‘समिति संयोजकको हैसियतले’ दाहाल चीनतिर

puspakamal dahal 5काठमाडौं : एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल उच्चस्तरीय राजनीतिक समितिको संयोजकका हैसियतमा चीन भ्रमणमा जान लागेको पार्टीले जनाएको छ ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार नियमित पत्रकार सम्मेलनमा दाहाल पार्टी अध्यक्षका रूपमा मात्र नभई उच्चस्तरीय राजनीतिक समितिको संयोजकको हैसियतबाट चीन भ्रमणमा जान लागेको बताएका हुन् । दाहालको चीन भ्रमण आर्थिक मुद्दामा बढी केन्द्रित हुने प्रवक्ता सापकोटाले जानकारी दिए । उनले भने, ‘अध्यक्ष प्रचण्डको चीन भ्रमण राजनीतिकभन्दा आर्थिक मुद्दामा बढी केन्द्रित हुनेछ ।’
दाहाल आइतबार (आज) चीनको एक साता लामो भ्रमणमा निस्कँदै छन् । दाहालको भ्रमण विशेष महत्त्वको हुने सापकोटाले दाबी गरे । भ्रमणका क्रममा दाहालले चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चतहका नेतासँग भेटवार्ता गर्ने उनले जानकारी दिए । आफ्नो पार्टी नेपाल, चीन र भारतबीचको त्रिदेशीय सम्बन्ध विस्तारमा जोड दिन तयार रहेको उनको भनाइ थियो ।
उनले अर्को प्रसंगमा संविधानसभा चुनाव असारमै गर्न सहमति भएको दाबी गर्दै चुनावी माहोल एमाओवादीप्रति देखिन थालेपछि आत्तिएर कांग्रेस र एमालेले मंसिरमा धकेल्न खोजेको आरोप लगाए । अन्तरिम चुनावी मन्त्रिपरिषद्ले चुनावभन्दा दैनिक क्रियाकलापमा ध्यान केन्द्रित गरेकाले आशंका बढेको उल्लेख गर्दै उनले भने, ‘असारमा चुनाव हुन सक्थ्यो, निर्वाचन आयोग र सरकारले प्राविधिक कुरा गरेर चुनावको मिति घोषणामा ढिलाइ गर्‍यो ।’ (सौस)

प्रतिक्रिया