प्रसूतिले फेरि टेस्ट्युब बेबी सेवा दिने

Prasuti-Grheehaकाठमाडौं, २ वैशाख । प्रसूतिगृहमा एकपटक असफल भइसकेको टेस्ट्युब बेबी (आइभिएफ) सेवा पुन: सञ्चालनमा आउने भएको छ । दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले प्रसूतिमा टेस्ट्युब सेवाको उद्घाटन गरेका थिए । दक्ष प्राविधिक अभाव तथा कमसल उपकरणका कारण सेवा असफल हुन पुगेको थियो ।

बाँझोपनको समस्याबाट नि:सन्तान रहेका दम्पतीलाई सुलभ शुल्कमा सन्तान सुख दिने उद्देश्यले प्रसूतिको नि:सन्तान उपचार केन्द्रमा आइभिएफ सेवा पुन: सुचारु गर्न लागिएको हो । नयाँ वर्षको सुरुआतसँगै आइभिएफ सेवा पुन: सञ्चालनमा ल्याउने तयारी अस्पतालले गरेको छ । प्रसूतिगृहमा यो सेवा एक लाख ६० हजार खर्चमा नै उपलब्ध हुनेछ । निजी अस्पतालमा भने यसका लागि ३ देखि ५ लाख रुपियाँसम्म लिने गर्छन् ।
प्रसूतिगृहकी निर्देशक डा. शिला वर्माले टेस्टट्युब बेबी सेवा पुन: सञ्चालनका लागि अस्पतालमा प्राविधिक टोली आएर काम थालेको बताइन् । वर्माका अनुसार भारतको दिल्लीबाट आएको चिकित्सकसहितको टोलीले यसअघि देखिएका समस्या समाधान गर्दै आइभिएफ सेवालाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । ‘टोलीले उपकरण परीक्षण, ल्याब निर्मलीकरण र सञ्चालन विधिबारे अध्ययन गरिरहेको छ,’ उनले भनिन् ।
अध्ययनका लागि आइभिएफ स्पेसलिस्ट डा. रीता बक्सी, एम्ब्रियोलोजिस्ट दीपक नायर र हीराशील कम्पनीका उपकरण इन्जिनियर अर्नवकुमार पाल प्रसूतिगृहमा आएका छन् । टोलीले ल्याबमा पहिला जडान भएका केही ठूला र साना उपकरण काम गर्ने अवस्थामा रहेको जनाएको छ । ती उपकरणको ठाउँमा नयाँ जडान गरिएका छन् ।
टोलीमा आएका एम्ब्रियोलोजिस्ट नायरले ल्याबको मर्मतलगायत काम सकिएकाले अबको केही दिनमा सेवा पुन: सुचारु गर्न सकिने सौर्यलाई बताए । उनले पहिला देखिएका सबै त्रुटि समाधान गरी काम सुरु गर्न लागेकाले यसपटकको सेवाले सफलता पाउने बताए ।
अस्पतालमा अघिल्लोपटक टेस्टट्युब बेबीका लागि २५ जनामध्ये ७ जनाको नमुनालाई छनोट गरी सेवा सुरु गरिएको थियो । टेस्टट्युब बेबीका लागि निवेदन दिएकामध्ये प्रजनन क्षमता बढी देखिएका ७ जनालाई छानेर विज्ञहरूले नमुना परीक्षण गरेका थिए । तर, यसमध्ये एकजनाको पनि कृत्रिम गर्भाधान सफल हुनसकेको थिएन । सफल नहुनुमा उपकरणमा नै खराबी रहेको हालको अध्ययन टोलीले जनाएको छ ।
अस्पतालले उनीहरूबाट एक लाख ६० हजार रुपियाँसमेत लिएको थियो । तर, सेवा असफल भएपछि उनीहरूको रकम खेर गएको थियो । कहलिएका विशेषज्ञ आएर सेवा सुरु गर्दा पनि असफल भएपछि आइभिएफकी तत्कालीन कोअर्डिनेटर डा. केशरी बज्राचार्यले पदबाट राजीनामा दिएकी थिइन् ।
अस्पतालले टेस्टट्युब बेबी सेवा सफल रूपमा सञ्चालन भएपछि मात्र उपकरण खरिद गरी ल्याउने हस्पिटेक इन्टरप्राइजेजलाई पूरा रकम दिने भनी बाँकी रकम रोकेपछि पनि हस्पिटेकले पुन: सेवा सञ्चालनका लागि आवश्यक थप उपकरण जडान गरेको हो । कम्पनीसँग सामान किन्ने क्रममा कम्तीमा एउटा कृत्रिम गर्भाधान सफल भए मात्रै पूर्ण रकम भुक्तानी दिने सहमति भएको थियो । सो सहमतिअनुसार सेवा सफल नभएपछि अस्पतालले कम्पनीको बाँकी झन्डै ७५ लाख भुक्तानी रोक्का गरेको छ ।
प्रसूतिगृहमा नयाँ भवन निर्माणबाट बचेको रकममध्ये करिब १ करोड ५० लाख रुपियाँ फ्रिज हुनलागेको रकमलाई रकमान्तर गरी आइभिएफ योजना बनाइएको थियो । सोही रकमबाट अस्पतालले यो उपकरण हस्पिटेक इन्टरप्राइजेजमार्फत् १ करोड ८० लाख रुपियाँमा खरिद गरिएको थियो ।
उपकरण नै नजोडी अस्पतालले पहिलो किस्ताअन्तर्गत आर्थिक वर्ष ०६७/६८ मा ७५ लाख ५० हजार र ०६८/६९ मा ४० लाख ६८ हजार हस्पिटेकले पाइसकेको छ । तर, सेवा सफल नभएपछि बाँकी रकम भने रोक्का गरिएको छ । ठेकेदारले ०६७ असार २९ गते ९० दिनभित्र सामान ल्याई जडान र त्यसको १५ दिनभित्र सेवा सञ्चालन गर्नुपर्ने सम्झौता ठेकेदारसित भएको छ । सुरुमै कम्पनीले ६ महिना ढिला गरेर मात्रै उपकरण ल्याएका थिए ।

प्रतिक्रिया