नेपाली भूमि डुबाउने गरी भारतद्वारा दशगजामा बाँध निर्माण

Indian-Dadagiri-in-Saptariराजविराज, १ बैशाख । नेपाल–भारत सीमाक्षेत्रअन्तर्गत सप्तरीको तिलाठीनजिकको दशगजा क्षेत्रमा भारतीय पक्षद्वारा निर्माणाधिन बाँध र कज–वेका कारण वर्षामा सप्तरीका एक दर्जन गाविस डुबानमा पर्ने जोखिम बढेको छ । नेपाल हुँदै भारत छिर्ने नदीको प्राकृतिक बहाव रोक्नेगरी निर्माणाधिन बाँधका कारण ती गाविस डुबानको खतरामा परेका हुन् ।

दुई देशबीचका बैठकमा भएका सम्झौता र सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुन विपरीत दश गजा क्षेत्रमा भारतीय पक्षले करिब अढाई किलोमिटर कच्ची बाँध र कज–वे निर्माण गरिरहेको छ । कुनौली ग्राम पञ्चायतको सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत निर्माण कार्य भइरहेको तिलाठिवासीले जनाएका छन् ।
‘सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्रखण्डके कुनौली ग्रामसे बोर्डर सीमा बाँधके सडकमे कजवे निर्माण कार्य’ नाम दिइएको उक्त भारतीय योजना पूरा भए नेपालबाट भारत छिर्ने त्रियुगा र जिता खोलाको निकास बन्द हुने र सामान्य वर्षातमा समेत सप्तरीका तिलाठी, लौनिया, सकरपुरा, रम्पुरा मल्हनिया, लालापट्टी, विसहरिया, कोचावखारीलगायत दर्जन गाविस डुबानमा पर्ने तिलाठीका देवनाथ यादवले बताए । गत वर्ष भारतले खाडो खोलमा बाँधेको बाँधका कारण तिलाठीलगायत आधा दर्जन गाविस जोखिममा छन् । सो बाँध विवादमा तानिएपछि यसको टुंगो नलगाई अर्को बाँध बाध्न भारत अग्रसर हुनु नेपालप्रति भारतको हेपाहा प्रवृत्ति र नेपालीको लाचारीपन भएको आरोप यादवको छ ।
ग्राम पञ्चायतका मुखिया वासिद अहमदको नेतृत्वमा निर्माणाधिन बाँध निर्माण कार्य एक साताअघि नै सुरु भएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा वेस क्याम्प तिलाठीका इन्स्पेक्टर महेन्द्र हमालले बताए । ‘अर्को सहमति नभएसम्मका लागि निर्माण कार्य रोक्न भनेको थिएँ,’ हमालले भने, ‘दुई दिनदेखि हामीलाई नै जानकारी नदिई फेरी काम सुरु गरेछन् ।’
ग्राम पञ्चायतका मुखिया वसिरले भने आफूहरूले निर्माण गरेको बाँध र कज–वेका कारण नेपाललाई कुनै नोक्सानी नहुने बताए । नेपालबाट भारत प्रवेश गर्ने नदीको पानी निकासीका लागि पनि आफूहरूले वैकल्पिक व्यवस्था गरिदिने जानकारी उनले दिए ।
सप्तरीका सिडिओ हरिराज पन्तले नेपाल–भारत संयुक्त बैठकको निर्णय विपरीत भएको निर्माणकार्य कार्य रोक्न आफूले निर्देशन पठाएको जानकारी दिँदै शुक्रबारबाट काम रोकिएको दाबी गरे । सीमा क्षेत्रमा दुवै पक्षले कुनै पनि निर्माणका काम नगर्ने सहमति विपरीत बाँध निर्माण भएकोले माथिल्लो निकायबाट अर्को निर्देशन नआएसम्म निर्माणकार्य रोकिनेमा विश्वस्त हुन उनले आग्रह गरे ।
दशगजामा भारतीयले एकलौटी निर्माण गरेको बाँधको विरोधमा संघर्ष समिति गठन गरी तीन वर्षदेखि संघर्ष गरिरहेका छन् । भारतले सीमा क्षेत्रमा नियम विपरीत भौतिक संरचना निर्माण गर्दै आएको र नेपाली प्रशासन चुप लागेर बसेको भन्दै पीडित पक्षले कडा आन्दोलनको चेतावनी दिएका छन् । यसका लागि तिलाठीका देवनारायण यादवको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समितिसमेत गठन भइसकेको छ । संघर्ष समितिले बाँध र कज–वे निर्माणकार्य तत्काल रोक्नुपर्ने, नेपाल–भारत आवतजावतका लागि तिलाठीदेखि कुनौली जाने पुल निर्माण हुनुपर्ने, त्रियूगा, जिता र खाडो खोलाको पानी निकासीका लागि पहल गर्नुपर्ने तथा कुनौली राजविराज सडक मर्मतका लागि काम सुरु गर्नुपर्ने लगायत माग राखेको छ ।

प्रतिक्रिया