वीर अस्पतालको छवि सुधार्न निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विद्याधर मल्लिकले तत्काल वीर अस्पताललाई सुधार्न अस्पतालका निर्देशक तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् । देशकै पुरानो र गरिब जनताको उपचारको आशाको केन्द्र वीर अस्पतालको छवि जनमानसमा बिग्रिसकेको मन्त्री मल्लिकको भनाइ छ ।
अस्पतालको अवस्थाबारे जानकारी लिन शुक्रबार अनुगमनमा गएका मन्त्री मल्लिकले अस्पतालको सेवासुविधासहित माथिल्लोदेखि तल्लो तहका कर्मचारीसम्म सबैको छविमा समेत प्रश्न उठ्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘जनताको विश्वास नै सबैभन्दा ठूलो कुरा हो,’ उनले भने, ‘त्यसकारण सर्वप्रथम जनताको मन जित्न सेवामा सुधार गर्दै पूरा समय काम गरेर देखाइदिनुहोस् ।’
उनले सबै पदाधिकारी तथा कर्मचारी र चिकित्सकले आपसमा सहयोग गरी आआफ्नो जिम्मेवारी निर्वाह गरे मात्र पनि धेरै सुधार हुने स्पष्ट पारे । वीरको सेवाले समग्र देशको स्वास्थ्य सेवाको अवस्थालाई प्रतिनिधित्व गर्ने भएकाले सकेसम्म जनताले सहज रूपमा गुणस्तरीय सेवा पाउने वातवरण बनाउनुपर्ने उनको भनाइ थियो ।
अस्पतालमा खाली बेड हुँदाहुँदै पनि बिरामीलाई छैन भन्दै बाहिर पठाउने चिकित्सक तथा कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न निर्देशक डा. बुलन्द थापालाई निर्देशन दिएका थिए । ‘उपचार गर्न आएका बिरामीलाई सेवासुविधाबारे जानकारी नहुने अवस्थाको फाइदा उठाउँदै दलाली गर्न पाइँदैन,’ उनले भने, ‘छानबिन गरी दोषीमाथि कारबाही गर्नुस् ।’
उनले न्याम्सका उपकुलपति डा. दामोदर पोखरेलसहित अस्पतालका निर्देशक डा. थापालाई तत्काल सुधारका कामको योजना मन्त्रलायमा पेस गर्न निर्देशनसमेत दिए । अस्पतालको छवि सुधारी जनताले सहज रूपमा सेवा पाउने अवस्थामा अस्पताललाई ल्याउन आन्तरिक स्रोतबाट के–कति सम्भव छ र मन्त्रालयले केके सहयोग गर्नुपर्ने उल्लेख गर्दै त्यसको खाकासहितको कार्ययोजना बनाएर मन्त्रालयमा ल्याउन पनि उनले भने । (सौस)

प्रतिक्रिया