नयाँ वर्ष २०७० को राशिफल

Deepakमेष
वर्षको अधिकांश समय संघर्षकारक रहनेछ । जन्मकालमा शनि आदि पाप ग्रह अकारक हुनेहरूको लागि दुर्घटना–चोटपटक, दैविक विपत्ति तथा धनजनको क्षति, दाम्पत्य कष्ट–विवादप्रद देखिएको छ भने परिबन्द, यात्रामा कष्ट, चोरी, राज्यबाट भय–कष्ट, गलत संगत, स्वजनबाट विश्वासघात, फसिने–ठगिने, नहुनेकार्यमा मन जाने–आसक्ति बढ्ने, मिथ्याऽपवाद, अपव्यय, समय टरेपछि पश्चाताप हुने ग्रहगोचरीय स्थिति देखिन्छ । बैशाख, भाद्र र आश्विन महिनामा यस्ता अनिष्ट एवम् बढी प्रतिकूल देखिएको छ भने मंसिर र चैत्र महिना पनि शारीरिक एवम् मानसिक कष्टकर रहने छ । जागिरबाट अपजश खेप्न पर्नेछ तसर्थ जश–स्याबासीको अपेक्षा नगरेकै राम्रो । कपट सम्बन्धको फन्दा देखिएको हुनाले वैवाहिक कार्य गर्न पर्दा वा प्रेममा विशेष ख्याल पुर्‍याउन जरुरी देखिन्छ । यौनरोग आदि संक्रामक रोगको सम्भावना लाई नकार्न नसकिने हुनाले तत्सम्बन्धी कार्यमा संयम हुनु जरुरी देखिन्छ । व्यापारिक व्यवसाय क्षेत्र भने अन्य पेशाको तुलनामा सामान्य लाभ देखिन्छ । लगानीका क्षेत्रमा असम्भव प्रस्ताव आउन सक्ने जसलाई ग्रहण गर्नुले पश्चाताप तथा धोका हुन सक्नेछ । शनि, राहु–केतु र गुरुको दुष्प्रभाव घटाउने उपायको व्रत अवलम्वन गर्नु हितकर हुनेछ ।
वृष
वर्ष अधिकांश पक्षमा अनुकूल रहेको हुनाले राजनीति, समाजसेवा, प्रतिस्पर्धा आदिमा सफलता र वीजय प्राप्त हुनेछ । रोजगार–पदप्रतिष्ठा एवम् पदोन्नती प्राप्त हुने, व्यापार–व्यवसायका क्षेत्रमा प्रगति हुने र चौतर्फि लाभप्रद अभिष्ट सिद्धिकारक समय छ । न्यायिक क्षेत्रमा विजय, शिक्षा क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूलाई सफलता एवम् लाभ मिल्ने छ तथापि विद्यार्थीलाई मंसिर उप्रान्त उन्माद बढ्ने अध्ययनमा रुची कम हुनसक्ने भएकाले उपाय गर्नु पर्ला, यो समय र सन्तानको तर्फबाट चिन्ता बढ्न सक्नेछ । विदेश यात्रा, विवाह, जागिर, पदोन्नती, व्यापार–व्यवसाय आदि आँटे ताकेका औकात अनुसारका कार्यमा चमत्कारिक सफलता मिल्नेछ । बैशाख–जेठ र मंसिर–पौषमा ढाड–कम्मर, घुँडा–खुट्टा तथा हाडजोर्नी–नशासम्बन्धी समस्या हुने योग परेको छ । कार्य भएर–भएर अन्तिममा विफल हुने समस्या खेप्नुभएकाको लागि गुरुगणपतिको विशेष श्रद्धाभक्ति एवम् आराधना अभिष्ट सिद्धिदायक हुनेछ ।
मिथुन
उन्मादिलो वर्ष परेको छ । सामान्यतया धेरै कार्यमा अलमल भएर वर्ष व्यतित हुने लक्षण छ । जन्मसमयमा प्रतिकूल ग्रह हुनेलाई भने वर्षको शुरुमै नाक, कान र घाँटीसम्बन्धी समस्या तदुपरान्त पनि पेटको विमार, चोटपटक–
अपरेशनसम्म नहोला भन्न सकिन्न । कामकार्यमा अलमल, नीति–व्यवहार र सैद्धान्तिक पक्षमा विचलनको कारणले गर्दा परिवार–पार्टी भित्रैबाट अपजश एवम् विरोधको सामना गर्न पर्नेछ । सन्तानलाई कष्ट हुने वा सन्तानसँग असमझदारी बढ्नसक्ने वा सन्तानबाट खर्च बढ्ने वा अपहेलित हुनपर्ने हुनसक्छ भने गर्भवतीले विशेष ख्याल पुर्‍याउनुपर्ला । अध्ययनमा प्रतिकूलता देखिएको छ, आकस्मिक रूपमा अबरोध आइलाग्न सक्नेछ, ज्ञानोन्माद नगरेकै राम्रो । उपर्युक्त अनिष्ट फल विशेष गरी भाद्र–आश्विन महिनामा बढी घट्न सक्नेछ । कार्तिक उपरान्त फाल्गुणसम्म दाम्पत्य तथा प्रेम सम्बन्धमा तुषारो पर्ने अनावश्यक शङ्काउपशङ्काले लङ्का डढाउने सम्भावना छ । यात्रा अबरोधका सम्भावना पनि रहेकाले विशेष यात्रामा ख्याल पुर्‍याउनु पर्ला । गुप्त विद्याको अभिलाषा बढ्ने, र भूमिगत एवम् जासुसि कर्ममा उद्यतको हुने बुद्धि पलाउने सम्भावना देखिएको छ । पशुपालन, कृषिकर्मजन्य व्यवसाय, प्राविधिक क्षेत्र, र तत्त्वोन्मादका वाबजुत पनि धर्म–अध्यात्मको पक्षमा भने सफलता मिल्ने छ । विद्यार्थीले सरस्वतीको र सर्वसाधारण सबैले शनि, राहु र बृहस्पतिको शान्तिको उपायहरू अवलम्वन गर्नु बुद्धिमानी हुने छ ।
कर्कट
जन्मकालिन शनि आदि ग्रह प्रतिकूल हुनेहरूको लागि ज्योतिषीय दृष्टिमा यो वर्ष शुरुमा ठिकै रहेपनि जेठ उपरान्त अनुकूलताको तुलनामा संघर्ष बढी देखिन्छ । चोटपटक–घाऊखटिरा जन्य रोग, दैविक विपक्ति, व्यवहारिक, घरायसी– एवम् पारिवारिक समस्याले दु:ख दिनसक्ने भएकाले हरप्रकारको सावधानीको आवश्यकता देखिन्छ । कूलवंशमा रोगको प्रकोप, मान्यजन वियोगको सम्भावना तथा आफन्त, साथीभाई, छरछिमेकी, सहकर्मी आदिसँग असमझदारीको सामना गर्नुपर्ने छ । मुद्धामामिला पर्नसक्ने, घर–जग्गाको कार्यमा विश्वासघात–धोका हुने, फसिने तथा पछुतो हुने समय परेकाले सित्तिमिति कसैको भरोसामा नपरेकै नगरेकै राम्रो हुनेछ । शत्रु बढे पनि मंसिर उपरान्त शत्रुलाई पनि हानी हुनेछ, यो समयमा कम्मरभन्दा तल र घुँडादेखि माथिको भागमा समस्या आउनसक्छ । तीर्थादि यात्राको सम्भावना र देखिएको छ तथापि साथसंगतिको ख्याल पुर्‍याउनै पर्ला । दानपूण्यको समय परेकाले माङ्गलिक कार्य गर्न हुने देखिन्छ । वैशाख, श्रावण–आश्विन महिना आकस्मिक प्रतिकूल घटनाकर देखिएका छन् भने आषाढ, कार्तिक र फाल्गुण महिनामा विशेष गरी स्वास्थ्यमा खराबी आउने, खर्च बढ्ने र शेष महिना सामान्य अनुकूल रहला । अध्ययन, व्यापार–व्यवसायमा देखिएको मन्दि, समाजसेवा, राजनीति, जागिरमा आएको अपजश जन्य स्थिति, घरपरिवार–कूलवंशमा देखिएको दु:खविमार, पशुचौपाया तथा घरजग्गा एवम् कृषि आदिमा देखिएको समस्यालाई न्यून गर्न सरस्वती–वगलामुखी, हनुमान–शनिमहाकाल एवम् भैरवदेव र कूलदेवताको स्तुति आराधना गर्नु मनासिव हुनेछ ।
सिंह
सिंह राशि हुनेहरूका लागि यो वर्ष जेठ उपरान्त अपेक्षाकृत अनुकूल रहेको छ । अनुकूलताको सदुपयोग गरेमा राजनीति, समाजसेवा, व्यापार–व्यवसाय आदिबाट यथेष्ट सफलता हात पार्न सकिने छ । जागिरमा पदोन्नतीको सम्भावना देखिएको छ । नयाँ र दीर्घकालिन कार्यको थालनी हुने, गुमेको सम्पत्ति एवम् मान प्रतिष्ठा फिर्ता गर्न सकिने, विग्रिएको सम्बन्ध एवम् कार्यहरूको पुनर्संरचना हुने र अड्केर रहेका कार्यहरू पूर्ण हुनेछन् । न्यायिक क्षेत्र सबल रहनेछ । जेठ–श्रावण पेटमा समस्या देखिन सक्नेछ भने बैशाख, भाद्र–आश्विनमा हात तथा छातिमा चोट वा रोग र दाजुभाईमा कष्ट वा वादविवादको सम्भावना छ । मंसिर उपरान्त सन्ततीलाई संघर्षले सफलता दिलाउने, आम्दानी भएपनि सञ्चय गर्न कठिनाइ पर्ने, वाणीमा कठोरता आउने, ज्ञानोन्माद बढ्ने, नीति तथा सिद्धान्तमा विचलन आउनसक्ने, प्रमात बढ्ने र आस्थाको धरोहरमा ह्रास आउनसक्ने देखिएको छ ।
कन्या
कन्या राशिका लागि यस वर्षको शुरुमा ठिक–ठिकै रहेपनि जेठ उपरान्त त्यति अनुकूल छैन । वादविवाद, कामकार्यमा अबरोध, मानप्रतिष्ठामा आँच आउने, यात्रा कष्ट, सञ्चित धनको खर्च, स्वास्थ्यमा समस्या, अपखबर र परिबन्दनीय परिस्थिति आदि प्रतिकूलताको सामना गर्नपर्ने छ । सामान्य कार्यले अल्मल्याउँदा ठूला काममा समय दिन नसकिने, अधिक परिश्रमले थोरै उपलब्धिमा चित्त बुझाउन पर्ने, खानपान विपरित हुने, विश्वासघाती संगतमा परिने आदि प्रतिकूलतासँग जुध्न पर्ने सम्भावना छन् । घर छाड्न–टाढा जान अथवा परिवर्तन गर्न पर्ने, भोगभङ्ग–स्थानच्यूती, मुद्धामामिला जन्य स्थिति र फुत्केको माछो ठूलो हुने तथा पछि पश्चाताप, हुने जस्तो पनि नपर्ला भन्न सकिन्न । आत्तिनु वा हतारिनुले क्षति हुने हुनाले लाई नै बढाउने हुनाले मानसिक उद्दिग्नता र निराशालाई हटाउन यथेष्ट धैर्यताको क्षमता आबश्यक हुनेछ । अधिकांश पक्षमा ग्रहको नकारात्मक प्रभावबाट विचलित हुनुभन्दा यसलाई गुजार्न तपको क्षमता बढाउन बुद्धिमानी हुनेछ । अनिष्ट एवम् तनावलाई समन गर्न हनुमान तथा शनिमहाकाल, भैरवदेव वा छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारणले वगलामुखीको भक्ति–स्तुति तथा श्रद्धा आराधना गर्नु हितकर हुनेछ । आफ्नो आस्थाको धरोहरप्रति निर्विकल्परूपमा अटल–श्रद्धा र भरोसा राख्नसक्नेलाई हदैसम्मको समस्याको निकास निस्किइ राहात मिल्ने छ ।
तुला
वर्षलाई विगतको तुलनामा केही पक्षमा सहज एवम् अनुकूल मान्न सकिएता पनि वर्षको शुरुमा आकस्मिक घटना–दुर्घटना तथा चोटपटक र स्वास्थ्य समस्या व्यहोर्न पर्नसक्छ । वादविवाद, तथा यात्रा विभिन्न खालका कष्ट, ादिको सामना गर्नपर्नेछ भने दाजुभाई वा मान्यजनको कष्टको पीडा, गलत आश्वासनमा फसिने, आफ्नो आफन्तबाटै विश्वासघात–धोका हुने सम्भावना प्रबल देखिन्छ । आषाढ उपरान्त भने गोचर केही सुधार भएको देखिएको छ । धर्म–अध्यात्म, विवाह–व्रतबन्धादि माङ्गलिक कर्म, सन्तान सुख, संघर्षका बाबजुत परिश्रमको फल सफलता मिल्ने, अधुरा कार्यहरू पूरा हुने, राजनीति तथा समाजसेवामा पनि अन्तिममा समर्थन र जश मिल्ने खालको समय परेको छ । स्नायू तथा उदर रोगले सताउने छ, इ नै रहनेछ, दीर्घरोगीलाई बढी तकलिफ होला, आयले खर्चको भार थेग्न गाहो पर्ला । धेरै नै प्रयत्नले मात्रै जागिरमा पदोन्नती हुनसक्ला, शत्रु प्रभाव रहेकै छ । जन्मकालमा शनि आदि ग्रह अनुकूल रहनेहरूका लागि भने आकस्मिक लाभ एवम् पदप्रतिष्ठा मिल्ने छ । शनि प्रतिकूल हुनेले शनिस्तोत्रपाठ, शनिमहाकाल, हनुमान, भैरव तथा छिन्नमस्ता आदि शनि तथा राहु–केतुको शान्तिदायक देवदेवीको उपाशना श्रद्धाभक्ति एवम् व्रत गर्नु हितकर रहने छ ।
वृश्चिक
वृश्चिक राशिको लागि यो वर्षको ग्रहगोचर त्यति अनुकूल भन्न सकिँदैन । वर्षको शुरुमा सामान्य रहेपनि जेठ महिना उपरान्त ग्रह बढी प्रतिकूल बन्दै गएको देखिन्छन् । जन्मकालमा शनि आदि ग्रह अकारक हुनेहरूलाई विशेष गरी मिथ्या अपवाद जनित अफवाहले चारित्रिक एवम् नैतिक सवालमा प्रश्नचिह्नसम्म लाग्नसक्ने, अनपेक्षित मुद्धामामिला–वादविवाद, अन्यौलता, विगतको कपटप्रेम एवम् गुमिसकेको विषयको यादगारले सताउने, आकस्मिक खर्च, धन–जन तथा भौतिक सम्पत्तिको क्षती, दैविक विपत्ति, कूल–परिवारमा ग्रन्थि आदि रोग, घाऊखटिरा–चोटपटक, वायु विकार–उदररोग, स्नायू आदि साध्यासाध्य रोगविमारजन्य स्वास्थ्य समस्याहरू हुनसक्ने सम्भावनालाई खगोलीय ग्रहस्थितिले संकेत गरेका छन् । घर–परिवार तथा आफन्तबाट टाढिनु, विदेशिनु, मुग्लान पस्नु, गुप्त–भूमिगत हुनु, कठोर तप गर्नु, हठ योग गर्नु, वैराग्य धारण गर्नु, त्याग गर्नु, एक्लो हुनु जस्ता कार्यमा ग्रहले उत्प्रेरित गरेको देखिन्छ र यस्तै कार्यबाट हितहुने तर्फ अगाडि बढ्नु बुद्धिमानी हुनेछ । निम्न वर्गियबाट फत्ते हुने कार्य, शारीरिक परिश्रम बढी गर्नुपर्ने कार्यमा सफलता मिल्ने छ । त्याग एवम् ईश्वर प्रणिधानको भावनालाई प्रसय दिएर निस्काम गर्नु बुद्धिमानी एवम् सुखकर हुनेछ । विद्यार्थीले सरस्वती माताको, वैदेशिक यात्राको पर्खाइमा बसेकालगायत सर्वसाधारणले हनुमानवीर, शनिमहाकाल, भैरवदेव, छिन्नमस्ता, वगलामुखी र कूलदेवताको स्तुति गर्नु शान्तिप्रद हुने छ ।
धनु
धनु राशिको लागि यो वर्ष शुभफलकारक देखिएको छ । समयको सदुपयोग गर्ने र नहौंसिने हो भने यो समयमा धेरै क्षेत्रमा सफलता प्राप्त हुनेछ । राजनीति–समाजसेवा प्रगति, जागिरमा पदोन्नती हुने, देखिन्छ । सामान्य सन्तानसँग वैचारिक द्वन्द र कष्ट देखिए पनि अन्य पारिवारिक सम्बन्ध सहज रहने, दाम्पत्य सुखमा प्रगाढता आउने, विवाहयोग्यका लागि दाम्पत्य सम्बन्ध जोडिने, जग्गाजमिन एवम् वाहनादिको प्राप्ति हुने, सम्मानित यात्रा हुने, शत्रु तथा विपक्षि उपर विजय प्राप्त हुने र अवैध–कुधनको कुचेष्टा नगरे पनि राम्रै आय–आम्दानी गर्न सकिने जस्ता अनुकूल फलदायक वर्ष छ । कसै कसैलाई पेट तथा हात, छाति–घाँटी र खुट्टामा चोट वा समस्या हुन सक्नेछ । विद्यार्थीका लागि भने यो समय अबरोधजनक रहने छ । व्यापार–व्यवसायीका लागि विशेष प्रगतिकारक र कृषक–उद्यमी वर्गको लागि सुख एवम् लाभप्रद समय रहेको छ । विद्या एवम् सन्तान र स्वास्थ्यमा आउन सक्ने अनिष्टको कमिको लागि गुरुगणपति, हनुमानवीर, भैरवदेव र नीलसरस्वतीको स्तुतिध्यान एवम् श्रद्धाभक्ति गर्नु हितकर हुने छ ।
मकर
मकर राशि हुनेहरूको लागि यो वर्ष मिश्रित रहेको छ । अधिकांश पक्षमा उथलपुथल, कतै हानी त कतै नसोँचेको सफलता र लाभ मिल्ने छ । गर्दै आएको र भोग्दै आएको क्षेत्र, भोगाधिकार तथा पदप्रतिष्ठाबाट हात झिक्न पर्नसक्छ भने अप्रत्यासित रूपमा विभिन्न खालका प्रस्तावहरू आउने छन् तर नबुझि स्वीकार गर्नु घातक पनि हुन सक्नेछ । घरपरिवार, दाम्पत्यसम्बन्ध, यात्रा, मित्रसम्बन्ध आदिमा एकाएक असमझदारी बढ्ने तथा कष्ट पर्नसक्ने कुरालाई नकार्न सकिन्न । पितृ–मातृ तथा गुरुजन्य मान्यजनको कष्ट–वियोगसम्म व्यहोर्न पर्नसक्ने र शत्रुप्रभाव बढ्ने खगोलीय ग्रहको असर देखिएको छ । पशुचौपाया तथा वाहनादिको पनि क्षति हुने, सम्भावना देखिएको छ । पछि पर्दाफास हुने पापकर्म एवम् कुधन आर्जनको चेष्टा नआउला भन्न सकिन्न । जन्मकालमा ग्रह प्रतिकूल रहेकाहरूले जागिर तथा कर्मक्षेत्रमा देखिएको अड्चनलाई हटाउन र उपर्युक्त प्रतिकूलतामा कमि ल्याउन शनि, राहु–केतु र बृहस्पतिको शान्तिका लागि शनि, भैरव, वगलामुखी स्तोत्रको पाठ, शनिमहाकाल, भैरव तथा वगलामुखीको र विद्यार्थीहरूले सरस्वती माँको दर्शन एवम् स्तुती श्रद्धाभक्ति आदि व्रतको पालना गर्नु हितकर रहनेछ ।
कुम्भ
यो वर्ष कुम्भ राशि हुनेहरूको लागि अधिकांश पक्षमा अनुकूल प्रतित भएको देखिन्छ । विभिन्न सन्देहका बाबजुत पनि धर्म–अध्यात्म ज्ञानको क्षेत्रमा प्रगति हुने, घरपरिवारमा दानपूण्यप्रद माङ्गलिक शुभकर्म हुने, भाग्यमा बृद्धि हुने, शत्रु मासिने, आय–आम्दानी बढ्ने, व्यापार–व्यवसाय तथा कृषि उद्यम, राजनीति एवम् समाज सेवा आदि क्षेत्रमा सफलता र पद–प्रतिष्ठा तथा पदोन्नतीदायक वर्ष छ । विद्यार्जनमा देखिएको ढिलासुस्ति हटेर ज्ञानार्जनमा सहज हुने, नयाँ पेशा–व्यवसाय तथा जागिर मिल्ने, प्रसस्त पुरुषार्थ गर्न सकिने, विवाहयोग्यलाई दाम्पत्यसम्बन्ध जोडिने, सन्तानाभिलाषिहरूलाई सन्तान प्राप्ति हुने, वैदेशिक यात्राको पर्खाइमा रहेकाहरूको ईच्छा पूर्ति हुने समय परेको छ । जेठ महिनामा अस्वस्थता तथा गृहकलह, आषाढ–साउनमा हाड–जोर्नीको समस्या र आश्विन–कार्तिकमा दाम्पत्यकष्ट र स्वास्थ्य अवरोधप्रद छ । धर्म–अध्यात्मका क्षेत्र तथा सम्भावित पक्षमा आउने सन्देह र समस्यालाई समन गर्न आदिशक्ति भगवती महामायाँको श्रद्धाभक्ति तथा ध्यान गर्नु उत्तम हुनेछ ।
मीन
वर्ष मीन राशि हुनेहरूका लागि आंशिक पक्षमा मात्रै अनुकूल रहेको मान्न सकिन्छ । यो समयले मिथ्याऽपवाद, अवसरवादीको उपाधि र ‘आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो’ भने जस्ता फल मिल्न सक्नेछ । विगतमा भएगरेका राम्रा कार्यको पनि अपजश मिल्नसक्छ भने वेरुजु कैफियत देखाउने चक्रब्यूहको खेलमा फस्नसक्ने सम्भावना रहन्छ । आम्दानी तथा सञ्चित धनभन्दा आर्थिक भार बढी हुनसक्ने छ । ढाडकम्मर तथा हाडजोर्नीको र अर्श, आऊजन्य समस्या, खुट्टा तथा नाक, कान, घाँटीमा रोग–चोटपटक, जेठ–श्रावणमा र मंसिर उपरान्त मातृ–पितृकष्ट तथा दु:खविमार पर्ने सम्भावना छ । बैशाख, भदौ–असोजमा सन्तानकष्ट र कार्तिक उपरान्त फाल्गुणसम्म दाम्पत्यद्वेष बढ्ने देखिएको छ । गर्भवती आमाहरूले स्वास्थ्यको विशेष ख्याल पुर्‍याउन जरुरी देखिन्छ । उपर्युक्त प्रतिकूलताका बाबजुत पनि जन्मकालिन शनि आदि ग्रह अनुकूल रहनेलाई व्यापार–व्यवसाय तथा उद्यम र अप्रत्यक्ष कार्यबाट आय–आम्दानी हुने, भनसुनबाट केही कार्यहरू बन्ने, भूगर्भधनको समेत सम्भावना, गुप्तविद्यामा आकर्षण, स्वजनबाट टाढा हुनु–टाढाको यात्रा गर्नु जस्ता कार्यमा सफलता र लाभ मिल्ने छ । शनि, राहु–केतु र गुरुको प्रतिकूलतालाई शान्ति गर्न हनुमान–शनिमहाकाल वा महाकाली, भैरव–छिन्नमस्ता र विद्यार्थीले सरस्वती तथा सर्वसाधारण सबैले वगलामुखी माँ एवम् कूलदेवताको श्रद्धाभक्ति, जपपाठ, स्तुती आदि व्रत अवलम्वन गर्नु हितकर हुने छ ।

प्रतिक्रिया