रामपुर कृषि क्याम्पसमा रिले अनशन

Chitwan-Rampur-Campusचितवन, २६ चैत । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरलाई बन्दमुक्त क्षेत्र घोषणाको माग गर्दै रिले अनशन सुरू भएको छ । क्याम्पसका दुई विद्यार्थीले राजनीतिक हस्तक्षेप अन्त्यको माग गर्दै रिले अनशन सुरु गरेका हुन् । बिएस्सी भेटेनरी छैटौँ संकायका केशव भट्ट र राजेश लामाले क्याम्पसलाई सधँैका लागि बन्दमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै आइतबारबाट रिले अनसन सुरू गरेका हुन् ।

पटकपटक विभिन्न संगठनको नाममा हुने क्याम्पस बन्दप्रति विद्यार्थीले आपत्ति जनाएका छन् । उनीहरूले नियमित पठनपाठनको माग गरेका छन् । ‘राजनीतिले क्याम्पसलाई जति डुबायो अब डुब्नु हुन्न,’ रिले अनशनमा सहभागी केशवले भने । ‘त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयको झगडा अन्त्य नभए आमरण अनशन बस्छौँ,’ केशवले भने ।
०१० जुनमा मन्त्रिपरिषद्को निर्णयले रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान र हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानलाई गाभेर कृषि तथा वन विज्ञान विश्वविद्यालय घोषणा गरेको थियो । तर त्रिभुवन विश्वविद्यालयले हस्तान्तरण प्रक्रियामा ढिलाई गरेपछि लगातार विद्यार्थी संगठनसहित प्राध्यापक र कर्मचारी आन्दोलित छन् ।
शैक्षिक कार्यसँगै विभिन्न राजनीतिक कारणबाट पूर्णरूपमा ठप्प रहेको क्याम्पसमा राजनीतिक हस्तक्षेप बन्द गर्न विद्यार्थीले माग गरेका छन् । उनीहरूले नियमित पठनपाठनको माग गरेका छन् । तीन महिनादेखि तलब नपाएको भन्दै क्याम्पसका प्राध्यापक र कर्मचारी आन्दोलित भएपछि शुक्रबारबाट पूर्णरूपमा क्याम्पस ठप्प भएको छ ।
विभिन्न कारणले लगातार बन्द हुँदै आएको क्याम्पसमा राजनीतिक हस्तक्षेप बन्द गर्न माग गरेका हौँ,’ आठौँ सेमेस्टरमा बिएस्सी एजीमा अध्ययनरत विगेह मिश्रले भने । चार वर्षअघि ४ फागुनमा कलेजमा पढ्न सुरू गरेका उनीहरूको पढाइ अझै सकिएको छैन । ४ चैतमा सकिनुपर्ने कक्षाको अझै एक सेमेस्टर बाँकी छ । क्याम्पसमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आठ सय र कृषि विश्वविद्यालयअन्तर्गतका १ सय ५० विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया