तन्त्रले चलाएको त्यो प्रस्तर युग

Purshottam-lochan-Shresthaहामी एउटा कुरामा धेरै भाग्यमानी छौँ, धर्मका नाममा हामीले कहिल्यै झगडा गरेनौँ । धेरै थरीका धर्म मान्ने, धेरै जाति र संस्कृतिका भएर पनि हाम्रो सभ्यता एकतामा आधारित रहँदै आयो । यो हाम्रो सांस्कृतिक तन्त्र हो । फरक धर्म, जाति र संस्कृतिका भएर पनि मिलेर बस्न सक्नु प्राचीन तन्त्रकालीन सभ्यताको उपज हो । बरु अहिले त्यो भत्काउन खोजेको देखिँदै छ । धेरै कुरामा शक्तिहीन भए पनि तन्त्रको शक्तिले नेपालीलाई हजारौँ वर्षदेखि सधैँ एक ठाउँमा उभ्यायो । अहिले विभिन्न जातिका नामका राज्यको कुरा उठ्दै छ, यो सबै वाइयात हो । त्यही तान्त्रिक युगले हिन्दू, बुद्धिस्ट, इस्लाम र इसाई सबैलाई एउटै सभ्यता र संस्कृतिमा बाँधिदियो । तन्त्र शास्त्रबारे अध्ययन सुरु गर्दा बाह्य संसारले अनुभूत गर्न नसक्ने तर, सभ्यताहरूलाई जोड्ने यस्ता कुराको महत्त्व बुझेको थिइनँ तर, पछि लाग्दै गयो शक्तिको स्रोत तन्त्र हुँदो रहेछ ।

०००
म भक्तपुरमै जन्मिएँ, यहीँ हुर्किएँ । टोलै पिच्छे मन्दिर छन् यहाँ । यी मन्दिरहरू लिच्छवि काल र मल्ल कालसम्मका उपज हुन् । झन्डै घरजत्तिकै संख्याका मन्दिरले बताउँछ, त्यतिबेलाका मानिसको कलाप्रेम र आत्मिक तन्त्र विकासलाई । म सानै छँदा मन्दिरहरूका आसपासमा घुम्दै, डुल्दै र लुकामारी खेल्दै हुर्किएँ । तर, मन्दिरहरूका इतिहासबारे ज्ञान थिएन । पिचएचडी गर्ने समयमा मात्रै इतिहास संस्कृति, पुरातात्विक कुराहरूको अध्ययन गर्न थालेँ । तीन दशकअघि बहादुर शाहबारे पिएचडी गर्दै थिए, मेरा मित्र डा. भद्ररत्न वज्राचार्य । म उनकै संगतमा थिएँ र मलाई पनि इतिहास र संस्कृतिसम्बन्धी अध्ययन गर्न मन लाग्यो । त्यसपछि हामी इतिहासकार धनवज्र वज्राचार्यकहाँ गयौँ । उहाँले हामीलाई नेपालको तीनवटै कालको इतिहासबारे बताइदिनुभयो । उहाँले मलाई भक्तपुरलाई कर्मभूमि बनाएर भक्तपुरका सम्पदा र संस्कृतिमाथि वैज्ञानिक अध्ययन गर्न सुझाव दिनुभयो । उहाँकै सुझावअनुसार धनबज्र बज्राचार्यकै शोध तथा निर्देशनमा तान्त्रिक साधनामा विद्यावारिधी गरेँ । गुरुको पहिलो तथा अन्तिम पिएचडी प्राप्त गर्ने एकमात्रै विद्यार्थी मै हुँ । हज्जारौँ वर्षदेखि तन्त्रले पारेको प्रभावका बारेमा मैले ०५२ सालमा विद्यावारिधि सिध्याएँ ।
