कार्तिक भित्र निर्वाचनको मिति तोक्न सुझाव

4 dal ka ne ji haruकाठमाडौं, ३० चैत । प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई कार्तिक भित्र निर्वाचनको मिति तोक्न सुझाव दिएको छ ।
समितिको आज काठमाडौंमा बसेको बैठकले कार्तिक अन्तिम सातालाई ध्यानमा राखेर छिटो निर्वाचनको मिति तोक्न सुझाव दिने निर्णय गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘कार्तिक अन्तिम साता वा मंसिर भित्र निर्वाचन गर्ने गरी मिति तोक्न भनेका छौं ।’
निर्वाचनको मितिलाई लिएर सरकार र प्रमुख राजनीतिक शक्तिबीच आरोप प्रत्यारोप चलिरहेका बेला समितिले सो सुझाव दिने निर्णय गरेको हो ।
त्यसै गरेर समिति सेना समायोजन विषेश समिति नराख्ने सहमति गरेको छ । विशेष समितिको आजै अन्तिम बैठक बसेर खारेज गर्ने पौडेलले बताए ।
समितिले तालिममा रहेका माओवादीका पूर्व लडाकुले तालिम छाड्न चाहेमा विदाई गर्ने निर्णय पनि गरेको छ । तालिम छाड्न चाहने लडाकुलाई निश्चित रकम दिएर विदाई गरिने पौडेलले जानकारी दिए । सो विषयमा निर्णय विशेष समितिको बैठकले गर्ने छ ।
सेनाको तालिममा रहेका माओवादीका केही पूर्व लडाकुले छाड्न चाहेको निवेदन विशेष समितिमा बुझाई सकेका छन् ।

प्रतिक्रिया