क्षयरोगी पहिचानमा समस्या

बाबियाचौर, २९ चैत । म्याग्दीमा क्षयरोगीको पहिचान गर्न समस्या देखिएको छ । लक्ष्यअनुसार क्षयरोगका बिरामी पहिचान हुन नसक्दा उनीहरूको उपचार र रोग न्यूनीकरण कार्य प्रभावित बनेको हो । म्याग्दीमा वार्षिक ६३ जना क्षयरोगीको पहिचान गर्ने लक्ष्य भए पनि योजनाअनुसार बिरामी फेला गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जनशक्ति, शिक्षा सामग्री र जनचेतना कमीका कारण लक्ष्यअनुसार क्षयरोगका बिरामी पहिचान गर्न नसकिएको कार्यालयका क्षयकुष्ठ निरीक्षक रामबहादुर नेपालीले बताए । म्याग्दीमा आव ०६७/६८ मा ३४, ०६८/६९ मा ३५ र चालु आवको आठ महिनामा २७ जना क्षयरोगका नयाँ बिरामी पहिचान गरिएको छ । उपचारमा सफलता प्राप्त भए पनि लक्ष्यअनुसार क्षयरोगीको पहिचान गर्न नसक्नु चुनौतीका रूपमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताए । पहिचान भएकामध्ये गत वर्ष ९२ प्रतिशत बिरामीको उपचार सफल भएको थियो ।
क्षयरोगका बिरामीले औषधि प्रयोग गरेर उपचार नगरेमा अरूलाई सार्ने सम्भावना उच्च रहन्छ । डट्स विधिद्वारा ६ देखि ८ महिनासम्म नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुने भए पनि चेतना र शिक्षाको अभावमा बिरामी उपचार गर्न नआउँदा रोग न्यूनीकरणमा समस्या भएको डाक्टर गौतमको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बेनी, दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र र भुरुङ तातोपानी स्वास्थ्यचौकीमा क्षयरोगको परीक्षण गर्ने सुविधा छ भने सबै सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क औषधोपचार हुँदै आएको छ ।
ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा प्रमुख नहुनु, भएका स्वास्थ्यकर्मीमा यससम्बन्धी ज्ञान र जनचेतना अभिवृद्धिका लागि शिक्षामूलक पर्चाको व्यवस्था नभएकाले बिरामी पहिचान गर्न समस्या भएको क्षयकुष्ठ निरीक्षक नेपालीले बताए । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने बढी सम्भावना भएको क्षयरोग उपचार गरेमा निको हुन्छ भन्ने चेतना समुदायसम्म पुर्‍याउन नसकिएकाले पनि बिरामीको पहिचान र उपचार गर्ने काम प्रभावित बनेको जिल्ला जनस्वास्थ्य अधिकृत गणेश बरुवालले बताए ।

प्रतिक्रिया