‘चुनाव ०७० सालको मंसिरमा’

काठमाडौं, ३० चैत । कांग्रेस महासमिति बैठकले ०७० साल मंसिरमा नयाँ संविधानसभा चुनाव गर्नुपर्ने निर्णय गरेको छ । उपसभापति रामचन्द्र पौडेलले पेस गरेको राजनीतिक प्रतिवेदनमा सकेसम्म असारमै चुनाव गर्नुपर्ने उल्लेख भए पनि बैठकले मंसिरमा गर्नेगरी चुनावी कार्यक्रम सार्वजनिक गरेको छ ।

अब हुने चुनाव सबै दल र राष्ट्रका लागि अग्नीपरीक्षा भएको ठहर गर्दै बैठकले मंसिरभित्र चुनाव गर्न अन्य दलहरूसित वार्ताको अग्रसरता लिने निर्णय छ । ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तथा निर्विघ्नताकासाथ सम्पन्न गर्ने वातावरण तयार गर्न देशका सम्पूर्ण राजनीतिक दल र सम्बन्धित सबै पक्षसँग नेपाली कांग्रेस आग्रह गर्दछ’, पारित प्रस्तावमा भनिएको छ, ‘निर्वाचन ०७० साल मंसिरभित्रै सम्पन्न गर्नका लागि सबै दलहरूसँग वार्ता तथा संवाद गर्न कांग्रेस अग्रसरता लिने निर्णय गर्दछ ।’
निष्पक्ष चुनावको लागि अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ती खारेजीको माग पनि कांग्रेसले गरेको छ । त्यस्तो नगरिए चुनावी मन्त्रिपरिषद्को निष्पक्षतामाथि पनि शंका उब्जने महासमितिले पारित गरेको प्रस्तावमा उल्लेख छ । ‘नियुक्ति र तत्सम्बन्धी कामहरू अविलम्ब खारेज गर्न कांग्रेस मन्त्रिपरिष्दसँग माग गर्दछ । त्यस्तो नहुन्जेल निर्वाचनको निष्पक्षताबारे चुनावी मन्त्रिपरिषद्माथि पनि आशंका उब्जनेछ भने आम नागरिकले पनि निष्पक्षताको प्रत्याभूति गर्न पाउने छैनन् भन्ने कांग्रेसको ठहर छ’, पारित प्रस्तावमा भनिएको छ ।
असारमा निर्वाचन नहुने औपचारिक घोषणा नभए पनि कांग्रेसले मंसिरलाई मध्यनजर गरी चुनावी रणनीतिका कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचनलाई प्राथमिकता दिँदै चुनावी नीति तथा कार्यक्रम गर्न आगामी १० वैशाखभित्र सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउन निर्णय बैठकले गरेको छ ।
एक महिनाभित्र केन्द्रीय विभागलाई पूर्णता दिने र जिल्लादेखि स्थानीय तहसम्मै संगठन निर्माणको कामलाई पूर्णता दिने बैठकको निर्णय छ । पार्टी सिद्धान्त, समसामयिक दृष्टिकोण तथा चुुनावी रणनीतिबारे वडा र मतदान केन्द्रसम्म क्रियाशील सदस्यहरूका लागि आगामी भदौसम्ममा प्रशिक्षण कार्यक्रम गरिने प्रस्ताव बैठकले पारित गरेको छ ।
एमाओवादी–मधेसी मोर्चा सरकारले व्यापक भ्रष्टाचार गरी राज्यकोषको दुरुपयोग गरेको भन्दै बैठकले केन्द्रदेखि स्थानीय तह र एमाओवादी लडाकुका शिविरमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया