साझाको दीर्घ जीवनको कामना

साझा यातायात नयाँ वर्षको उपहारका रूपमा पुन: सञ्चालन भएपछि यात्रुहरूमा खुसीको लहर फैलिएको छ । ०७० सालको पहिलो दिनदेखि काठमाडौं र ललितपुरका यात्रुहरूले युरो–३ मापदण्ड अनुरूपको बसमा चढेर यात्रा गर्न थालेका छन् । ०१८ सालदेखि साझाले आफ्नो सेवा सुरु गरेको थियो । तर, प्रजातन्त्रको आगमनपछि यो संस्था राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्यो । फितलो व्यवस्थापन, भ्रष्ट कर्मचारी र असहयोगी सरकारका कारण साझा यातायात समाप्त भयो । जनताको माया, सद्भाव र समर्थनले पनि साझालाई बचाउन सकेन । यसको कारण थियो राजनीतिक हस्तक्षेप, आवश्यकताभन्दा बढी कर्मचारी नियुक्ति, नालायक व्यवस्थापन र लापर्बाहीपूर्ण सञ्चालन । ०५८ सालमा पूर्णरूपले समाप्त भएको साझा १२ वर्षपछि सञ्चालनमा आउनु सुखद विषय बनेको छ । वास्तवमा साझा यातायातलाई जनताले आफ्नो साधन ठान्छन् र माया गर्छन् । यो आफ्नोपनलाई साझा व्यवस्थापनले जोगाइराख्नु पर्छ । यसैमा साझाको विस्तार र दीर्घ जीवनको पक्ष समेटिएको छ । मुख्य रूपमा साझा राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । यो संस्थाले आफूलाई राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने केन्द्रको रूपमा विकास गर्नुहुँदैन । अहिलेसम्म सरकारी हस्तक्षेपकै कारण धेरै संस्था डुबेका छन् । नेपाल वायु सेवा निगम, आयल निगम जस्ता संस्था समाप्त हुने अवस्थामा छन् । यस्तो बेलामा साझाले आफूलाई पुनर्जीवन दिएको छ । यसलाई दीर्घजीवी बनाउनुपर्छ ।
माल पाउने तर चाल नपाउने नेपालीको बानी छ । साझा अथवा ट्रली बसको दु:खद इतिहासले नेपालीलाई बदनाम गराएको छ । अब त्यो इतिहास नदोहोर्‍याउने दृढता साझाको व्यवस्थापन पक्षले गर्नुपर्छ । यातायात व्यवस्था फस्टाउँदो अवस्थामा छ । प्रतिस्पर्धा र जोखिम पनि त्यत्तिकै छन् । अहिले युरो–३ मापदण्ड अनुसारको बस साझाले भित्र्याएपछि अन्य यातायतका साधन पनि सोही अनुरूपका बन्न थाल्नेछन् । यो खुसीको कुरा हो । तर, यातायात भने युरो–३ अनुरूपको सडक भने राणाकालीन अवस्थाको हुँदा तालमेल मिल्ने अवस्था देखिँदैन । तथापि साझाले उदाहरणीय काम गरेमा समय क्रममा सडक विस्तार र परिमार्जन हुँदै जानेछ । १२ वर्षपछि काठमाडौंका सडकमा साझा यातायत चढ्न पाउँदा यात्रुलाई गर्वानुभूति हुनु स्वभाविक हो । तर, यसको भविष्य सुनिश्चित नभए यो गर्वानुभूति सीमित सयमका लागि मात्र हुन सक्छ । साझा यातायातलाई सबैले साझा सम्पत्ति ठानेर माया गर्ने हो भने यो दीर्घजीवी बन्न सक्छ ।
हाम्रा संघ–संस्थाहरू धरासाही हुनुमा मुख्य दोषी राजनीतिक दल हुन् भने व्यवस्थापन पक्ष पनि उत्तिकै दोषी देखिन्छ । गैरजिम्मेवार ढंगले राजनीतिक दबाब आउँदा त्यसको प्रतिकार गर्दै संस्थाको विकासमा खुलेर लाग्न नसक्ने व्यवस्थापनको अबको समयमा काम छैन । घूस, चन्दा र भ्रष्टचारले थुप्रै संस्था बर्बाद भएका छन् । साझाले पनि त्यही नियति भोगेको हो । अब विगतबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प छैन । अहिले साझाले आफ्नो अध्यक्षका रूपमा एउटा निर्भीक, खरो र लगनशील व्यक्ति पाएको छ । कनकमणि दीक्षितका अगाडि उभिएर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अवैधानिक माग प्रस्तुत गर्ने हिम्मत मूर्खले मात्र गर्नेछ । थोरै बुझेका र आफूलाई जिम्मेवार ठान्ने व्यक्तिले उनलाई अस्वाभाविक माग राख्न सक्ने छैनन् । जसले गर्दा साझालाई फाइदा पुग्नेछ । वर्तमान समय भनेको व्यवस्थापनको समय हो । यदि चुस्त, दुरुस्त र योग्य व्यवस्थापक छ भने जुनसुकै संस्था फस्टाउन सक्छ । अहिले साझा यातायातले उचित नेतृत्व पाएको अनुभव गर्न सकिन्छ । तर, यो एउटा ‘टिम वर्क’ हो । यहाँ दीक्षित मात्र सक्षम भएर हुँदैन । टिमका प्रत्येक सदस्यको सहयोग साझालाई आवश्यक पर्छ । आशा गरौँ सबैको सहयोग साझालाई मिलोस् । यही नै शुभकामना ।

प्रतिक्रिया