बिहे गर्दा म १९ वर्षको थिएँ, उनी १७ वर्षकी थिइन् । नामचाहिँ सीता रहेछ, उनको । तर, त्यतिबेला म राम बनिसकेको थिइनँ । अहिले पनि सकेको छैन, प्रयास भने गरिरहेको छु । बिहे गर्ने बेलामा एकदमै राम्री थिइन उनी्, हेरिरहुँजस्ती । झर्रो शब्दमा भन्नुपर्दा त्यतिबेला उनी ‘च्वाक’ थिइन् ।
उनीभन्दा अगाडि मैले दुईतीनजना अरू केटी हेरिसकेको थिएँ । उनलाई देख्नेबित्तिकै मन पराइहाले । पहिलो भेटमै मेरो मन चोरिहालिन् । ‘एकै नजरमा माया बस्यो है, लुकीछिपी हेरिदिनाले’ जस्तै भयो । उनका आँखा, हाँस्दा गलामा पर्ने डिम्पल, लामो कपाल, सुडौल शारीर । ओहो † पहिलो नजरमै मोहित भएछु । उनको शरीर यस्तो कामुक थियो कि पहिलो भेटमै उनीप्रति ममा सेक्स फिलिंस जाग्यो । अचम्म, हेरेरै उनीप्रतिको मेरो पहिलो सेक्स चाह शान्त भएछ । उनलाई देखेपछि सेक्स फिलिंस यस्तो उत्पातसँग चढेको थियो कि सहज रूपमा बस्न पनि मलाई गाह्रो भएको थियो । त्यतिबेला मैले गर्न सक्ने अरू के नै थियो र ? हेरेरै आनन्द लिएँ ।
उनको हात माग्न माइली भाउजू, आमा र साथी सानकाजी श्रेष्ठ, जो अहिले यो धर्तीमा छैन, लाई साथ लिएर गएको थिएँ । उनलाई हेरेपछि माइली भाउजूले ‘केटी कस्तो लाग्यो ?’ भनेर सोध्नुभएको थियो । उनलाई देख्नसाथ खुसी र सेक्स फिलिङले रोमरोममा उमंग र उत्तेजना चढिरहेको भए पनि भाउजूको प्रश्न सुनेर लजाएँ । ‘हुन्छ, केटी मन पर्यो’ भन्नै सकिन । मौन रहनु पनि एककिसिमको स्वीकृति हो । म चुप लागेर बसेको देखेपछि उहाँहरूले मेरो मौनताको संकेत बुझ्नुभएछ । ०३२ साल माघ २२ गते हाम्रो बिहे हुने पक्का भयो ।
विवाहको दिन मेरी श्रीमती असाध्यै रोएकी थिइन् । त्यही रुवाइमा मैले पनि उनलाई साथ दिएको थिएँ । उनको कसम, मैले झूठ बोलेको होइन । म पनि उनीसँगै रोएको थिएँ, धरोधर्म । मलाई पो उनको घर थाहा थियो, परिवार थाहा थियो । तर, उनले मेरो घर कहिल्यै देखेकी थिइनन्, न त मेरो व्यावहारबारे उनलाई कुनै जानकारी थियो । यी सबै सम्झिँदा उनीप्रति माया र करुणा उर्लिएर आयो । आफूलाई सम्हाल्न सकिन र सँगसँगै लागेर रोएँ ।
विवाह रात, अर्थात् सुहागरात । मन त्यसैत्यसै उत्तेजित एवं रोमाञ्चित थियो । दुलही हेर्नेको ठूलै भीड लागेको थियो । ८ बज्यो, ९ बज्यो, १० बज्यो । साढे १० बज्दा पनि बेहुली हेर्न आउने क्रम रोकिएन । आफन्तहरू अझै आएका आयै † कति धेरै आफन्त रहेछन् हाम्रा भन्ने सोचेर त्यो रात मलाई बोर लाग्यो । रातको ११ बजेर १५ मिनेट गएको थियो होला, मेरी दिदीले हामीलाई ‘गुट नाइट’ भनेर जानुभयो । त्यसपछि कोठामा हामी दुईजना मात्र भयाँै । चारैतिर एकाएक सन्नाटा छाएझै भयो । केही समयपछि मैले उनलाई ‘सुत्ने होइन’ भनेर सोधेँ । उनीबाट कुनै जवाफ आएन । केही समय यत्तिकै बसिरह्यौँ । केहीबेरपछि फेरि भने, ‘बत्ती निभाइदिऊ ?’ फेरि पनि उनले कुनै प्रतिक्रिया जनाइनन् । उनको भावना र मनोदशा बुझेर बत्ती निभाएँ र कपडा खोलेँ । उनले पनि गहना, कपडा खोलिन् र ओछ्यानमा आइन् ।
ओछ्यानमा ढल्कियौँ । केही समयपछि मैले सोधेँ, ‘तपार्इंंको छेउमा बसेकी कालो साडी लगाउने को हो ?’
