका गिरी कालान्तरमा यादवकै प्रमुख शत्रु बने । हात्तीमुढा सडक कालोपत्रेको टेन्डरमा यादव र गिरीको समूहबीच झडप भयो । १७ कात्तिक ०६५ मा भएको सो झडपमा करण यादवको मृत्यु भयो ।
सो घटनाका कारण गिरीले करिब तीन वर्ष जेल सजाय भोगे । साधारण तारेखमा अहिले उनी जेलबाट छुटिसकेका छन् । प्रहरीका अनुसार विगतदेखिको उनको धन्दा अहिले पनि जारी छ ।

प्रतिक्रिया