बोक्सीको आरोपमा कुटपिट गर्ने सार्वजनिक

news photo 2 kailali 24धनगढी, २५ चैत । कैलाली बेलादेवीपुर–८ घुर्सुवामा बोक्सीको आरोपमा वृद्धालाई निर्घात कुटपिट गरी अमानवीय व्यहार गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न सोही ठाउँकी २७ वर्षीया निरा राना र वडा नम्बर ७ की ३२ वर्षीया रामकुमारी रानालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न निराकी पति मुन्नी भनिने रामसिंह र सोही ठाउँका धर्मसिंह राना फरार छन् ।
घटनामा संलग्नलाई ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही हुने एसपी घनश्याम अर्यालले बताए । उनले प्रहरीले घटनाबारे ढिलो थाहा पाएको र खबर पाएको १० मिनेटमै घटनास्थल पुगेर घाइतेको उद्धार गरेको जानकारी दिए । घटना शुक्रबार बिहान चार बजेदेखि दिउँसो डेढ बजेसम्म भएको थियो । घरमा सुतिरहेकी ६० वर्षीया राजकुमारी रानालाई घरबाहिर निकालेर कपाल मुण्डन तथा गुप्तांगमा लठ्ठी कोचेर मलमूत्र खुवाएर निर्बस्त्र पार्दै कुटपिट गरिएको थियो । ६० वर्षीय बन्दी रानालाई गाउँकै भलमन्सामा कुरा मिलाउन लागिरहेका बेला यो पनि बोक्सो भन्दै निरालगायतकाले लठ्ठी र चप्पलले निर्घात कुटपिट गरेका थिए ।
दुई वर्षअघि पनि निराले आफ्नो छोरालाई जन्मिनेबित्तिकै बोक्सो लगाएर मारेको भन्दै राजकुमारीलाई कुटपिट गरेकी थिइन् । त्यतिबेलाको घटना भलमन्साले गाउँमै मिलाइएको थियो । यो घटना पनि भलामन्सामै मिलाउन लागेको बेला प्रहरीले थाहा पाएर घाइतेको उद्धार र घटनामा संलग्नलाई पक्राउ गरेको एसपी अर्यालले बताए । घाइते राजकुमारीको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा ल्याइएको छ । बन्दीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कैलालीका सिडिओ रामप्रसाद थपलियाले घाइतेको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार राजकुमारीको गुप्तांगलगायत अन्य संवेदनशील अंगमा गम्भीर चोट लागेको छ । बन्दीको टाउको र दायाँ हातमा चोट लागेको छ । बोक्साबोक्सीको आरोपमा अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएपछि राष्ट्रिय महिला आयोगको विशेष टोली शनिबार धनगढीमा आएर घटनास्थलको अवलोकन गरिरहेको थपलियाले जानकारी दिए । उनले घटनाको सत्यतथ्य छानबिनका लागि कुनै कसुर बाँकी नराख्ने र घटनामा संलग्न रहेका भलमन्सा तथा अन्यलाई पनि कारबाही गरिने पत्रकार सम्मेलनमा बताइएको थियो । पक्राउ परेकी निरा र रामकुमारीले आफूहरूमा दैवीशक्ति आएको र राजकुमारी बोक्सी हो भनेपछि मलमूत्र खुवाएर कुटपिट गरेको बताइन् । उनले आफूले जानाजान नभई दैवी शक्तिका आडमा घटना भएकाले एकपटक माफ गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।

प्रतिक्रिया