उनले भनिन्, ‘मेरी मितिनी ।’ मसँग उनले बोलेको पहिलो शब्द त्यही थियो । त्यसपछि हामी कुराकानी छाडेर सुहागरातमा रमाउन थाल्यौँ । योभन्दा बढी भन्न सक्दिन । बुझ्नेलाई इशारा काफी छ † कि कसो ?
बिहान उनीसँग आँखा जुध्दा अलिअलि लाज लाग्यो । विवाहअगाडि दिन गएको पत्तै हुँदैन थियो । बिहेपछाडि दिन असाध्यै लामो लाग्न थाल्यो । कत्तिबेला रात पर्ला र ओछ्यानमा जान पाइएला भन्ने प्रतीक्षामा रहन्थँे, म ।
केही दिनपछि ससुराली गइयो । १२–१३ वर्षसम्म आमाको बुबु खाएको मानिस म । त्यसैले एक्लै सुत्न मलाई गाह्रो हुन्थ्यो । त्यही भएर मैले ससुराली जानुभन्दा अगाडि नै सीतालाई ‘राति सुत्ने बेलामा चाहिँ मसँगै आऊ है’ भनेको थिएँ । उनले कुनै जवाफ दिइनन् । रातको ११ बज्न लाग्यो, उनी आउँदिनन् । मलाई औडाहा भयो । डरले निन्दै्र लागेन । विवाहअगाडि त डरले मात्र एक्लै सुत्न सक्दिन थिएँ । विवाहपछि ओछ्यानमा उनको कमी खड्किन थाल्यो जसले गर्दा म निदाउन सकिन । मलाई साथ दिन करिब रातको ११ बजे उनी आइन् । बिहान हुनभन्दा अगाडि नै उनी मेरो ओछ्यानबाट उठेर अर्कै ओछ्यानमा पल्टिन पुगिन् । कस्ती बाठी † धन्न कसैले थाहा पाएनन् †
०००००
हामीले विवाह गरेको करिब ३७–३८ वर्ष हुन लाग्यो । यसबीचमा हाम्रो खासै झगडै भएको छैन । उनलाई मैले ‘तँ’ भनेर कहिल्यै बोलाएको छैन । उनले पनि मलाई ‘तँ’ त के, ‘तिमी’सम्म भनेकी छैनन् । उनले मलाई ‘राजा’ भनेर बोलाउने गरेकी छिन् । हामीबीच कहिलेकाँही ठाकठुक पनि पर्छ । तर, झगडा सँधै मेरै कारण हुने गरेको छ । कहिलेकाही राति अबेर गइदिने । पहिलेपहिले ड्र्सिं गरेर राति अबेर घर पुग्ने गर्थे । त्यसैले कहिलेकाही झगडा पथ्र्यो । हामी ग्ल्यामर फिल्डका मानिस भएकाले केही असहजता पनि ल्यायो, यसले मेरो वैवाहिक जीवनमा । राति १२ बजे नायिका जल शाहलाई मेरो गाडीमा राखेर न्युरोड घुमेको छु । मेरी श्रीमतीको कानसम्म पुग्दा यो समाचारले नराम्रो स्वरूप ग्रहण गरेछ । बढाइचढाइ गरेको समाचार उनको कानसम्म पुगेछ । तर, मेरी श्रीमती बुझकी भएकीले केही भएन । यस्तो कुरा सुनाउनेलाई भनिछिन्, ‘कलाकार भएपछि सहकर्मीलाई लिफ्ट दिन के भयो त?’
