‘कांग्रेस संघीयतामा स्पष्ट छ’

काठमाडौं : कांग्रेस सभापति सुशील कोइरालाले संघीयताका विषयमा कांग्रेसलाई आशंका गर्नुको औचित्य नरहेको बताएका छन् । नवलपरासीमा सम्पन्न पार्टीको महासमिति बैठकले कांग्रेसलाई संघीयताको पक्षमा स्पष्ट रूपमा उतारेको कोइरालाको दाबी छ ।
‘महासमितिले धेरै प्रदेश धान्न नसक्ने भएकोले सात प्रदेश हुनुपर्छ भन्ने स्पष्ट मान्यता ल्याएको हो,’ पत्रकारसँगको भेटमा शुक्रबार कोइरालाले भने, ‘संघीयतामा मधेसी मोर्चाले भ्रम छर्ने काम गरेको छ कांग्रेसविरुद्ध ।’
कोइरालाले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुने संसदीय व्यवस्था मात्रै उपयुक्त हुने धारणा व्यक्त गरे । ‘संसदीय व्यवस्था राम्रोसँग प्रयोग नभएकाले यसलाई असफल भयो भन्न मिल्दैन,’ उनले भने, ‘संसदीय व्यवस्थाले निरकुंशतालाई छुट नदिने भएकाले यही व्यवस्था उपयुक्त हुन्छ ।’ प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली उपयुक्त नहुने उनको भनाइ थियो ।
उनले अर्को प्रसंगमा आउँदो महिनाबाट चारदलीय सिन्डिकेट तोडेर मोहन वैद्य र उपेन्द्र यादवलाई समेत चुनावमा ल्याइछाड्ने दाबी गरे । आगामी महिना आफू उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा आएपछि चारदलीय सिन्डिकेटलाई ब्रेक गर्ने उनको दाबी थियो । ‘उहाँहरूलाई जसरी भए पनि सहमतिमा ल्याएर चुनावको वातावरण बनाइछाड्छु,’ उनले भने, ‘उहाँहरूलाई पनि राजनीतिक संयन्त्रमा राख्छु र चार दलको सिन्डिकेटलाई ब्रेक गर्छु ।’ (सौस)

प्रतिक्रिया