यौनमाथि अविश्वासको अंकुश चेस्टिटी बेल्ट

under_garmentभारतको राजस्थान प्रान्तमा एक युवती रेलयात्रा गरिरहेकी थिइन् । यात्राकै क्रममा उनको गुप्ताङ्गबाट बगेको रगत चुहिएर भुइँसम्म पुग्यो । रेलका अन्य यात्रुले उनलाई हतपत्त अस्पताल पुर्‍याए । यौन अथवा प्रजनन स्वास्थ्यमा आएको खराबीका कारण ‘ब्लिडिङ’ भएको लख काटेका थिए देख्नेहरूले । तर, सबै चकित परे, जब ‘चेस्टिटी बेल्ट’ लगाएका कारण युवतीको रगत बगेको प्रमाणित भयो, अस्पतालमा ।

ऐतिहासिक किल्ला र राजपुत संस्कृतिका कारण देशपरदेशसम्म चिनिएको राजस्थानमा महिलाको यौन–स्वतन्त्रतामाथि कुन हदसम्म निर्मम तरिकाले अंकुश लगाइँदो रै’छ भन्ने कुराको उदाहरण पनि हो यो घटना । चेस्टिटी बेल्टद्वारा पीडित युवतीको दारुण कथा सार्वजनिक भएपछि राजस्थानप्रति चौतर्फी घृणा तथा आक्रोशको पारो चढ्यो । तथापि त्यहाँ बेल्टको प्रयोग अझै रोकिएको छैन ।
राजधानी नयाँदिल्लीमा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या गरिएको समाचारले पूरै भारत तात्यो र मुलुकभरि चेतनाको लहर चल्यो । तर, महिलामुक्तिका लागि गरिएको भनिएको यो अभियानबाट अझैसम्म पूर्णत: बेखबर छन्, राजस्थानी महिला । तथाकथित संस्कृतिको आवरणमा लाखौँ राजस्थानी महिला ‘चेस्टिटी बेल्ट’ लगाउन अझै बाध्य पारिएका छन् । संस्कृतिका नाममा राजस्थानको पितृसत्तात्मक समाजले स्त्रीको यौनस्वतन्त्रतामाथि तिखा नंग्रा गाड्ने काम अझै छोडेको छैन ।
के हो चेस्टिटी बेल्ट ?
अंग्रेजी शब्द ‘चेस्टिट’को अर्थ हुन्छ– सतीत्व अथवा यौनेन्द्रिय–निग्रह । स्त्रीले विवाइतर सम्बन्ध राख्न नसकोस् भनेर योनि छोप्ने बेल्ट बनाइएको हुन्छ । कपडा, फलाम, तामा, पित्तल आदिद्वारा निर्मित बेल्ट गुप्तांग छोप्ने गरी स्त्रीको जाँघमा बाँध्ने गरिन्छ । अमूल्य धातुप्रतिको स्त्रीहरूको ‘मोह’लाई सम्बोधन गर्ने बहानामा कतिपय पतिले पत्नीका लागि सुन अथवा चाँदीको बेल्टसमेत बनाइदिने गरेका छन् । यस्तो बेल्टलाई ‘चेस्टिटी बेल्ट’ भनिन्छ । कतिपयले स्त्रीलाई हस्तमैथुनबाट वञ्चित राख्नसमेत बेल्ट लगाइदिने गरेका छन् । बलात्कारबाट जोगाउने बहानामा महिलालाई बेल्ट लगाइदिने प्रचलन पनि कायम छ । अरब मुलुकमा यस्तो बेल्टको प्रयोग अझ व्यापक रहेको बताइन्छ ।
इस्लाम धर्मको दबदबा रहेको अरबदेखि हिन्दूत्वको गहिरो प्रभाव रहेको भारतको राजस्थानसम्म ‘चेस्टिटी बेल्ट’को प्रयोग हुने गरेको भए पनि यसको उत्पत्तिको इतिहास भने इसाई धर्मसँग जोडिएको छ । इसाई धर्मावलम्बीले इस्लाम धर्मविरुद्ध छेडेको क्रुसेडमा भाग लिने धर्मयोद्धाले ‘चेस्टिटी बेल्ट’ अविष्कार गरेको बताइन्छ । इस्लामविरुद्धको युद्धमा सहभागी हुन भनेर हतियार बोकी धर्मयोद्धाहरू युरोपबाट मध्यपूर्वतर्फ हानिन्छन् । इसाई धर्मावलम्बीको पवित्र भूमि जेरुसेलमलाई इस्लामको ‘फोहोरी तथा अपवित्र पञ्जा’बाट मुक्त गर्ने ‘धार्मिक’ उद्देश्य लिएर उनीहरू घरबाट हिँड्छन् । अपसोच, यत्रो ‘महान्’ अभियानमा लागेका धर्मयोद्धामा ईश्वरले ‘भरोसा’ र ‘विश्वास’ भन्ने चिज लेश मात्र पनि जगाउन सक्दैनन् । ईश्वरप्रतिको भरोसा र विश्वासमा हिँडेका उनीहरू आफ्नै श्रीमतीप्रति विश्वस्त हुन सक्दैनन् । आफ्नो अनुपस्थितिमा श्रीमतीले सतीत्व ‘लिलामी’ गराउन सक्ने आशंका उनीहरूमा जाग्छ । यस्तो आशंकाबाट मुक्त हुन ‘चेस्टिटी बेल्ट’ अविष्कार गर्छन् र महिलाको यौनस्वतन्त्रतामाथि अंकुश लगाउने इतिहास नयाँ चरणमा प्रवेश गर्छ ।
भनिन्छ, प्रेम र विश्वासमा अडिएको हुन्छ विवाह । घरव्यवहार सञ्चालनका लागि दम्पती एकअर्कामाथि निर्भर एवं विश्वस्त रहने गर्छन् । त्योभन्दा ठूलो विश्वास हुन्छ, एकअर्काको यौनिक इमानदारिताप्रति । विवाइतर सम्बन्ध जायज अथवा नाजायज हो, यसलाई छुट्टै छलफलको विषय बनाउन सकिन्छ । तर, हामीकहाँ यौन भनेको श्रीमान्–श्रीमतीले एकअर्काका लागि साँचेर राखेको पवित्र प्रसाद हो भन्ने आम धारणाले जरा गाडेको छ । यस्तो प्रसाद, जुन तेस्रो व्यक्तिलाई दिनु अपराधसरह मानिन्छ ।
यस्तो ‘प्रसाद’ तेस्रो व्यक्तिको मुखमा नपरोस् भन्नेमा सुनिश्चित हुन एकले अर्कोलाई विश्वस्त तुल्याउनुको विकल्प छैन । तर, ‘चेस्टिटी बेल्ट’ मार्फत पतिले पत्नीबाट यौनिक इमानदारीताको सुनिश्चितता खोज्ने प्रवृत्ति अझै जीवन्त छ भन्ने सुन्ने जोकोहीलाई पत्याउन गाह्रो पर्छ । मध्ययुगीन बर्बरताको झल्को दिने ‘चेस्टिटी बेल्ट’को प्रयोग अझै संसारका विभिन्न ठाउँमा जारी रहेको तथ्यले धेरैको आङ सिरिंग पार्ने गरेको छ ।
यौन अत्याचार
यौनस्वतन्त्रतालाई आधारभूत स्वतन्त्रताअन्तर्गत राख्ने अवधारणा पछिल्लोपटक संसारभरि विकास भएको छ । तर, ‘चेस्टिटी बेल्ट’ प्रयोगको निरन्तरताले यस्तो अवधारणाको खिल्ली उडाउने काम गरिरहेको छ । यौनक्रियाकलाप तथा हस्तमैथुनबाट स्त्रीलाई टाढा राख्न बनाइएको बेल्टले शौच गर्न समस्या नपर्ने गरी स्त्रीको यौनाङ्ग ढाक्ने गर्छ । बेल्ट लगाइएको अवस्थामै यौन क्रियाकलापमा सरिक हुन सकिँदैन । जबरजस्ती हुन खोजे दुवैको यौनांगमा चोटपटक लाग्नेगरी बेल्ट डिजाइन गरिएको हुन्छ । बेल्ट खोल्न चाबी चाहिन्छ । चाबी हातमा लिएर स्त्रीको पवित्रताप्रति मख्ख पर्ने मध्ययुगीन बर्बर पुरुषबाट संसार अझै मुक्त भइसकेको छैन ।