०००००
आजभन्दा २० वर्षअगाडि एउटी केटीको फोन आएछ, घरमा । फोनमा ‘किरण केसीलाई पाऊ’ भन्दै केटी बोलेपछि श्रीमती झस्याङ्ग भइछिन् । फोन गर्ने केटीले ‘तपाईंको को हो ?’ भनेर श्रीमतीलाई उल्टै सोधिछिन् । ‘म किरण केसीकी श्रीमती हुँ,’ उनले भनिछिन् । त्यो फोन गर्ने केटीले भनिछ, ‘तँ मात्र किरणको श्रीमती होस् म पनि उसको श्रीमती हँु । यहाँ बच्चाको ल्याक्टोजिन सकियो, डेराभाडा तिरेको छैन ।’ यति भन्दै फोने राखिदिइछे । यति भएपछि श्रीमतीलाई अब के चाहिन्थ्यो र ? घर आएको, मरे बोल्दिनन् । त्यो रात उनी मसँग बोल्दै बोलिनन् । भोलि बिहान पो सबै कुरा थाहा पाएँ । तर, मैले त्यस्तो केही गरेको थिइन । कुन केटीले मेरो परिवार भाँड्ने काम गरेकी हुनसक्छे, पत्ता लगाउन मन लाग्यो । यतिकैमा करिब ३ महिनापछि राजाराम पौडेलको घरमा पनि ठ्याक्कै मेरै श्रीमतीलाई जस्तै फोन आएछ । पछि कुरा बुझ्दै जाँदा त अभिनेत्री करिस्मा मानन्धरले पो यस्तो जोक गरेकी रै’छन् । उनका लागि त्यो जोक भयो होला । तर, हामीलाई कम अप्ठेरो पर्र्या ? पछि सबै कुरा करिस्माकै मुखबाट सुनेपछि श्रीमती खुसी भइन् । करिस्माले हामीलाई मात्र नभएर अन्य कलाकारहरूलाई पनि त्यस्तै गरेकी रहिछिन् ।
०००००
कसैकसैले मलाई केटी पट्याउने मामलामा ‘फर्वाड’ भन्ने गरेका छन् । तर, म त्यस्तो फर्वाड छैन । दिनका दिन नयाँनयाँ केटीलाई ‘युज’ गर्नेलाई पो फर्वाड भनिन्छ † ड्रेस चेन्ज गरे जस्तै सेक्स पार्टनर चेन्ज गर्नेहरू मात्र फवार्ड हुन् । तर, मलाई ती मान्छे फर्वाड हुन जस्तो लाग्दैन । उनीहरू मेरो दृष्टिकोणमा नामर्द हुन् । कसैले मेरो व्याक्तित्त्व मनपराएर, मेरो विचार रुचाएर, र मेरा हरेक कुरालाई मनपराएर ‘किरण केसी ह्यान्डसम छ’ भन्छ भने त्यसमा मेरो के दोष छ र ? तर, म कुनै ‘फर्वाड’ होइन ।
अहिलेसम्म करिब पाँचचोटि झगडा हाम्रो परेको छ होला । विवाह भनेको रथ हो र श्रीमान्–श्रीमती यसका दुई पांग्रा हुन् । विवाहरूपी हाम्रो रथको ब्यालेन्स मिलेको छ । भगवान्ले मसमक्ष ‘के माग्छौँ, माग’ भने भनेँ म जुनीजुनीसम्म सीतालाई नै मेरी श्रीमती बनाइदिनु भन्ने वर माग्नेछु । अथवा अर्को जन्ममा भगवान्ले उनलाई श्रीमान् र मलाई श्रीमती बनाइदिनुभयो भने पनि मलाई स्वीकार्य हुनेछ ।
०००००
मेरो मागी विवाह भएको हो । मलाई प्रेम विवाहभन्दा मागी विवाह सुरक्षित र दरिलो लाग्छ । उदाहरणका लागि मेरै वैवाहिक जीवन काफी छ । कसैले सल्लाहा माग्यो भने म मागी विवाह गर्न सल्लाहमा दिन्छु । मागी विवाहमा फलानाकी छोरी बिहान कति बजे उठ्छे, फलानाको छोरा राति कतिबजे घर पुग्छलगायतका कुरा नजिकका मानिसबाट बुझ्न सकिन्छ । त्यसले गर्दा केटा अथवा केटी ठीक छ कि छैन भन्ने थाहा पाउन सकिन्छ । अन्तमा म उनलाई ‘आइ लव यु’ भन्न चाहन्छु । आइ लभ यु सीता †
प्रस्तुति : विशाल राई
प्रतिक्रिया