कांग्रेसको प्रस्तावमा जनजाति महासंघ क्रुद्ध

janajati maha shangकाठमाडौं, २८ चैत । नेपाल आदिवासी जनजाति महासंघले सबै जातजातिलाई आदिवासी मान्ने कांग्रेसको प्रस्तावको विरोध गरेको छ ।
महासंघका अध्यक्ष राजकुमार लेखीले आज विज्ञप्ति जारी गरेर सबै जातजातिलाई आदिवासी बनाउने कांग्रेसको निर्वाचन सम्बन्धी एजेण्डाको प्रस्तावको विरोध गरेका हुन् । उनले कांग्रेसको सो प्रस्तावले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उपसभापति रामचन्द्र पौडेलले महासमिति बैठकमा पेश गरेको राजनीतिक प्रतिबेदनमा निर्वाचनमा नेपाल एकीकरण हुँदाका सबै जातजातिलाई आदिवासी मान्नु पर्ने प्रस्ताव उल्लेख छ ।
‘नेपाल सरकारले गरेको आदिवासीको परिभाषा गलत भएकाले नयाँ संविधानमा पुनः परिभाषित गरी नेपालका सबै जातजातिलाई आदिवासी मान्नुपर्ने हस्याँस्पद धारणा कांग्रेसले अघि सारेको छ,’ लेखीले भनेका छन् ।
उनले ठूला दलहरुमा आदिवासी जनजातिको पहिचानलाई अस्वीकार गर्ने प्रवृत्ति देखिदै गएका बेला कांग्रेसको धारणाले आदिवासी जनजातिहरुलाई दुखित र आक्रोसित तुल्याएको जनाएका छन् ।
महासंघका अध्यक्ष लेखीले तत्काल दस्ताबेजबाट सबै जातजातिलाई आदिवासी मान्ने प्रस्ताव र अवधारणा हटाउन कांग्रेससँग माग गरेका छन् ।

प्रतिक्रिया