छोरीलाई डेब्यु गराउँदै बस्नेत

Salina-Basnetकाठमाडौं : निर्देशक शोभित बस्नेतलाई चलचित्र क्षेत्रमा फ्याक्ट्रीको संज्ञा दिने गरिन्छ । अहिलेसम्म २६औँ चलचित्र निर्माण गरिसकेका बस्नेतले यस क्षेत्रमा दर्जनौँ नायिका पनि भित्र्याएका छन् । यिनै निर्देशक शोभितले अब फेरि २७औँ चलचित्र टिजर बनाउने भएका छन् । जसमा नायिकाको रूपमा आफ्नै छोरी सलिना बस्नेतलाई डेब्यु गराउँदै छन् ।
सोमबार बागबजारस्थित सिनेजोन स्टुडियोमा पूजाआजासहित चलचित्रको शुभमुर्हूत गरियो । कार्यक्रममा गायक यम बरालको स्वरमा चलचित्रको टाइटल गीतसमेत रेकर्डिङ गरियो ।
‘हरेक सफलताका पछािड टिचरको मुख्य हात हुन्छ । तर, विडम्बना टिचर जहिल्यै दश/पाँचको जागिर खाएर चक र डस्टरमै सीमित हुन्छ,’ निर्देशक बस्नेतले चलचित्रको कथा सुनाउँदै भने, ‘स्कुलमा पढाउने शिक्षकको कथासँगै विद्यार्थीका रोमान्चक प्रेम पनि चलचित्रमा समेट्दै छु ।’
बस्नेतकै निर्माण–निर्देशन रहने यस चलचित्र टिचरका प्रस्तुतकर्ता बिन्दिया रानी रहेकी छन् । आगामी वैशाख १ गतेबाट छायांकन प्रारम्भ गर्ने बताइएको यस चलचित्रमा जेनिसा केसी र कुशल थापा, रना गौतम, पुरन थापा, भानु प्रताप, सलिना बस्तेतलगायत कलाकारको मुख्य भूमिका छ ।
काठमाडौं र दामनका विभिन्न रमाइला स्थानमा चलचित्रको ४० दिन छायांकन गरिने निर्माण पक्षले जानकारी गराएको छ । चलचित्रमा गणेशकुमार लामाको छायांकन, राजेन्द्र खड्गीको द्वन्द्व, दीपक भट्टको नृत्य रहनेछ । सलोन फिल्मस्को ब्यानरमै निर्माण हुन लागेको यस चलचित्रमा संगीत प्याट्रिक सिटलिङले दिएका छन् । ७० सालभित्रै चलचित्र रिलिज गर्ने योजना रहेको निर्देशक बस्नेतले सुनाए । (सौस)

प्रतिक्रिया