रौतहटका अग्निपीडितलाई राहत

Rautahatरौतहट, २ वैशाख । रौतहटमा शनिबार भएको आगलागीका पीडितलाई विभिन्न व्यक्ति तथा संघसंस्थाले राहत तथा सहयोग वितरण गरेका छन् । आगलागीपीडितलाई भेट्न आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत पूर्वमन्त्रीहरू समेत पुगेका थिए ।

नेपालले आइतबार ६५ थान कम्बल र करिब १० क्विन्टल चामल पीडितलाई प्रदान गरेका थिए । राहत वितरण गर्न पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जवरा पनि पुगेका थिए । जबराले पीडितहरूलाई खाद्यान्न, लत्ताकपडा तथा भाँडाकँुडा वितरण गरेका थिए । पूर्वमन्त्री प्रभु साहले पनि आगलागीपीडितलाई खाद्यान्न वितरण गरेका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले आगलागीका कारण घरबारविहीनहरूलाई तत्काल राहतस्वरूप प्रतिपरिवार दुई हजार रुपियाँका दरले नगद वितरण गरेको छ भने जिल्ला प्रहरी कार्यालय रौतहटले लत्ताकपडा बाँडेको छ । नेपाल रेडक्रस सोसाइटीले पनि राहतस्वरूप पाल तथा कपडा सहयोग गर्न क्षतिको विवरण संकलन गरेको छ ।
बसविटी जिगडिया गाविस– ८ र ९ रघुनाथपुर गाविसको वडा नं. ३ र ४ मा शनिबार भीषण आगलागी हँुदा झन्डै सय घर तथा गोठ जलेर नष्ट भएका थिए ।
आगलागीका कारण सात करोड ५२ लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ । रघुनाथपुरमा ५७ घर तथा केही गोठ र बसविटी जिगडिया गाविसमा २५ घर र केही गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट हजार जना मानिस घरवारविहीन भएको जिल्ला प्रशासन कार्यालय रौतहटका निमित्त प्रमुख जिल्ला अधिकारी वसन्त न्यौपानेले बताए । दिउँसो करिब तीन बजेदेखि भएको आगलागी पाँच घन्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया