धनगढी, ३० चैत । सुदूरपश्चिममा आफन्तकै संलग्नतामा चेलिबेटी बेचबिखन हुने गरेको एक तथ्यांकले देखाएको छ । शान्ति पुन:स्थापना गृह कैलालीका अनुसार महिला बेचबिखनका ८० प्रतिशत घटनामा आफन्त र छिमेकिको संलग्नता रहने गरेको छ । सुदूरपश्चिमका केही नाकाहरू प्रयोगगरी भारत हुँदै खाडीमुलुकसम्म यहाँका चेलीहरू बेचिने गरेको पुन:स्थापना गृहको तथ्यांकमा उल्लेख छ ।
पुन:स्थापनागृह कैलालीका अनुसार आफन्त तथा छरछिमेकले चेलीलाई ललाइफकाई वैदेशिक रोजगारको बहानामा बेच्दै आएका छन् । झूठो आश्वासन दिएर, नक्कली विवाह गरेर, फकाएर, तर्साएर तथा वैदेशिक रोजगारको बहाना बनाएर कलिला बालिका, किशोरी र युवतीलाई यौन दुव्र्यवहार र यौन शोषणको सिकार बनाउने गरेको पुन:स्थापना गृहका कार्यक्रम संयोजक वासुदेव भट्टराईले जानकारी दिए । तर, महिलाहरू बेपत्ता हुने क्रमहरू वृद्धि भए पनि महिलाहरू कुन देश र कुन ठाउँमा जाँदै छ भनेर दलालले गोप्य राख्ने गरेका छन् ।
पुन:स्थापना गृहले पाँच वर्षमा मात्र कैलालीको विभिन्न सीमा नाकाबाट बेचबिखनका लागि भारत लगिँदै गरेका एक सय २३ महिला तथा युवतीको उद्धार गरेको जनाएको छ । साथै, सीमा नाकाबाट भारततर्फ जाँदै गरेका चार हजार तीन सय २२ महिला तथा युवतीहरूलाई परामर्श दिई घर पठाइएको पुन:स्थापना गृहका कार्यक्रम संयोजक भट्टराईले बताए । उद्धार गरिएका मध्येमा सबैभन्दा बढी कैलालीका छन् । उद्धार गरिएका मध्ये ७७ जनालाई संस्थाकै पहलमा परिवारसँग पुनर्मिलन गराइएको छ, भने १६ जनालाई पुन:स्थापना, १५ जनालाई सीपमूलक तालिम दिइएको र चार युवती औपचारिक शिक्षा आर्जन गरिरहेको पुन:स्थापना केन्द्रका संयोजक भट्टराईले बताए । त्यस्तै, ११ जनालाई प्रहरीमार्फत परिवारलाई बुझाइएको उनले बताए ।
सरकारले पुन:स्थापना गृहको उचित व्यवस्था नगरेको, प्रभावकारी कानुनको अभाव तथा राजनीतिक अस्थिरताले मानव बेचबिखनमा वृद्धि हुँदै गएको कार्यक्रम संयोजक भट्टराईले बताए । पूर्वी नाकाहरूमा कडाइ हुनथालेपछि दलालहरू पश्चिमी नाका प्रयोग गर्दै आएको उनको भनाइ छ ।
रोजगारीका लागि सुदूरपश्चिमका जनता भारतलगायत खाडी मुलुकमा जाने गरेको र सोही बहानामा दलालले महिला तथा युवती बेच्ने गरेको अधिकारकर्मीको भनाइ छ । उनीहरूले यहाँका चेलीलाई रोजगारीको प्रलोभनमा विभिन्न खाडी देशमा लैजाने र भारतको कालो कोठीमा लगेर नारकीय जीवन जिउन बाध्य बनाइरहेको पाइएको तथ्यांकमा उल्लेख छ ।
बेचिनेमा गाउँका युवती मात्रै नभएर सहरका शिक्षित पनि रहेका छन् । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ मा बेचबिखन गर्नेलाई २० वर्ष कैद र दुई लाख रूपियाँ जरिवाना हुने व्यवस्था रहेको छ । यस्तै, वेश्या वृद्धिमा लगाउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने र वेश्यागमन गर्नेलाई एक महिनादेखि तीन महिना कैद र दुईदेखि पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । मानव बेचबिखनमा कमि होस् भनेर शान्ति पुन:स्थापना केन्द्रको सहयोगमा जिल्लाको गेटा गाविस २ र ७, धनगढी नगरपालिकाको १२ मनेहरा मुक्तकमैया शिविर, मालाखेती गाविसको वडा नम्बर २ मा आयआर्जनमूलक कार्यक्रम लागू भएको छ ।
सो क्षेत्रका ७० घरपरिवारलाई बंगुरपालन कार्यक्रम उपलब्ध गराइएको शान्ति पुन:स्थापना गृहले जनाएको छ । त्यस्तै, गरिबी, अशिक्षा तथा बेरोजगारीबाट हुने मानव बेचबिखनको अन्त्य गर्नका लागि गेटा, श्रीपुर, बेलादेवीपुर, फूलबारी, मालाखेती, चौमाला र धनगढी नगरपालिकामा अनौपचारिक शिक्षा कक्षा सञ्चालन भइरहेको पुन:स्थापना केन्द्रले जनाइएको छ ।
प्रतिक्रिया