वधशालामा व्यवसायी नै बाधक

सिन्धुली : बधशाला प्रयोग गर्न स्वयं व्यवसायी नै बाधक बनेका छन् । सिन्धुलीमा सुरक्षित बधशाला नहुँदा जिल्लावासी अस्वस्थकर मासु खान बाध्य छन् ।
कमलामाई नगरपालिकाले बधशालाका लागि बधशाला स्थलको व्यवस्था गरे पनि अहिलेसम्म सञ्चालनमा नआउँदा जिल्लावासी अस्वस्थ मासु खान बाध्य भएका हुन् । दैनिक ५ सय देखि ६ सय किलोसम्म मासु बिक्री हुने सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा खुल्ला चौरमा सेउला, प्लास्टिक र काठको पटाहा ओछ्याएर पशुबध गरी घन्टौँसम्म खुल्ला आकाशमुनि राखिएको मासु बिक्री गरिँदै आएको छ । जथाभावी रगत, मलमूत्र, हड्डी तथा अन्य फोहर फाल्दा बजार एरियामा दुर्गन्ध फैलिएर बजारवासीसमेत समस्यामा परिरहेका छन् ।
विषेश गरी माढी बजारमा शनिबार लाग्ने हाटबजार एरियामा यसरी पशुको बध गरिँदै आएको छ । त्यहाँ राँगा, खसी, बँगुर, कुखुरालगायत पशुपक्षीको मासु घन्टौँ खुला आकाशमुनि राखेर बिक्रीवितरण हुने गरेको छ । नगरपालिकाले बध गर्ने ठाउँको व्यवस्था गरेको भए पनि भाडादर महँगो भएकाले प्रयोग गर्न नसकेको व्यवसायीले बताएका छन् । नगरपालिकाले शुलभ भाडादर कायम गरे आफूहरू बधशाला प्रयोग गर्न तयार रहेको व्यवसायीको भनाइ छ ।
सचेत उपभोक्ताले बेलाबखत बधशाला प्रयोग गर्न माग गर्दै आवाज पनि नउठाएका होइनन् तर कमलामाई नगरपालिकाले कुनै चासो नदेखाएको उपभोक्ता नगेन्द्र ठाकुरले बताए । पशुबध गर्ने ठाउँनजिकै घर भएका गोर्वद्धन श्रेष्ठ भने बध गरिएका पशुको मलमूत्र, हाड तथा अन्य फोहर जथाभावी फालिदिनाले त्यसबाट निस्कने दुगन्र्धले आफ्ना छोराछोरी बिरामी हुने गरेका बताउँछन् । नगरपालिकालाई बारम्बार उजुरी गर्दा पनि कुनै वास्ता नगरेको उनले गुनासो गरे ।
उपभोक्त मञ्चले पनि बजारका खाद्यसामग्रीको चेकजाँच गर्ने गरे पनि मासुको जाँच भने कहिले पनि नगरेको उपभोक्ताको गुनासो रहेको छ । कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत युवाराज आचार्य भने जिल्लावासीले बधशाला प्रयोग गराउन दबाब दिइरहे पनि व्यवसायी सहमत नभएकाले गार्‍हो परेको बताउँछन् ।

प्रतिक्रिया