विद्यावारिधि गरिसकेपछि मैले भक्तपुरको कला, संस्कृति तथा पुरातत्वका बारेमा अध्ययन थालेँ । त्यसपछि यहाँको प्रस्तर, काष्ठ, र धातुका मूर्तिकलाका विषयमा अध्ययन थालेँ । यहाँका कलाकृतिको ऐतिहासिक महत्त्वबारे बुझ्न थालेँ । प्रस्तरकला सबैभन्दा कठिन कला थियो । नीलो रंगका ठूला ढुंगा चाहिनथ्यो र त्यसैमा कुँदेर मूर्तिहरू बनाइन्थ्यो । भक्तपुरमा अहिलेसम्म रहेका कालजयी प्रस्तरकला भक्तपुरकै गुन्डुबाट ढुंगा ल्याएर बनाइने गरेको तथ्य फेला परेको छ । त्यस्ता मूर्ति बनाउने शिलाकारहरूलाई दिइएको ज्याला र इनामका विषयमा भूपतिन्द्र मल्लले नेपा भाषामा लेखेरै राखेका रहेछन् । शिलाकारहरू मूर्ति प्रतिस्थापन गर्ने स्थानमै बसेर बनाउने गर्थे । यातायात नभएको त्यो युगमा ढुंगा बोकेर ल्याउने छुट्टै प्रविधि थियो । काठमाडौं, भक्तपुर आसपासमा असल प्रकारका नीलो रंगका ढुंगा पाइन्थ्यो । अहिले त त्यस्ता ठूला ढुंगाहरू पनि छैनन् र प्रस्तरकलाको ठाउँ धातुकलाले लिँदै गएको छ । त्यस युगका राजा मात्र होइन सबैजसो मानिसहरू सामाजिक काम अन्तर्गत ढुंगाका मूर्ति र आफ्नो गच्छेअनुसारका ढुंगेधारा बनाउन लगाउँथे । राजाहरू आफ्ना सालिक, देवदेवताका ढुंगे मूर्तिलगायत बनाउन लगाउथेँ । जनताहरू ढुंगेधारा, सत्तल, मन्दिर बनाउन लगाउँथे । टोलैपिच्छे त्यस बला बनेकै मन्दिर, मूर्ति र धाराहरू अहिले पनि छन् । मल्लकालमा नै ती मूर्तिहरू प्रतिस्थापन गरिएको हो । मन्दिर तथा मूर्ति बनाउन लगाउने राजाको इतिहासमा चर्चा भएको छ । तर, कालिगढको अहिलेसम्म चर्चा भएन । ती विलक्षण मूर्ति र कलाकृतिहरू कुनकुन कालिगढले कुँदे भन्ने कुरा भूपतिन्द्र मल्लले उनीहरूलाई ज्याला दिएको खातामा लेखेर राखेको अहिले पनि भेट्न सकिन्छ । भक्तपुर कला संग्रहालयमा सुरक्षित छन् । कालिगढको नाम नचले पनि उनीहरूलाई तत्कालीन मल्ल राजाहरूले भने निकै सम्मान गर्ने गरेको प्रमाण भेटिन्छ । उनीहरूलाई राजाले बोलाएर सिक्का र जग्गा दिने गर्थे । एकप्रकारले त्यो युगको सौन्दर्य विशेषता नै ढुंगामा आधारित थियो र शिलाकारहरूलाई राज्यले संरक्षण गथ्र्यो । मल्लकाललाई नेपाली प्रस्तर कलाले अन्तिम सास लिएको अवस्था भन्न सकिन्छ । त्यो अन्तिम प्रस्तरकला काल थियो । त्यो युग गयो । अहिले धातुकलाको विकास भएको छ । सजिलो भएर पनि पनि हो अहिले धातुकै मूर्ति बन्छन् । प्रस्तरकलाकर्मी अहिले बेरोजगार छन् ।
०००
