१२ वर्षपछि काठमाडौंका सडकमा साझा बस

Sajha-Yatayatकाठमाडौं, १ बैशाख । ‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भन्ने उखान नेपाली समाजमा प्रचलित छ । त्यही उखानलाई चरितार्थ गर्दै १२ वर्षपछि साझा यातायातको सेवा फेरि सुरु भएको छ । एक जमानामा निक्कै राम्रो मानिने साझाको बसबाट यात्रुहरूले अब बिहान झिसमिसेदेखि झन्डै मध्यरातसम्म सेवा लिन पाउनेछन् ।

राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण साझा यातायातले १२ वर्षअघि सेवा बन्द गरेको थियो । पुल्चोकस्थित कार्यालयमा साझाका बसहरू खिया लागेर थन्किएका थिए । साझा यातायात सहकारीले अहिले नयाँ व्यवस्थापनसहित पहिलो चरणमा युरो–३ मापदण्डका १६ वटा वस सञ्चालन गरेको हो । ती बसहरू काठमाडौं र ललितपुरका दुई रुटमा चल्नेछन् ।
नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले शनिबारबाट औपचारिक रूपमा साझा बसको उद्घाटन गरे । उनी १५ रुपियाँ भाडा तिरेर बसमा चढेपछि सेवा सुरु गरियो । मुख्यसचिव पौडेलको टिकट कन्डक्टरका रूपमा हास्यकलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले काटे । महले बसको सेवा सुरुआतका लागि परिचालकको भूमिका निर्वाह गरेका थिए ।
शनिबार उद्घाटनको अवसर पारेर सर्वसाधरणलाई नि:शुल्क रूपमै सेवा दिइएको छ । नयाँ वर्ष २०७० को पहिलो दिनदेखि नियमित रूपमा बिहान पाँच बजेदेखि राति ११ बजेसम्म साझाका बस चल्नेछन् । साझाका अध्यक्ष कनकमणि दीक्षितका अनुसार आइतबारदेखि नेपाल सरकारले व्यवस्था गरेको साधारण भाडामै सर्वसाधारणले बसमा यात्रा गर्न पाउने छन् ।
साझाले सञ्चालनमा ल्याएका बसमा ५४ सिट क्षमता छ । हरेक १५ देखि २५ मिनटको फरकमा बस छुट्ने व्यवस्था गरिएको छ । बसमा चढ्न अनिर्वाय रूपमा टिकट लिनुपर्नेछ । बस पिक आवरमा १५ मिनेटको फरकमा र अन्य समयमा २० देखि २५ मिनेटको फरकमा छुट्ने अध्यक्ष दीक्षितले जानकारी दिए । उनका अनुसार बसमा महिला, अपांगका लागि सिट आरक्षणको व्यवस्था छ ।
टिकट प्रणालीबाट यात्रुले कम्तीमा १५, १७ र २० रुपियाँको साधारण भाडा तिर्नपर्ने हुन्छ । बसमा विद्यार्थी, अपांग र वृद्धवृद्धाले भने १० रुपियाँमै यात्रा गर्न पाउनेछन् । बसमा सकभर क्षमताभन्दा बढी यात्रु नराख्ने र पिक आवरको समयमा भने उभिँदा ठेलमठेल नहुने गरी यात्रुहरू राख्ने व्यवस्था गरेको साझाले जनाएको छ ।
लगनखेलबाट सुरु हुने रुट जावलाखेल, कुपन्डोल, त्रिपुरेश्वर, एनएसी, जमल, लैनचौर, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी हुँदै गोंगबु बसपार्क पुग्नेछ । त्यस्तै, कलंकीबाट सुरु हुने रुट रविभवन, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्टसम्म रहनेछ ।
साझाले यात्रुलाई ‘ट्रान्सफर टिकट’ को सुविधासमेत दिने भएको छ । अर्थात् कलंकीबाट त्रिपुरेश्वर हुँदै एयरपोर्ट रुटको बसमा चढेको यात्रु त्रिपुरेश्वरमा ओर्लेर अर्को रुटमा चल्ने साझाकै बसबाट महाराजगन्ज जान खोजेमा पूरै भाडा तिर्न नपर्ने व्यवस्था गरिएको अध्यक्ष दीक्षितले बताए । उनका अनुसार यो टिकटअनुसार पहिलो बसमा पूरा भाडा र अर्को बसमा आधा भाडा तिरेर गन्तव्यमा पुग्न सकिनेछ ।
साझा बसको उद्घाटन गर्दै मुख्यसचिव पौडेलले १२ वर्षपछि खोला फर्केझैँ उपत्यकामा साझाका बस सञ्चालनमा आएका बताए । ‘लामो समयपछि पुन: साझा यातायात सञ्चालन गर्न पाउँदा खुसी र रमाइलो लागेको छ,’ उनले भने, ‘नेपाली एक उखानजस्तै १२ वर्षपछि साझाको सेवा फकिर्एको छ ।’
सुरक्षाका लागि बसमा दुईवटा सिसिटिभीको व्यवस्थासमेत गरिएका साझाका बसमा दुईवटा ढोका रहेका छन् । यात्रुले पछाडिको ढोकाबाट चढ्ने र अगाडिको ढोकाबाट झर्नुपर्ने व्यवस्था गरिएको छ । बसको दुवै ढोका चालकको नियन्त्रणमा हुनेछ । यसका साथै बसमा मनोरञ्जन तथा सूचनाका लागि टिभीको समेत व्यवस्था गरिएको छ । साझाका अनुसार बसमा जडान टिभीमा मनोरञ्जनका सामग्री, ट्राफिक सूचना तथा अन्य शिक्षामूलक सामग्री प्रसारण गरिनेछ ।
सबै बसमा गरी अहिले ६० जना चालक र सहचालकहरू कार्यरत छन् । महिला जनशक्तिलाई भएसम्म अवसर दिने भनेकाले ६ जना महिला सहचालकको पनि नियुक्ति गरिएको छ । ५१ वर्षअघि सरकारले स्थापना गरेको साझा बस ०५८ सालमा विघठन भएको थियो । पछि ०६७ सालमा साझालाई सहकारीको रूपमा पुन:स्थापित गरिएको थियो ।

प्रतिक्रिया