काठमाडौं : एमाले अध्यक्ष झलनाथ खनालले कात्तिक अन्त्यतिर संविधानसभा चुनाव गराउनु उपयुक्त हुने बताएका छन् । राजनीतिक दलहरूबीचको सहमतिमा सकेसम्म असार र नभए मंसिरभित्र चुनाव गराउने उल्लेख भएकाले सहमतिप्रति एमाले अडिग रहेको खनालको भनाइ छ ।
पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चले सहिद रत्नकुमार बान्तवाको स्मृतिमा मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष खनालले एमाले छिटो चुनाव गर्नुपर्ने पक्षमा रहे पनि विनातयारी चुनाव हुन नसक्ने बताए । ‘त्यसैले एमाले कात्तिकको अन्तिमसम्ममा चुनाव गर्नुपर्ने पक्षमा छ,’ खनालले भने ।
उनले यसअघिको एमाओवादी नेतृत्वको सरकारले चुनावलाई प्रभावित पार्नेगरी प्रशासन र कर्मचारीमा गरेको नियुक्ति खारेज हुनुपर्ने मागसमेत गरे । पूर्ववर्ती सरकारले तयार गरेको प्रशासनिक सेटअपलाई दुरुपयोग गरेर चुनाव जित्ने सपना नदेख्न उनले एमाओवादीलाई चेतावनी दिए । ‘एमाओवादीले अघिल्लो सरकारको पालामा सेट गरेको प्रशासनिक संयन्त्रलाई दुरुपयोग गरेर दुईतिहाइ मत ल्याउने सपना देखेको हो भने एमालेले त्यसलाई पूरा हुन दिनेछैन,’ उनले भने ।
उनले पार्टीलाई एकतावद्ध बनाई पहिलो शक्ति बनाउने र मुलुकलाई संकटबाट उतार्ने प्रतिज्ञासमेत गरे । ‘पार्टीलाई एकतावद्ध बनाउँछौँ र पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित गरेर मुलुकलाई संकटबाट उतार्छाैं,’ उनले भने, ‘सहिद रत्नकुमार बान्तवाको सपना पूरा गर्न तपाईंहरू पनि एकतावद्ध हुनुस् र एमालेलाई पहिलो शक्ति बनाउन लाग्नुस् ।’
३४ वर्षअघि तत्कालीन नेकपा मालेका केन्द्रीय नेता बान्तवालाई पञ्चायती सरकारले गोली हानी मारेको थियो । २७ चैत २००८ सालमा इलामको चमैता–७ चित्रेमा जन्मिएका बान्तवाले ३५ सालमा २७ वर्षको उमेरमा सहादत प्राप्त गरेका थिए । (सौस)
प्रतिक्रिया