सेनाको ‘शान्ति प्रयास–२’ तालिम सकियो

काठमाडौं : नेपाली सेनाको पहलमा दुई सातादेखि सञ्चालित ‘शान्ति प्रयास–२’ तालिम आइतबार सम्पन्न भएको छ ।
काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा १२ चैतमा सुरु तालिमको समापन आइतबार प्रधानसेनापति गौरवशमशेर जबराले गरेका हुन् । ‘ग्लोबल पिस अपरेसन इन्भाइट’अन्तर्गत सञ्चालित तालिमको संयोजन अमेरिका प्यासिफिक कमान्डले गरेको थियो ।
सेनाका अनुसार तालिम अवधिभर सिनियर ट्रेनिङ सेमिनार (एसटिएस), स्टाफ अभ्यास (स्टाफ एक्स) र क्षेत्र तालिम अध्यास (एसटिएस) विषयमा प्रशिक्षण तथा अभ्यास गरिएको थियो । तालिममा नेपाल, बंगलादेश, श्रीलंका, मलेसिया, कम्बोडिया, इन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवान्डा, थाइल्यान्ड, घाना, जोर्डन, काजकिस्तान, ताजकिस्तान, पाराग्वे, अस्ट्रेलिया, क्यानाडा, भारत, दक्षिण कोरिया, बेलायत, भियतनाम र अमेरिकासहित २३ राष्ट्रका सेना सहभागी थिए । तालिममा श्रीलंका, बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, जापान, मंगोलिया, फिलिपिन्स, रुवान्डा र पाराग्वेका एक–एक प्लटुन(सेमु) समावेश थिए । जोर्डन र काजकिस्तानले भने संयुक्त रूपमा एक प्लटुन (सेमु) तालिममा सहभागी गराएका थिए । नेपालबाट २ प्लाटुन (समु) सहभागी थिए । तालिममा नेपाली सेनाका चार सय १६ र अन्य मुलुकका चार सय ५५ गरी आठ सय ७१ जनाको सहभागिता थियो ।
समापनमा प्रधानसेनापति जबराले बृहत् परिप्रेक्ष्यमा शान्ति स्थापनामा सहभागी हुने शान्ति सेना कार्यसम्पादन गर्न पेसेवर, घुलनशील र दूरदर्शी क्षमताले पूर्ण हुनुपर्ने बताए । ‘यही उद्देश्य प्राप्तिका लागि तालिम सञ्चालन भएको हो । यसले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि क्रियाशील मित्रराष्ट्रहरुबीच साझेदारी बढाउँछ,’ उनले भने, ‘शान्ति स्थापना कार्यमा प्राप्त अनुभवलाई एकआपसमा बाँड्दै विश्व शान्ति स्थापना गर्न एक आपसलाई अझ नजिक तुल्यउँछ ।’ (सौस)

प्रतिक्रिया