“पाजी दलको विरोधले चुनाव रोकिन्न”

baburamकाभ्रे, २ वैशाख । पूर्वप्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले चुनावी प्रक्रियामा सहभागी भए नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक समितिमा राख्न सकिने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ काभ्रेले बनेपामा आयोजना गरेको कार्यक्रममा भट्टराईले वैद्य समूहले विरोध गर्दैमा चुनाव नरोकिने बताए ।

‘उहाँ (वैद्य)हरू हिजो राजनीतिक कार्यक्रम फरक भएकाले छुट्टिनुभएको हो, आज त्यही प्रक्रियाको विरोध गरिरहनुभएको छ, उहाँहरूसामु पनि निर्वाचनमा जानुको विकल्प छैन,’ भट्टराईले भने, ‘मलाई विश्वास छ, उहाँ र उपेन्द्र यादवको समूह निर्वाचनमा भाग लिनेछ ।’ चुनावको विरोधमा ३३ दल नरहेको बताउँदै उनले आन्दोलनमा दुई/तीन दल मात्रै आफूले देखेको दाबी गरे । ‘खै, कुन–कुन हुन् ३३ दल ? पाजी २/४ वटा दल सडकमा निस्कँदैमा निर्वाचन हुँदैन ? मलाई मात्रै होइन, कसैलाई पनि ३३ दलभित्र कुन–कुन दल पर्छन् थाहा छैन,’ उनले भने, ‘ती पाजी दलहरूले विरोध गर्दैमा निर्वाचन रोकिँदैन ।’ राजनीतिक सहमतिका आधारमा निर्वाचन घोषणा हुने बताउँदै भट्टराईले आत्तिनुपर्ने अवस्था नआएको बताए ।
तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिँदै भट्टराईले घोषणा नहुनुको कारण सरकारसँग मागे । तैपनि, सरकारमाथि अविश्वास र आशंका गर्न नहुने भट्टराईले बताएका थिए ।

प्रतिक्रिया