अरब मुलुक र राजस्थानमा मात्र होइन, चीनमा पनि केहीले यस्तो बेल्ट प्रयोग गर्दै आएका छन् । सन् ०११ को डिसेम्बरमा एक २९ वर्षीय पुरुषले प्रेमिकालाई ‘चेस्टिटी बेल्ट’ लगाउन बाध्य पारेको समाचार प्रकाशित भएपछि खैलाबैला मच्चिएको थियो । प्रेमिका अर्कै पुरुषप्रति आकर्षित भएको र उनीहरूबीच यौनक्रियाकलाप हुने गरेको आशंकामा प्रेमिकालाई बेल्ट लगाइदिएर ती पुरुषले चाबी आफैसँग राख्ने गरेका थिए । पछि ती व्यक्ति प्रहरीको फन्दामा परे र बेल्टको फन्दाबाट महिलाको उद्धार भयो ।
केही समयअघि भारतको मुसलमान समुदायका एक व्यक्तिले पत्नीलाई वर्षौंदेखि चेस्टिटी बेल्ट लगाउन बाध्य पारेको समाचार प्रकाशित भएको थियो । पत्नीप्रति चरम अविश्वास गर्ने ती पुरुषले बिहान काममा हिँड्नुअघि बेल्ट लगाइदिएर यसको चाबी आफैसँग लाने गरेका थिए । राति कामबाट फर्किएपछि ओछ्यानमा चाबी खोलेर उनले यौनप्यास बुझाउने गरेका थिए । वर्षौंैपछि मात्र उनको कर्तुत दुनियाँसामु खुलेको थियो ।
भारतको मध्यप्रदेशस्थित इन्दोरमा सन् ०१२ को जुलाइमा ‘चेस्टिटी बेल्ट’ ठूलो चर्चाको विषय बन्यो । विवाइतर सम्बन्ध राखेको आशंकामा एक ४५ वर्षीय पुरुषले पत्नीलाई यस्तो बेल्ट लगाइदिने गरेको खुलेपछि सर्वत्र आलोचना भएको थियो । पतिको हर्कत सहन नसकेर आजित भएपछि अन्त्यमा पत्नीले विष सेवन गरिन् । उनलाई स्थानीय महाराजा यशवन्त राव अस्पताल पुर्‍याइयो । शरीरबाट विष निकाल्न डाक्टरले उनको योनिमा पाइप घुसाउन खोजे । डाक्टरहरू छक्क परे जब उनीहरूले महिलाको योनि बेल्टले छोपिएको फेला पारे । यसबारे स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपछि पतिलाई पक्राउ गरी बेल्टको चाबी बरामद गरियो । त्यसपछि मात्र डाक्टरले बेल्ट फुकालेर योनिबाट पाइप छिराई विष निकाल्ने काम गरे । अनुुसन्धानपछि खुल्यो, ती महिलालाई विगत चार वर्षदेखि बेल्ट लगाइँदै आएको रहेछ ।
अरब र भारतजस्ता विकासशील मुलुकमा मात्र नभई बेलायतजस्तो सम्पन्न तथा आफूलाई ‘आधुनिक’, ‘सभ्य’ भनाउने मुलुकका नागरिकले समेत ‘चेस्टिटी बेल्ट’ लगाउने गरेको फेला परेको छ । सन् ००४ मा एक बेलायती महिला देश फर्किने क्रममा ग्रिसको राजधानीस्थित एथेन्स विमानस्थल प्रवेश गरिन् । विमानस्थल सुरक्षार्थ राखिएको ‘मेटल डिटेक्टर’ले उनको शरीरमा धातुनिर्मित वस्तु रहेको देखायो । खानतलासीपछि पनि कुनै शंकास्पद फस्तु फेला परेन । उनको शरीर जाँच्दा ‘चेस्टिटी बेल्ट’ फेला पर्‍यो । यसबारे केरकार गर्दा उनले पतिलाई विश्वास दिलाउन आफू बेल्ट लगाउन बाध्य भएको खुलाइन् । ‘केही दिनका लागि ग्रिस जानुपर्ने थियो । ग्रिस बसाइका क्रममा मैले नाठो खेलाउने आशंका गर्न थाल्नुभयो, उहाँले । मलाई विश्वास गर्नुभएन र बेल्ट लगाउन कर गर्नुभयो । उहाँको चित्त बुझाउन बेल्ट लगाउन बाध्य भएँ,’ ती महिलाले भनेकी थिइन् । ‘मेटल डिटेक्टर’को भाँजोपछि उनलाई हवाईजहाजमा यात्रा गर्न दिने/नदिनेबारे ठूलो विवाद भयो । सुरक्षाकर्मीले बेल्ट नफुकाली हवाईजहाज चढ्न नपाउने अडान लिए । तर, बेल्टको चाबी त पतिसँग थियो † पछि पाइलटको ग्यारेन्टीमा उनी हवाइजहाजबाट लन्डनस्थित घर फर्किन पाइन् ।
‘चेस्टिटी बेल्ट’ले महिलालाई मात्र नभई पुरुषलाई पनि फाट्टफुट्ट पीडित पार्ने गरेको छ । केही शंकालु महिलाले पतिको लिंग ढाक्ने किसिमको बेल्ट बनाउन लगाएर यसको चाबी थुत्ने गरेको यदाकदा पाइएको छ ।
सन् ०१२ को सेप्टेम्बरमा चीनको जिलिन प्रान्तमा एक पुरुष सर्वांग नांगिएर ‘चेस्टिटी बेल्ट’ मात्र पहिरिई खुला प्रांगणमा उपस्थित भए । कसैको करकापले उनी त्यसरी उपस्थित भएका थिएनन् । आफ्ना लागि उपयुक्त जोडी खोज्न ५० वर्ष नाघेका ती व्यक्ति स्थानीय पार्कमा नांगै देखा परे । छेउमा उनले ‘आदम बिहे गर्न खोज्दै छ’ लेखिएको पोस्टर झुन्ड्याएका थिए । ‘चेस्टिटी बेल्ट’ लगाएर उनले भावी पत्नीप्रति निष्ठावान् रहन्छु भन्ने संकेत दिएर स्त्रीलाई प्रभावित गर्न खोजेका थिए ।
स्वेच्छाले होस् अथवा करकापमा परेर, चेस्टिटी बेल्टको प्रयोगलाई कुनै पनि हालतमा न्यायोचित एवं जायज ठहर्‍याउन सकिँदैन । कसैलाई करकापमा पारी बेल्ट लगाउन बाध्य पार्नु जघन्य अपराध हो । स्वेच्छाले बेल्ट लगाउनु आत्मप्रताडना हो । दुवै हिंसा हुन् । निश्चित सामाजिक परिधिभित्र रही यौनस्वतन्त्रता उपभोग गर्नु व्यक्तिको नैसर्गिक अधिकार हो । यस्तो अधिकार कुण्ठित गर्ने जुनसुकै कार्य अपराध ठहरिने अहिलेको संसारमा पनि ‘चेस्टिटी बेल्ट’जस्तो मध्ययुगीन अविष्कारको प्रयोगले निरन्तरता पाउनुलाई आधुनिकतामाथिको निर्मम झापड मान्न सकिन्छ ।

प्रतिक्रिया