विमानस्थलमा युवतीलाई लुटपाट र बलात्कार गर्नेविरुद्ध अख्तियारमा मुद्दा

काठमाडौं, २८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीबाट फकिर्एकी युवतीलाई लुटपाटपछि बलात्कार गरेको अभियोगमा त्रिभुवन अन्तराष्ट्रिय विमास्थल अध्यागमनका अधिकृत रामप्रसाद कोइरालासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विदेशबाट फर्किएकी सीता राई (नाम परिवर्तन)सँग कर्मचारीहरूले लिएको २ लाख २५ हजार ४ सय ६५ रुपियाँ असुलउपर गराउन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र दफा ३(१) (घ) अनुसार कारबाहीको माग गरेको छ । अख्तियारले २ लाख २५ हजार बिगो र त्यति नै जरिवानासहित कैद सजाय माग गरेको छ ।
आयोगको उजुरीमा अध्यागमन अधिकृत कोइराला, शाखा अधिकृत टीकाराज पोखरेल, नासु सोमनाथ खनाल र अध्यागमन विभागको सुरक्षा पोस्टका प्रहरी जवान पर्शुराम बस्नेतविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दले बताए । लामो समयको अनुसन्धानपछि अख्तियारले प्रारम्भिक दोषी ठहर गर्दै चार जनाविरुद्ध मुद्दा चलाएको हो ।
आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक र निर्देशकलाई विभागीय कारबाही गर्न पराराष्ट्र मन्त्रालयलाई निर्देशन पनि दिएको छ । तत्कालीन महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोखरेललाई निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावलीबमोजिम विभागीय कारबाही गर्न माग गरेको छ । मुद्दा चलाइएका अभियुक्तमध्ये सोमनाथ र बस्नेत कारागारमा छन् भने कोइराला र पोखरेल फरार छन् । कोइराला र पोखरेलविरुद्ध फरारी मुद्दा अख्तियारले चलाएको छ ।
रोजगारीबाट फकिर्एकी राईबाट कर्मचारीहरूले ८ हजार ५ सय साउदी रियाल (नेपाली रुपियाँ एक लाख ९८ हजार ३ सय ५) घुस लिएको दाबी मुद्दामा गरिएको छ । उनलाई घर पठाउन बसपार्कसम्म लैजाँदा साउदी रियाल ८ सय, घडी र सेन्ट लिएका थिए भने प्रहरी हवल्दार पर्शुराम बस्नेतले होटलमा लगेर बलात्कारसमेत गरेको पीडितले बताएकी छिन् ।

प्रतिक्रिया