चार वर्षमा पहिलो एल्बम

Binaकाठमाडौं : एकातर्फ सांगीतिक क्षेत्रको अवस्था प्रतिदिन धराशायी बन्दै छ भने अर्कोतर्फ यस क्षेत्रमा सुनौलो भविष्यको कल्पना गरेर उदाउनेहरूको संख्या पनि प्रतिदिन भन्–झन् बढ्दो क्रममा छ । यस्तैमा वर्तमान अवस्थालाई चुनौती दिँदै आएकी छन् गायिका विना राई ।
‘रुचि र रहरले गर्दा चुनौती मोलेरै पाइला अघि बढाएकी हुँ, चुनौती मोलेर काम गर्दा आनन्द लाग्छ,’ गायिका विनाले भनिन् । ‘विना’ एल्बममार्फत सांगीतिक क्षेत्रमा देखिएकी विनाले गुरुकुलमा संगीतको प्रशिक्षण लिएकी छन् । पहिलो एल्बमबाटै धेरैको नजरमा पर्न सफल यी गायिकाको ‘मन मेरो मन’ र ‘सम्झना आउँछ’ गीतले चर्चा पाएको छ ।
एकल एल्बमपूर्व केही कलेक्सन एल्बममा स्वर दिएकी विनाले त्यही अनुभव सँगालेर एल्बम ल्याएकी हुन् । ०६५ बाटै गायन अँगालेकी उनले अन्य गायक/गायिकाले जस्तै एल्बम निकाल्ने परम्परा कायम राख्न ‘विना’ एल्बम ल्याएकी हुन् । थुप्रै कलेक्सन एल्बममा स्वर दिए पनि आफ्नै एल्बमबाट चिनिँदाको अनुभव बैग्लै हुने उनले बताइन् ।
आधुनिक गीत समावेश गरिएको उनको एल्बममा मन मेरो मन, सम्झना आउँछ, एकबारको यो जुनी, कति रोएँ कति कराएँ र तिमीलाई नै बोलका गीतहरू रहेका छन् । अशोक राईको संगीत रहेको एल्बममा मीना सिंघक, नरेश खाती र विना स्वयंकै शब्द रहेको छ । (सौस)

प्रतिक्रिया