प्रमुख फेरिएपछि क्यासिनो र मसाज सेन्टर प्रहरीको निसानामा

Casinoकाठमाडौं, २ वैशाख । राजधानीमा प्रहरी प्रभाग प्रमुखले पहिलो निसाना क्यासिनो, मसाज सेन्टर र डान्स रेस्टुराँलाई बनाउने गरेका छन् । हालै जिम्मेवारी सम्हालेका पाँच महानगरीय प्रहरी प्रभाग प्रमुखले पनि यो क्रमलाई निरन्तरता दिएका छन् । उनीहरूले जिम्मेवारी सम्हालेको एक साताको अवधिमा छापा मार्ने क्रमलाई तीव्रता दिएका छन् ।

प्रहरीका अनुसार दरबारमार्ग र ठमेल क्यासिनो तथा वेश्यावृत्तिको आधार क्षेत्र हो । महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेका लागि चुनौती भनेकै ठमेल क्षेत्र हुने गरेको छ । ‘अवैध सेक्स’का लागि देशकै ठूलो बजार ठमेल भएकाले यसको नियन्त्रणका लागि कामको सुरुवात गेस्टहाउस तथा मसाज सेन्टर ‘रेड’बाट गरेको स्रोह्रखुट्टे प्रभागले जनाएको छ । यस क्रममा प्रभागले १० स्थानमा ‘रेड’ हानी वेश्यावृत्रिको आरोपमा २० जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने सबै यौन व्यवसायी भएको प्रहरीको दाबी छ ।
‘ठमेलको ठुलो चुनौती नै वेश्यावृत्ति हो । हामीले केही स्थानमा छापा हान्याँै,’ प्रभागका प्रहरी निरीक्षक कवित कटुवालले सौर्यसँग भने, ‘यो संकेत मात्रै हो । यसलाई हामी नियमित गर्छाैं ।’
ठमेलको अर्को चुनौती हो गुन्डागर्दी । उपत्यकामा भएका अधिकांश नाइट क्लबमध्ये प्राय: ठमेलमा छन् । प्रत्येक नाइट क्लबले गुन्डा पालेर राखेका छन् । त्यसकारण ठमेललाई गुण्डागर्दीको अखडा मानिन्छ । प्रभागले दोस्रो प्राथमिकतामा यसलाई राखेको छ । प्रहरी निरीक्षक कटुवालले भने, ‘ठमेलको अर्को चुनौती गुन्डागर्दी हो । यससग जुध्न गतिलो योजना चाहिन्छ । पहिलो चरणमा हामीले ‘पब्लिक ओरेन्टेसन’लाई प्राथमिकतामा राखेका छौँ । यसो गर्दा जनताको साथ पाइन्छ । त्यसपछिको प्रहार उनीहरूमा केन्द्रित हुन्छ ।’
क्यासिनो अपराधको अधिकांश हिस्सा दरबारमार्गले ओगट्छ । यहाँका क्यासिनोमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यावसायिक डनका लगानी छन् । लगानी सुरक्षित गर्न नेपाली जुवाडेलाई क्यासिनो प्रवेश गराउनुको विकल्प छैन, जुन गैरकानुनी हो । स्रोतका अनुसार यसका लागि उनीहरू जुनसुकै हतकण्डा पनि अपनाउछन् । यसर्थ अपराधको अर्को थलो यहाँका क्यासिनो पर्छन् । प्रहरी प्रभाग दरबारमार्गले कामको सुरुवात क्यासिनो ‘रेड’बाटै गरेको छ ।
पहिलो चरणमा प्रभागले आइतबार क्यासिनो रोयल र क्यासिनो अन्नामा छापा हान्यो । दुवै क्यासिनोमा नेपाली जुवाडे भेटिए । प्रहरीका अनुसार एकपटकको छापाबाटै ११ नेपाली पक्राउ परेका छन् । क्यासिनो अन्नाबाट ६ र रोयलबाट ५ नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट १० हजार दरका ३, हजार दरका १० क्वाइन, क्यासिनो अन्ना लेखिएको सिक्का १८, क्यासिनो भेनस लेखिएको हजार दरका क्वाइन र साढे एक लाख रुपियाँ नगद बरामद गरेको छ ।
‘यहाँका क्यासिनो हाम्रा लागि चुनौतीको विषय हो । किनभने प्रत्येक क्यासिनोको लगानीकर्ता आपराधिक पृष्ठभूमिका छन्,’ प्रभागका प्रहरी निरीक्षक कुमुद ढुंगेलले भने, ‘त्यहाँ अपराध नहुने कुरै भएन । त्यसैले पहिलो निसाना क्यासिनो बनेको हो । वेश्यावृत्ति पनि यहाँको चुनौती हो । यसतर्फ पनी हाम्रो ध्यान जान्छ ।’
विशालबजारस्थित जनसेवा प्रहरी प्रभाग र प्रहरी प्रभाग कलमपोखरीको कार्ययोजना भने अन्यभन्दा पृथक् छ । छापाभन्दा पनि प्रहरीको आचरण सुधारलाई उनीहरूले प्राथमिकतामा राखेका छन् । सामुदायिक प्रहरीको ‘कन्सेप्ट’लाई कार्यान्वयन गर्ने पक्षमा रहेको बताउँछन् दुवै प्रभागका प्रमुख ।
कमलपोखरी प्रभागले त हालै खराब आचरण भएका दुई प्रहरी जवानलाई पक्राउ गरि सचेत तुल्याएको छ । प्रहरीमा पछिल्लोपटक प्रतिपादित ‘स्माइल उइथ सर्भिस’लाई व्यवहारमा उतार्ने योजना रहेको बताउछन् प्रभागका प्रहरी निरीक्षक दीपक भण्डारी । उनले भन्छन्, ‘आचरण सुधार मात्रै हुन सके प्रहरीप्रति जनविश्वास बढ्छ । बल्ल सूचना आउन थाल्छन् । प्रभावकारी काम त अनि पो सुरु हुन्छ ।’
जनसेवाका प्रहरी निरीक्षक मिम लामाले प्रहरीको आचरण सुधारलाई पहिलो प्राथमिकतामा राखेको बताए । भने, ‘शून्य सहनशीलता हाम्रो प्रतिबद्धता हो । यसमा म कटिबद्ध छु । नियमित ड्युटी त छँदै छ नि †’
काठमाडौंमा प्रहरीका पाँच प्रभाग छन् । तीमध्ये गौशाला प्रहरी प्रभागले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया