‘पहिले संविधानको ढाँचा तयार पार्नुस्’

pramananda jha jiकाठमाडौं, २ वैशाख । उपराष्ट्रपति परमानन्द झाले आगामी संविधानको ढाँचा र रूपरेखा कोरेर त्यसमा जनताको सहमति लिन राजनीतिक दलहरूलाई सुझाव दिएका छन् । नया संविधानको रूपरेखा र ढाचा नआएसम्म अबको संविधानसभा पनि विगतको जस्तै हुने आशंका रहने उपराष्ट्रपति झाको भनाइ छ ।

‘के–कति कारणले संविधानसभा विघटन भएको हो ?’ उपराष्ट्रपति झाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा भने, ‘पहिले त्यो पहिल्याउन जरुरी छ ।’ उपराष्ट्रपतिले नयाँ संविधानको रूपरेखा कोर्नका लागि संघीयता, शासकीय स्वरूप र समावेशीलगायत विषयमा राजनीतिक दलहरू एउटा निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे ।
राजनीतिक दलहरूकै आग्रहमा बनेको अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई संविधानसभा चुनावको मिति तोक्न दलहरूले घच्घच्याइरहेको उल्लेख गर्दै उनले सबै दलका नेतासमेत चुनाव हुनुपर्छ भन्नेमा एकमत भई अथक प्रयासमा लागिरहेको टिप्पणी गरे । ‘अब असारको कुरा त गइसक्यो, आगामी मंसिरसम्मको कुरा आइसक्यो, अब अरूको नभई संविधानसभाकै चुनाव हुनेछ,’ उनले भने, ‘यदि अब पनि संविधानसभाबाट संविधान बनाउन सकिएन भने अझ त्यो देशको दुर्भाग्य हुनेछ ।’
कांग्रेसको नवलपरासी महासमिति बैठकबाट पनि चुनाव, संघीयता, शासकीय स्वरूपलगायत विषयमा स्पष्ट खाका आउन नसकेकोमा उनले असन्तुष्टिसमेत जनाए । अन्य राजनीतिक दलमा पनि कतिपय महत्त्वपूर्ण विषयवस्तुमा मतमतान्तर भइरहँदा जनतामा संविधानसभा चुनाव हुनेमा आशंकासमेत रहेको उनको भनाइ थियो ।
विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिएर वार्ताको वातावरण बनाउन सुझाव दिए । राजनीतिक दललाई विश्वासका साथ सहमतिमा ल्याउने प्रयास अपुग भएको तर्क गर्दै पूर्वअध्यक्ष नेम्वाङले यसअघिको संविधानसभा चुनावमा एकमत भएर गए पनि विभिन्नखाले टिप्पणी आएको स्पष्ट पारे । ‘विगतको त्यस्तो अनुभव रहेको अवस्थामा अहिले कतिपय राजनीतिक दल चुनावको विपक्षमा रहनु चुनौतीको विषय हो,’ उनले भने ।
कांग्रेस नेता डा. रामशरण महतले राजनीतिक दलले गरेका प्रतिबद्धता कार्यान्वयन हुन नसक्दा पछिल्लो सात वर्ष राजनीतिक तथा आर्थिक हिसाबले निराशाजनक भएको बताए । एमाओवादी नेता लीलामणि पोखरेलले संघीयता सबै राजनीतिक दलको साझा प्रतिबद्धताको विषय भइसकेकाले अब चुनाव हुन्छ भन्ने सन्देश पुर्‍याउन सञ्चार क्षेत्रसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया