‘बेलायत नि:शुल्क जान देऊ’

काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले गोरखा सैनिकका सन्तान नि:शुल्क बेलायत जान पाउनुपर्ने माग गरेको छ । गेसोले मंगलबार अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र बेलायती प्रधानमन्त्री डेबिड क्यामरुनलाई ज्ञापनपत्र बुझाई बेलायती अदालतको फैसला तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको हो ।
गेसोले बेलायती अदालतले २१ जनवरी २०१३ मा गरेको फैसला तत्काल कार्यान्वयन गरी सबै गोरखाका सन्तानलाई बेलायत नि:शुल्क जान दिनुपर्नेलगायत तीनबुँदे माग अघिसारेको छ । सबै गोरखा सैनिकका सन्तानले बेलायतको आवासीय भिसा पाउनुपर्ने, अध्यागमनसम्बन्धी मुद्दा पर्दा गोरखा र गोरखाका सन्तानलाई दिँदै आएको कानुनी सहायतालाई निन्तरता दिनुपर्ने र गोरखाका सन्तानलाई भिसा शुल्कबापत लिइँदै आएको शुल्क २ लाख ६८ हजार ४ सय खारेज गर्नुपर्ने माग गेसोको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले समय तोके पनि मंगलबार अन्तिम समयमा व्यस्तताको कारण देखाउँदै समय नदिएको गेसो महासचिव महेन्द्रलाल राईले बताए । राईका अनुसार रेग्मीले समय नदिएपछि प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र दर्ता गरी गेसो टोली फर्किएको थियो । मंगलबार नै बेलायती प्रधानमन्त्री डेबिड क्यारुनलाई पनि ज्ञापनपत्र बुझाइएको गेसोले जनाएको छ । (सौस)

प्रतिक्रिया