जग्गा कीर्ते गर्नेलाई ३७ करोड जरिवाना

हेटौंडा, २७ चैत । हेटौंडा–४ कर्रास्थित किशोरकुमार विष्ट र शैलेन्द्रकुमार विष्टको नाममा रहेको साढे सातकठ्ठा जग्गा कीर्ते गरी बेचेको अभियोगमा पक्राउ परेकामध्ये १६ अभियुक्तलाई अदालतले पौने ३७ करोड जरिवाना गरेको छ । प्रकरणमा जोडिएका १५ जनालाई भने अदालतले सफाइ दिइएको छ ।

जिल्ला अदालत मकवानपुरले सोमबार बहुप्रतिक्षित मुद्दाको फैसला सुनाएको हो । नक्कली जग्गाधनी बन्ने, मालपोतका कर्मचारी र जग्गा कीर्ते गरी किन्नेसमेतलाई न्यायाधीश टेकनारायण कुँवरको इजलासले कैद तथा जरिवाना सुनाएको हो । हेटौंडा नगरपालिकाका कर्मचारी, बैंक कर्मचारी र लेखापढी व्यवसायीसमेत १६ जनालाई निर्दोष देखिन आएको भन्दै अभियोग दाबीबाट सफाइ दिइएको छ ।
नक्कली जग्गाधनी बनेका प्रेमप्रसाद दाहाल र शिवभक्त अधिकारी (मोहन) लाई कीर्तेअन्तर्गत ५० रुपियाँ, एक वर्ष कैद र ठगीअन्तर्गत साढे तीन वर्ष कैदसहित बिगोबमोजिम एक करोड आठ लाख ७५ हजार जरिवाना गरिएको छ । मालपोतका कर्मचारीहरू श्याम पोखरेल, ईश्वरीप्रसाद अर्याल, चन्द्रप्रकाश श्रेष्ठ र रामकृष्ण श्रेष्ठलाई कीर्तेअन्तर्गत जनही ५० रुपियाँ जरिवाना, तीन वर्ष कैद, ठगीअन्तर्गत जनही तीन वर्ष कैद र बिगोबमोजिम एक करोड आठ लाख ७५ हजार रुपियाँ जरिवाना सुनाइएको छ ।
जग्गा किन्ने प्रशान्त अग्रवाल र मदनकुमार साहलाई ठगीअन्तर्गत जनही दुई वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाइएको छ भने प्रतिवादी अग्रवालका हकमा धनीलाई ठगीको सम्पत्ति फिर्ता गराई बिगो ७८ लाख ७५ हजार जरिवाना हुने ठहर जिल्ला अदालतले गरेको छ । प्रतिवादी साहका हकमा धनीलाई ठगीको सम्पत्ति फिर्ता गराई बिगो ३० लाख रुपियाँ जरिवाना गरिएको छ । प्रतिवादीहरू विष्णु राई, पुष्कर शाह (प्रशान्तजंग ठकुरी), चूडामणि ढुंगेल, मनहरि गौतम र पुष्कर सुनारलाई कीर्तेअन्तर्गत जनही ५० रुपियाँ, एक वर्ष कैद तथा ठगीअन्तर्गत जनही दुई वर्ष कैद र बिगो एक करोड आठ लाख ७५ हजार जरिवाना गरिएको छ ।
अर्का प्रतिवादी शिव श्रेष्ठलाई कीर्तेमा ५० रुपियाँ, एक वर्ष कैद तथा ठगीअन्तर्गत २ वर्ष कैद र बिगोबमोजिम ७८ लाख ७५ हजार रुपियाँ जरिवाना, जितबहादुर तामाङलाई २ वर्ष कैद र बिगोबमोजिम एक करोड आठ लाख ७५ हजार रुपियाँ जरिवाना र भरत बल्लभ दासलाई दुई वर्ष कैद र बिगोबमोजिम ३० लाख जरिवाना गरिएको अदालतका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले बताए । तामाङचाहिँ हालसम्म फरार छन् ।
प्रतिवादी वीरकृष्ण महर्जन, पुष्पराज पौडेल, निकिता मास्के, प्रवेश राजभण्डारी, भरतलाल मल्लिक, रामचन्द्र भण्डारी, अर्जुनप्रसाद पौडेल, कमल घिमिरे, शेखर घिमिरे, राजेन्द्र ढकाल, पूर्णप्रसाद अर्याल, नोमप्रसाद घिमिरे, कृष्ण ढुंगेल, खिलप्रसाद गौतम र जनार्दन पाण्डे निर्दोष ठहर गरिएको छ । अग्रवालले कित्ता नम्बर १०२८ को जग्गा ७८ लाख ७५ हजारमा खरिद गरेका थिए । प्रहरीले उनीहरूविरुद्ध ०६८ भदौमा मुद्दा दायर गरेको थियो । जग्गा बिष्ट दाजुभाइका नाममा २०५५ सालदेखि कायम छ ।

प्रतिक्रिया