बलत्कारीलाई करेन्ट लगाउने कपडा

Braविश्वभरि नै बलात्कारका घटनाहरूको सिलसिला बाक्लिँदै गइरहेका बेला भारतका तीन विद्यार्थीले बलात्कारनिरोधी कपडा बनाएका छन् । चेन्नईका तीन इन्जिनियरिङ विद्यार्थीले महिलाहरूलाई यौन–उत्पीडनबाट बचाउने प्रयोजनले महिलाका भित्री पहिरनलाई ‘सुरक्षाकवच’ का रूपमा विकास गरेका हुन् । यो भित्री पहिरनले बलात्कारीलाई ३८ सय किलोवाट बराबरको करेन्टको धक्का दिने दाबी उनीहरूको छ ।
यो अन्डर–गार्मेन्टलाई यसरी डिजाइन गरिएको छ कि जसले यी लुगा लगाएका महिलाको संवेदनशील अंग छुन्छ, उसलाई तुरुन्तै करेन्ट लागिहाल्छ । यद्यपि यो प्राणघाती भने छैन । यसबाहेक त्यसमा जिपिएस प्रणाली पनि जडान गरिएको छ, जसले यौन–उत्पीडनको जोखिम रहेका महिलाका परिवारलाई स्वचालित रूपमा फोनसम्पर्कमार्फत जानकारी पठाइदिन्छ । अहिले यो कपडा नमुना परीक्षणका रूपमा मात्र रहेको छ । यसलाई बजारमा छ्यापछ्याप्ती बनाउन सरोकारवालाहरूले आफूहरूलाई आग्रह गरेको निर्माता विद्यार्थीहरूले दाबी गरेका छन् । चेन्नईको एसआरएम युनिभर्सिटीका यी तीन विद्यार्थीको नाम हो– मनीषा मोहन, रिम्पी त्रिपाठी र नीलाद्री वसु । उनीहरूलाई यो नवीन आविष्कारका लागि गान्धियन यङ अवार्डबाट पनि सम्मानित गरिसकिएको छ ।
मनीषा भन्छिन्– ‘यो एन्टिरेप अन्डरगार्मेन्टमा एउटा प्रेसर सेन्सरलाई इलेक्ट्रिक सर्किटसँग जोडेर प्रयोग गरिएको छ, जसबाट करेन्ट उत्पन्न हुन्छ । बढीजसो बदमासहरू महिलामाथि यौन–उत्पीडनको सुरुआत उनीहरूका संवेदनशील अंग दबाएर गर्छन्, हामीले यसमा सेट गरेको प्रविधिमा बढी प्रेसर पर्नासाथ त्यसले करेन्ट उत्पन्न गरिदिन्छ, साथै महिलाका आफन्त तथा प्रहरीलाई फोन पनि गरिदिन्छ ।’ यसबाट उत्पन्न हुने करेन्टले लगाउनेवाला महिलालाई भने कुनै हानि नगर्ने पनि उनले दाबी गरिन् । यसको बाहिरी प्रविधिले कन्डक्टरको काम गर्छ भने भित्रीले चाहिँ इन्सुलेटरको ।
यी छात्रालाई यस्तो यान्त्रिक कपडा बनाउने प्रेरणा कहाँबाट आयो त ? उनले भनिन्– ‘म चण्डीगढकी बासिन्दा हुँ । मलाई पढाइका लागि चेन्नई पठाउने बेलामा मेरा बुबाको आँखामा मेरो सुरक्षाको चिन्ता मडारिइरहेको थियो । केही समयमै दिल्ली ग्याङ रेप घटना भयो । हामीलाई लाग्यो– यस्ता घटनाबाट महिलालाई सुरक्षित राख्न केही त गर्नैपर्छ । एउटा यस्तो प्रविधि बनाउनुपर्छ, जसबाट राति अबेरसम्म अफिसमा बिताएर घर फर्कने महिलाले पनि आत्मविश्वासपूर्ण अनि सुरक्षित यात्रा गर्न सकून् ।’
उनका अनुसार बलात्कारपीडित महिलालाई घटनापछि अझ बढी टोकसो गर्छ समाजले । उसलाई आवश्यक समर्थन कतैबाट मिल्दैन । त्यो अवस्था निम्तिन नदिन महिला सशक्तीकरणको कोणबाट पनि एउटा यस्तो यन्त्र जरुरी भइसकेको थियो । मनीषा चाहन्छिन्– ‘सरकारले चाँडोभन्दा चाँडो यो यन्त्रलाई मान्यता देओस् अनि बजारमा लैजान मद्दत गरिदेओस्, दुर्गमभन्दा दुर्गम भेगका महिलाले पनि यो यन्त्र सजिलै प्राप्त गर्ने वातावरण बनोस् ।’ थप्छिन्– ‘गाउँमा यस्ता थुप्रै घटना हुन्छन्, जहाँ आरामले घरमा निदाइरहेका महिलालाई जबर्जस्ती उठाएर बेपत्ता बनाइन्छन् । अनि बलात्कार गरिन्छन् । जबसम्म यी यन्त्र ती महिलासम्म पुग्दैनन् तबसम्म हामीलाई चयन हुनेछैन ।’ (एजेन्सी)

प्रतिक्रिया