समकालीन नेपाली कवितामा रुचिपूर्वक पढिने नाम हो, सङ्गीतश्रोता । उनी कवितामा पाठकलाई नेपाली समाजको चित्र देखाइदिन्छन् । भोक, गरिबीको नेपाली तस्बिरलाई कवितामा सजिव ढङ्गले लेख्ने उनको नयाा कवितासंग्रह ‘म काठमाडौ आइपुगो’ भर्खरै प्रकाशित भएको छ । कवि आहुतिका शब्दमा ‘कवि सङ्गीतश्रोता शब्दकोष पल्टाएर भारी–भरकम शब्द कोच्ने कवि होइनन । सरल प्रस्तुति र बुझिने विम्बाबाट विचार बोल्न उनलाई मन पर्छ ।’ कवितामा केन्द्रित भएर उनीसाग गरिएको वार्ता–
पहिलो कवितासंग्रहबाट तपाईं कत्तिको आशावादी हुनुहुन्छ ?
म उत्साही छु । कविताका पाठक छैनन्, कविताको बजार छैन भनेर हल्ला पिटिएको समयमा पनि मेरो कविता कृतिप्रति साहित्यका पाठकहरूले दर्साएको अभिरुचिले मलाई एक हिसाबले हौस्याएको छ । तर, म सानातिना सफलतामै हौसिइहाल्ने र अप्ठ्यारो आइलाग्दासाथ निराश भइबस्ने प्राणी भने होइन ।
तपाईंका कविता पढ्नेहरूले तपाईं माक्र्सवादको शास्त्रीय धारालाई पछ्याउनुहुन्छ भन्छन् नि !
त्यसो भन्नेहरू होलान् । मेरो बुझाइमा माक्र्सवाद विज्ञान हो, वैज्ञानिक दृष्टिकोण हो । यसलाई धर्मशास्त्रका रूपमा देख्ने वा ग्रहण गर्नेहरूमै म समस्या देख्छु । न माक्र्सवाद कुनै धर्मगुरुको नाम हो, न सङ्गीतश्रोता त्यसको अन्धभक्त । माक्र्सवादलाई माक्र्सवादी आँखाले नै हेर्नसके त्यो विज्ञान देखिन्छ, नत्र धर्मशास्त्र । फेरि कविता कुनै शास्त्रका उपकरणको जोडजाड पारेर सिलाइने पुतली पनि त होइन ।
अहिले साहित्यमा नवमाक्र्सवाद र उत्तरआधुनिकतावाद व्यापक चर्चामा छ, यसबारे तपाईंको बुझाइ के छ ?
नवमाक्र्सवाद र उत्तरआधुनिकतावाद साहित्यमा अहिले चर्चामा आएको होइन । म जन्मनुअघिदेखि मैले साहित्य लेख्न थाल्नुभन्दा कैयौं वर्षअघिदेखि पश्चिममा यी प्रवृत्तिहरूले हो–हल्ला मच्चाइसकेका थिए । नेपालमा यतिखेरै यी चर्चामा आउनाको चाहिँ कारण छ । नवमाक्र्सवाद त माक्र्सवादी आन्दोलनभित्रैबाट विकसित प्रवृत्ति हो, उत्तरआधुनिकतावाद भने माक्र्सवाद र कम्युनिस्ट आन्दोलनविरुद्ध योजनाबद्ध ढंगले ल्याइएको वैचारिक–सांस्कृतिक हतियार हो । त्यो हतियार यतिबेलै नेपालमा किन चाहिएको होला भन्ने कुरा सजिलै बुझ्न सकिने विषय हो ।
तपाईंका कवितामा अभिव्यक्त जीवन दृष्टिकोण स्कुलिङका कारणले जन्मेको हो कि जन्मजात प्रभाव हो ?
मान्छेका सोच, दृष्टिकोण वा मान्यता जन्मजात हुन्छन् भन्नु वाहियात कुरा हो । विचार निर्माण वा साहित्यमा अभिव्यक्त हुने दृष्टिकोण मान्छेले समाजिक व्यवहारबाट आर्जन गर्ने कुरा हो । कविता कुनै ‘दैवीशक्ति’ वा ‘ईश्वरीय’ प्रेरणाबाट प्राप्त हुने अलौकिक चिज होइन । यो एक प्रकारको सामाजिक उत्पादन हो, कलात्मक सामाजिक उत्पादन । त्यसकारण मेरा कवितामा पाइने जीवन दृष्टिकोणलाई तपाईं स्कुलिङकै कारण जन्मेको भन्न सक्नुहुन्छ । किनकि मेरा कविता मैले भोगे–बेहोरेको शारीरिक–मानसिक अनुभवका भौतिक उत्पादन नै हुन् ।
तपाईंका कविता कविताभन्दा पनि नाराजस्ता लाग्छन् भन्ने केही पाठकको आरोप छ नि !
अहिलेसम्म कुनै पाठकबाट पनि मैले त्यस्तो प्रतिक्रिया पाएको छैन । मलाई कवितामा नारा लगाउनुपर्ने आवश्यकता वा बाध्यता पनि छैन । नारा लगाउनुपर्ने परिस्थिति आउँदा म आफैँ सडकमा पुगेर नारा लगाउने गर्छु । एकथरि मान्छे क्षेत्रप्रताप अधिकारीको ‘चौतारीमा राजा भेटियो’ जस्ता रचनामा कलात्मकता र विमल निभाको ‘चप्पल’ जस्ता कवितामा नारा देख्छन् । वर्गीय समाजमा यस्तो वर्गदृष्टि हुनु अनौठो कुरा होइन । कवितामा जब राजनीतिक चेतना र सामाजिक चिन्ता प्रभावशाली भएर सम्प्रेषित हुन्छ, त्यसले एकथरि मान्छेको सातो लिन थाल्छ र उनीहरूलाई त्यो नारा घन्किरहेजस्तो पनि लाग्न सक्छ । म ‘कविता कविताका लागि’ भन्ने कलावादी/अमूर्तवादी होइन । तसर्थ, मेरा कवितामा वैचारिक पक्ष प्रबल देखिनुलाई म अनौठो मान्दिनँ ।
अहिले संसारभरि गद्यको लहर चलिरहेको छ । कविताको भविष्यमाथि प्रश्न उठाउन थालिएको छ नि ?
नाफा कसरी कमाउने भन्ने एक मात्र ध्याउन्ना भएका व्यापारीहरूको तर्क हो यो । कविताले अहिले पनि आफ्नो सामाजिक र कलात्मक दायित्व पूरा गरिरहेकै छ । व्यापारीहरूलाई नाफा कुम्ल्याइदिएको छैन । तसर्थ, उनीहरू यसको प्रचार–प्रसार गर्दैनन् । ख्याल गर्नुहोला, बजारमा त्यही वस्तुको मात्रै सबैभन्दा बढी विज्ञापन हुन्छ, जुन वस्तुले व्यापारीलाई सबैभन्दा बढी मुनाफा दिइरहेको हुन्छ र उपभोक्तालाई सबैभन्दा बढी मारमा पारेको हुन्छ । कविताको भविष्यमाथि प्रश्न उठाउने तिनै व्यापारीहरू हुन् । तर, मलाईचाहिँ ती मुनाफाखोर व्यापारीहरूकै भविष्यमाथि प्रश्न उठाउन मन छ, कवितामाथि होइन । संसारमा अहिले पनि सबैभन्दा बढी पढिने विधा कविता नै हो भन्ने मेरो दाबी छ । कविता, गीत, गजलजस्ता छरितो शैलीका साहित्यिक विधा नै अहिले रेडियो, टेलिभिजन, अखबार, म्यागेजिनजस्ता सञ्चारमाध्यम र फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रस्तुत भइरहेका छन् । सहरमा सबैभन्दा बढी कविता गोष्ठी नै भइरहेका छन् । (ती माध्यममा प्रस्तुत हुने कविताको स्तर कस्तो छ, त्यो बेग्लै बहसको कुरा हो) ।
कविता र गद्यको विषयवस्तुमा कुनचाहिँ बढी पुरातन छ ?
तपाईंको यो प्रश्नलाई पनि दुई आँखाले हेर्न जरुरी छ । कुनै पनि विषय विधाका आधारमा पुरातन र नूतन हुने होइन । गद्यमा निकै परम्परागत विषय लेख्नेहरू पनि छन्, कवितामा नवीन शैली र प्रस्तुति दिने प्रतिभा पनि छन् । गद्य हुँुदैमा आधुनिक हुने र कविता हुँदैमा पुरातन हुने भन्ने हुँदैन ।
अहिलेका कविताले सम्बोधन गर्नुपर्ने विषय के–के हुन सक्छन् ?
अहिलेको समाजमा देखिएका संकट, अहिलेका मानिसले भोगिरहेका दु:ख, अहिलेको संसारका अन्तरविरोध र अहिलेका कविताले सम्बोधन गर्नुपर्ने विषय यिनै हुन् । नेपालका सन्दर्भमा भन्ने हो भने कविता यहाँका दुई/चारजना विद्वान्, प्रोफेसर वा शिक्षित व्यक्तिहरूका लागि मात्रै हुनुहुँदैन, यो त यस देशका व्यापक श्रमजीवी जनताको चेतना निर्माणका लागि उपयोगी हुनुपर्छ । यो केवल पढ्ने, व्याख्या गर्ने र आनन्द लिने विधा हुनुहुँदैन, बरु सुन्ने–सुनाउने र समाजरूपान्तरणका लागि उत्प्रेरित गर्न समर्थ जनविधा हुनुपर्छ । समकालीन नेपाली कविता जनजीवनका दु:खका गर्तहरूमा कमै प्रवेश गर्छ र राष्ट्रिय–अन्तर्राष्ट्रिय मोटा अनि सतही विषयमा ठूल्ठूला कुरा धेरै गर्छ । अबको कविताले जनजीवनका सानातिना मानिने सुखदु:खलाई सम्बोधन गर्न सक्नुपर्छ ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
पञ्जाबी कवि पासले एउटा कवितामा ‘सपनाहरूको मृत्यु हुनुलाई सबैभन्दा खतरनाक कुरा’ भनेका छन् । सपना नै मर्न थाल्यो भने मानिस बाँच्नुको कुनै अर्थ हुँदैन । त्यसकारण सपना देख्नु र सपना जोगाउनु कविको पनि दायित्व हो र कविताको पनि । कवितामा जुन सपनाको संसार रचिएको हुन्छ, ठीक त्यस्तै जीवन–व्यवहार हुबहु बाँच्न त सजिलो हुँदैन । तर, कवितामा एउटा आदर्शको कुरा फलाक्नु र व्यवहारमा अर्कै प्रवृत्तिमा रमाउनुचाहिँ पाखण्ड हो । एउटा साँचो कविले कवितामा व्यक्त आदर्शलाई जीवनमा पछ्याउन सक्दो प्रयासचाहिँ गर्नैपर्छ ।
आफ्ना कवितामा समकालीन कवि साथीहरूको प्रभाव कत्तिको परेको अनुभव गर्नुभएको छ ?
एउटै युग, एउटै समाज र एउटै ऐतिहासिक परिवेशमा बाँच्ने व्यक्तिहरूबीच चिन्तन र अनुभूतिमा समान धर्मिता हुनु स्वाभाविक हो । मैले र मेरा विचार मिल्ने समकालीन साथीहरूले चिन्ता गर्ने विषय उही छ, हामीले भोगेका घटना उस्तै छन् अनि हामीलाई रमाइलो लाग्ने विषय पनि उस्तै छन्, दिक्क लाग्ने विषय पनि उस्तै । त्यस अर्थमा समकालीन साथीहरूबाट एकदमै अछुतो र अप्रभावित रहन सकिँदैन । कविताकर्मप्रति प्रतिबद्ध मेरा समकालीन कवि मित्रहरू केशव सिलवाल, विनोदविक्रम केसी, सरिता तिवारी, राजकुमार कुँवर, निभा शाह, स्वप्निल स्मृति, राजेन्द्र पौडेल, प्रमोद धिताल, शैलज पौडेल आदिको काव्यिक सरोकार र सांस्कृतिक चिन्तनको फलकमा मैले धेरै अपनत्वको अनुभव गर्ने गर्छु ।
कविताले जिन्दगीका सुखदु:ख इरेजरले जस्तै मेट्न सक्छ कि सक्दैन ?
कविता मेडिकल डाक्टरले दिने एन्टि–बायोटिक होइन, जसले दु:खाइ तत्काल चट् पारिदियोस् । कविताबाट आजको आजै र अहिलेको अहिल्यै फलिफाप खोज्नु मूर्खता मात्रै हो । एकथरि मान्छे कविता अनुत्पादक विधा हो भन्दै यसको सामाजिक दायित्वसहितको सौन्दर्यात्मक उत्पादनशीलताको अवमूल्यन गर्नेहरू छन् । ती कविताद्रोही अतिवादी हुन् । अनि अर्काथरि कविताबाटै सबैथोक हुन्छ र कवि नै सर्वेसर्वा हो भन्दै अतिमूल्यांकन गर्नेहरू छन् । ती पनि कविताद्रोही अतिवादी नै हुन् । न जिन्दगीका सुखदु:ख सिसाकलमका लेखोट हुन्, न त कविता इरेजर नै ।
‘कमरेड किताब खोजिरहनुभएको छ’ कविताको रचनागर्भ बताइदिनुस् न !
यो कविता कम्युनिस्ट आन्दोलनभित्र विद्यमान पाखण्डमाथि लेखिएको हो । अक्षरको बहुरंगी पर्दाभित्र भ्रष्ट आचरण लुकाएर बाहिर ‘क्रान्तिकारी’ भइरहनुपर्ने अनि यथार्थलाई ढाकछोप गर्न तर्कमाथि तर्कको लेपन गर्ने ढोँगी प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनको एउटा ठूलो समस्याका रूपमा देख्छु म । संघर्षमा नजाने तर संघर्षको जस लिनुपर्ने, त्याग गर्न पटक्कै नचाहने तर त्यागी भनिइनुपर्ने, लडाइँमा जान डराउने तर लडाकु आफैँलाई भनाउनुपर्ने । यही यथार्थ नै यस कविता लेखनको पृष्ठभूमि हो ।
कविताबाहेक अरू विधामा पनि केही लेख्दै हुनुहुन्छ कि ?
मेरो मूल विधा त कविता नै हो । कवितापछि मैले गीत, गजल अलि बढी लेखिरहेको छु । अखबारी निबन्ध, सामयिक टिप्पणी र समीक्षा पनि आवश्यकताले लेख्ने गर्छु । इतिहास, संस्कृति, दर्शन र सौन्दर्यशास्त्र मेरो अध्ययनको रुचिको विषय हो । अध्ययन क्षेत्रले मलाई समालोचना लेखनमा पनि प्रवृत्त गराइरहेको छ, फाट्टफुट्ट समालोचनात्मक लेख पनि लेखिरहेको छु । तर, मेरो गहिरो पिरती गीत र कवितामै छ ।
प्रस्तुति : दीपक सापकोटा
प्रतिक्रिया