बोक्सी भन्दै कुट्ने पक्राउ

नुवाकोट : बोक्सीको आरोपमा महिलालाई बाँधेर कुटपिट गर्ने लच्याङ गाविसमा पाँच जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लच्याङ–२ का ३५ वर्षीया सानुकान्छी तामाङलाई सोमबार सोही ठाउँका शुकलाल तामाङसहित पाँच जनाले बोक्सीको आरोप लगाउँदै घरको थाममा बाँधेर कुटपिट गरेका थिए । सोही आधारमा प्रहरीले शुकलाल तामाङ, आइतमान तामाङ, वडा नं. ९ का सूर्यबहादुर तामाङ, वडा नं. १ का विष्णुराज तामाङ र वडा नं. २ का मिलन तामाङलाई पक्राउ गरेको हो ।
महिलालाई बोक्सीको आरोपमा बाँधेर कुटपिट गरेको सुराकीका आधारमा इलाका प्रहरी कार्यालय बागेश्वरीबाट खटिएको प्रहरीको टोलीले पीडित महिलालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब निरीक्षक लक्ष्मण गौतमले बताए । एक वर्षअघि सानुकान्छीले दिएको जाँड खाएका शुकमानले पछिल्लो समय सोही जाँडका कारण आफूलाई पेट पोल्ने रोग लागेको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले जनाएको छ । (सौस)

प्रतिक्रिया