भादगाउँका मल्लकालीन चर्चित राजा भूपतिन्द्र मल्लले पाँचतले प्रसिद्ध मन्दिर (न्यातपोल) निर्माण गरेपछि ठूलो भोज गरे । नेपाल संवत ८२२ मा ८ महिनामै मन्दिर निर्माण सकेपछि भक्तपुर र आसपासका राज्यबाट २२ हजार जनालाई भोजमा निम्त्याइएको थियो । भक्तपुर नेवार जाति बाहुल्य राज्य थियो । तर, भोजमा बनेपा, धुलिखेल, साँखु, चाँगु, लमजुङ, गोरखा, तनहुँ, मकवानपुरलगायतका राज्यबाट मानिसहरू निम्त्याइएको थियो । बहुजातीय निम्तालुहरूकाबीचमा भूपतीन्द्र मल्लले मन्दिर निर्माणमा संलग्न कालिगढहरूलाई पुरस्कार र सम्मान प्रदान गरेका थिए । जातीय बसोबासका आधारमा भक्तपुर नेवारहरू धेरै भएको राज्य थियो । तर, भूपतिन्द्र मल्लले भोजमा डाकेका पाहुनाहरू हेर्दा प्रस्ट हुन्छ– त्यसबेला जातीय राज्य थिए, तर जातीय रंग थिएन । जातीय राज्यलाई सामन्ती युगको प्रतिनिधि चेतनाका रूपमा लिन सकिन्छ । तर, सामन्ती र दास युगले फेरेको जातीय प्रभुत्वको राज्य चेतना आज गणतन्त्रकालमा पनि ब्युँताउन खोजिँदै छ । राज्यमा जसरी जनताबीच तन्त्रद्वारा निर्माण भएको मानसिक शक्ति छ, आज भइरहेको जातीय राज्यको वकालतले जनतालाई कमजोर बनाउँछ र जातीय सरदारहरूलाई बलियो बनाउँछ ।
मल्लकालमा आठ महिनामा निर्माण सिध्याइएको छाने शैलीको विश्वकै अग्लो मन्दिर हो, न्यातपोल अर्थात् ५ तले मन्दिर । तन्त्रको शक्तिविना त्यो निर्माण सम्भव थिएन भन्ने लाग्छ अहिले पनि । तन्त्रबलले जनतालाई शक्ति दियो र त्यो मन्दिर बन्यो । मन्दिर निर्माणमा काठमाडौं र कीर्तिपुरबाहेक अन्य राज्यका कालिगढका कला, आवश्यक परेका कच्चा सामग्री तथा राजाहरूको सहयोग रहेको पाइन्छ । काठमाडौं र कीर्तिपुरसँग भने भक्तपुरको राजनीतिकसम्बन्ध राम्रो थिएन । शिलालेखअनुसार नेपाल संवत ८२२ कात्तिक सुदी ३ बाट सुरु भएको मन्दिरको गजुर आषाढ सुदी १ मा हालिएको थियो । मन्दिर सम्पन्नताको प्रतीक हो गजुर । मन्दिरभित्र मानवकदको सिद्धि लक्ष्मीको ढंगाको मूर्ति छ । एउटा टुँडाल बनाउनै पाँच सात महिना लाग्ने गथ्र्यो । तर, छाने शैलीको पाँचतले न्यातपोल मन्दिर आठ महिनामा पूरा भयो । शिलालेखअनुसार मन्दिर निर्माणमा सबै जातिको सहभागिता थियो । सबैले कामअनुसार सम्मान पाए । कालिगढहरूलाई पुरस्कार दिइयो । सन्यासी अनि आसपासका सबै राज्यका मानिसहरूलाई भोजमा बोलाइयो । पाँचतले मन्दिर निर्माणको इतिहास हेर्दा पनि यो प्रस्ट हुन्छ, एकीकृत शक्ति भएर लाग्दा कुनै पनि काम असंभव हुँदैन । मन्दिरमा गजुर राखेपछि तान्त्रिक साधनाद्वारा सिद्धलक्ष्मीको मूर्तिमा प्राणप्रतिष्ठा गरियो ।
सामाजिक आस्था सबैभन्दा शक्तिशाली हुन्छ । त्यसबेला समाज सञ्चालनको आधार तन्त्र थियो । तान्त्रिक गुरुहरू पनि धेरै थिए । तन्त्रविद्याप्रतिको आस्थाले मानिसहरूलाई मनोवैज्ञानिक शक्ति दिन्थ्यो । आस्थाबाट बनेको शक्ति सत्यभन्दा धेरैमाथि हुँने रहेछ, वास्तविक भौतिक संसारमा त्यसको अस्तित्व रहोस् नरहोस् त्यो बेग्लै कुुरा । तर, त्यसमाथि आस्था हुनु, त्यसको अनुभूत हुनु सत्यभन्दा माथि हुने रहेछ । अहिले कल्पनै गर्न नसकिने काम पनि त्यतिबेला स्रोतसाधनविहीन अवस्थामा भए । त्यो निर्माणको शक्ति पूरै तन्त्रबाट प्राप्त भएको थियो । त्यसैले नेपालमा हजारौँ वर्ष अघिदेखि यहाँका व्यक्तिको जीवन, मूर्त, अर्मूत सम्पदा, कलाकृति सबैको आधार तन्त्र हो । पाँचतले मन्दिरकै कुरा गर्दा मन्दिरकी देवी सिद्धलक्ष्मी पनि तान्त्रिक देवी मानिन्छिन् ।
काठ, ढुंगा, धातु, माटो आदिमा प्राणप्रतिष्ठान गरेर देवताको रूपमा मान्न सकिन्छ । भक्तपुरकै नवदुर्गा गणको कुरा गरौँ, ती सबै मुकुन्डोधारी हुन्, उही माटोले बन्ने हो । तर, जीवनन्यास गरेर प्राणप्रतिष्ठा गरेर मात्रै जनजीवनले जीवित देवताको रूपमा मान्छ । ढुंगालाई देवता मान्नु र त्यसबाट शक्ति निश्रित भएको विश्वास गर्नुले कति ठूलो सामाजिक जीवनलाई सम्यक बनाएको छ आज पनि यो देख्न सकिन्छ । काठमाडौंमा बालिकालाई कुमारी देवीका रूपमा पूजा गरिनु, नुवाकोटको प्रसिद्ध भैरव भैरवीका रूपमा धामी धमिनीलाई प्राणप्रतिष्ठा गरिनु त्यसैको प्रमाण हो । ठूलो संख्यामा मानिसहरू आज पनि त्यसबाट आफूमा शक्ति प्राप्त भएको महसुस गर्छन् । तान्त्रिक विधिबाट गरिने यो परम्परा अहिलेसम्म पनि प्रचलित छ । जीवित देवी कुमारी पनि तन्त्र साधनाको उत्कृष्ठ उदाहरण हो । एउटा कन्यालाई जीवनन्यास गरेर जीवित देवीको रूपमा पुजिन्छ त्यही नै हो तान्त्रिक प्रयोग भनेको पनि, जो विश्वासले बनेको शक्तिबाट चलेको हुन्छ ।
त्यतिबेला राजाहरूलाई तान्त्रिकले चलाउँथे । युग नै तन्त्रको थियो । तन्त्र एउटा पद्धति हो, आस्था हो । तन्त्र साम्य संसार हो, जहाँ ठूलो सानो उचनीच चल्दैन । यो एउटा कम्युनिजम जस्तै हो । त्यतिबेलाका कर्माचार्य, राजोपध्याय, जोशी, मल्ल, प्रधानांग सबै तन्त्रमा विश्वास गर्थे । संविधान देशको आत्मा भएजस्तै धर्मको आत्मा तन्त्र हो । एउटा पद्धति अनि परम्पराको गाइडलाइनको रूपमा तन्त्र थियो । सबै धर्ममा तन्त्र रहेको छ । धार्मिक संसार र बाहिरको संसारमा पनि तन्त्र छ । अहिलेको प्रजातन्त्र, गणतन्त्र पनि तन्त्रकै आधार हो ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया