विदेश छाडेर व्यावसायिक गाईपालन

cow-farmम्याग्दी, २ वैशाख । म्याग्दीको घार गाविसका युवाहरू विदेशको रोजगारी छाडेर गाउँमै व्यावसायिक गाईपालनमा सक्रिय हुन थालेका छन् ।

गाउँमै चिज उद्योग खुलेर दूध खपत हुने भएपछि विदेशको रोजगारीलाई छाडेर यहाँका युवाहरू गाउँमै उन्नत जातको व्यावसायिक गाईपालनमा आबद्ध भएका हुन् । गाविसको पाँचदेखि आठ वडासम्म अहिले ३२ घरमा व्यावसायिक रूपमा उन्नत जातको गाईपालन सुरु गरिएको छ । स्थानीय ५० जना कृषक संगठित बनेर स्थापना गरिएको नीलगिरि व्यावसायिक गाईपालन समूहमा आबद्ध भएर व्यक्तिगत रूपमा सो कार्य गर्न थालेको समितिका अध्यक्ष गोविन्द खड्काले जानकारी दिए ।
दस वर्षसम्म कतारमा काम गरी गाउँ फर्किएका स्थानीय श्यामप्रसाद खड्काले अहिले ५ वटा उन्नत जातका गाई पालेको बताए । विदेशमा मासिक रूपमा कमाउने १५/२० हजार रुपियाँ गाउँमै कमाउन सकिन्छ भन्ने आत्मविश्वासले गत वर्षदेखि सुरु गरेको गाईपालन गरेर दुग्ध बिक्रीबाट अहिले मासिक १५ हजार रुपियाँसम्म आम्दानी हुने गरेको गाईपालन समितिका सचिवसमेत रहेका खड्काले अनुभव छ ।
कोरियामा १२ वर्षसम्म काम गरेर गाउँ फर्किएका घार–६ का अर्का ३८ वर्षीय नारायण बरुवालले पनि अहिले ११ लाख रुपियाँ लगानी गरी गाउँमै गाई फार्म सञ्चालन गरेका छन् । विदेशको सबै दुख:कष्ट भोगियो, युवा कृषक बरुवालले भने, ‘अहिले सात लाख रुपियाँ लगानी गरी फार्म निर्माण गरेर चार लाख रुपियाँको लगानीमा पाँचवटा उन्नत जातका गाई खरिद गरी व्यावसायिक गाईपालन सुरु गरेको छु ।’
सो गाउँमा विदेशबाट फर्किएका सुकबहादुर बरुवाल, प्रेमबहादुर खड्का, मनबहादुर बरुवाल, लगायतका युवाहरूले पनि गाउँमै उन्नत जातको गाईपालन पेसालाई अँगालेका छन् । विदेशमा ठूलो रकम लगानी गरी जानुभन्दा गाउँमै चिज उद्योग सञ्चालन भएकाले गाईपालन व्यवसायतर्फ लागेको ती कृषकहरूको भनाइ छ ।
प्रत्येक गाई पोखराबाट ६० हजार रुपियाँमा खरिद गरी ल्याएका उनीहरूले अहिले खिबाङ गाउँमा रहेको सन्नी चिज उद्योगमा दैनिक एकसय लिटर दूध बेच्ने गरेको नीलगिरि गाईपालन समितिले जनाएको छ । उनीहरूले प्रतिलिटर दूध बिक्री गरेबापत समूहमा एक रुपियाँ रकम संकलनसमेत गरेका छन् । दूधको ढुवानी गर्ने र पशुहरूको औषधि उपचार कोष निर्माणका लागि उनीहरूले रकम संकलन गरेका हुन् ।
गत कात्तिक महिनादेखि घार गाविसको खिवाङ गाउँमा गाईको दूधबाट चिज उत्पादन सुरु भएपछि गाउँमा गाईपालन गर्नेहरू बढ्दै गएका हुन् । स्थानीयवासी एवं घोरेपानीका पर्यटन व्यवसायी डमबहादुर पुनले चिज उद्योग स्थापना गरेपछि अहिले गाउँमा गाईपालनबाट उत्पादन हुने सबै दूध चिज उद्योगले नै खरिद गर्ने भएकाले कृषकहरूलाई सहज भएको स्थानीय गाईपालन गर्ने कृषक सुकबहादुर बरुवालले बताए । गाउँमै रोजगारीको सिर्जना गरेर विदेश जानेक्रमलाई हटाउन आफूले गाउँमै चिज उद्योग सञ्चालन गरेपछि कृषकको आयआर्जन बढेको चिज उद्योग सञ्चालक पुनले उल्लेख गरे ।
अहिले जिल्ला पशुसेवा कार्यालय र पशुसेवा केन्द्र घारको प्राविधिक सहयोगमा पोखरालगायत ठाउँबाट गाई ल्याएर पाल्न थालिएको छ । गाईपालनका लागि पशुसेवा कार्यालयले हिउँदे र बर्खे घाँसको बिउ वितरण गर्नुका साथै परजीवीविरुद्धको खोप र औषधि पनि उपलब्ध गराएका केन्द्रका पशु स्वास्थ्य प्राविधिक ठाकुरप्रसाद बरुवालले जानकारी दिए । उनका अनुसार हालै पशुसेवा कार्यालयले एक साँढेसमेत नि:शुल्क रूपमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया