स्ववियु सभापतिहरूले त्रिविमा ताला लगाए

काठमाडौं, ३ चैत । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालयमा स्ववियु सभापतिले ताला लगाएका छन् । पटकपटक ताला लाग्ने गरेको त्रिविमा शुक्रबार स्ववियु सभापतिहरूले पनि निरन्तरता दिएका हुन् । 

काठमाडौं उपत्यकामा रहेका त्रिविका आंगिक क्याम्पसका स्ववियु सभापतिले स्ववियु चुनावका लागि तोकिएको उमेर हदबन्दी खारेज हुनुपर्ने र प्रणाली सच्चाइनुपर्ने माग राखेका छन् । त्रिविले स्ववियु नियमावली संशोधन गरी १३ जेठमा चुनाव गर्ने तयारी गरिरहेको बेला उनीहरूले विरोध जनाउँदै ताला लगाएका हुन् । विद्यार्थी संगठनले उमेर हदबन्दी र प्रणालीमा सहमति जनाई चुनावमा जाने भने पनि स्ववियु सभपतिले विरोध गरेका हुन् ।
उनीहरूले उपकुलपति, रजिस्ट्रार, रेक्टर, अतिरिक्त क्रियाकलाप र लेखा शाखामा तालाबन्दी गरेका छन् । १५ क्याम्पसका स्ववियु सभापतिले शुक्रबार दिउँसो ताला लगाएका थिए । पाँच दिनअघि ज्ञापनपत्र बुझाएका उनीहरूले त्रिविले कुनै सुनवाई नगरेपछि ताला लगाइएको जनाएका छन् ।
उम्मेदवारका लागि उमेर हदबन्दी र मिश्रित प्रणालीमा जाने गरी नियमावली संशोधनपछि स्ववियु सभापतिहरू आक्रोशित बनेका हुन् । उमेर हद नलगाउन र चुनाव प्रणाली सच्चाउन माग गर्दै ताला लगाइएको नेपाल ल क्याम्पसका स्ववियु सभापति गुणराज आचार्यले जानकारी गराए । त्रिवि सभाका सदस्यसमेत रहेका आचार्यले विद्यार्थीको हकहितभन्दा पनि अधिकार कुण्ठित गर्ने अभिप्रायले नियमावली संशोधन गरेको दाबी गरे ।
२३ चैतमा त्रिवि सभामा आचार्य र अर्की सभा सदस्य स्वस्तिका पोखरेलले उमेर हदबन्दी र चुनाव प्रणालीमा असहमति जनाएका थिए । त्रिवि सभाले ०७२ देखि उम्मेदवार बन्न २८ वर्षको उमेर हद तोकेको छ । आगामी चुनावबाट मिश्रित प्रणालीमा अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक हुने व्यवस्था गरेको छ ।
पद्मकन्या क्याम्पसकी स्ववियु सभापति रहेकी पोखरेलले आफ्ना मागबारे त्रिविले सुनवाई नगरेपछि ताला लगाइएको जानकारी गराइन् । ‘उमेर हद तोकिनाले क्याम्पस भर्ना भएका कतिपय विद्यार्थीको अधिकारमाथि कुण्ठित पार्ने काम भएको छ,’ उनले भनिन्, ‘विद्यार्थी क्याम्पसमा भर्ना भएपछि उम्मेदवार हुन पाउनुपर्छ ।’
उनीहरूले स्ववियु पदाधिकारीमा पाँचै पद प्रत्यक्ष हुनुपर्ने माग गरेका छन् । समानुपातिकबाट उपसभापति र सहसचिव ल्याउँदा स्ववियुमा भाँडभैलो हुने
पोखरेलले बताइन् ।
विद्यार्थी संगठनले भने तालाबन्दीले चुनावलाई प्रभाव नपार्ने बताएका छन् । अनेरास्ववियुका संयोजक माधव ढुंगेलले तालाबन्दी केहीको व्यक्तिगत कारणले भएको प्रतिक्रिया दिँदै सौर्यसँग भने, ‘त्रिविले संशोधन गरेको स्ववियु नियमावलीमा हाम्रो समर्थन छ,’ ढुंगेलले भने, ‘हामी जसरी पनि चुनावमा भाग लिन्छौँ ।’ नेपाल विद्यार्थी संघका अध्यक्ष रन्जित कर्णले तालाबन्दीमा आफ्नो संगठनको समर्थन नरहेको बताए ।

प्रतिक्रिया