निर्ममताको नांगो रूप

नेपाली समाज अन्धविश्वास र परम्परागत रुढीग्रस्त सोचबाट ग्रसित छ । कुसंस्कार, शिक्षाको अभाव र अत्यन्त पिछडिएको सोचबाट हाम्रो समाज मुक्त हुन सकेको छैन । जसले गर्दा समाजमा लाजमर्दो, मानवता विरोधी र २१ शौँ शताब्दीमा पत्याउनै नसक्ने घटना नेपाली समाजमा हुने गरेका छन् । यसको पछिल्लो उदाहरण हो कैलालीको कलंकित मानवता विरोधी घटना । तथाकथित बोक्सीको आरोपमा ६० वर्षे वृद्धालाई चरम यातना दिएर मलमूत्र खुवाउने कार्य हुनु सामाजिक कलंकको उपल्लो रूप हो । बेलादेवीपुर गाविस–७ धुरसुवाकी राजकुमारी रानालाई सोही गाउँका केही व्यक्तिले बोक्सीको आरोपमा पासविक यातना दिएर मरणासन्न हुनेगरी कुटपिट गरे । यो कार्य समाजमा रहेको अत्यन्त घृणित, अस्वाभाविक, असामाजिक र पाखण्डपूर्ण त हँुदै हो, त्यसबाहेक समाजकै कलंक र मानवता विरोधी पनि हो । हाम्रो समाज अहिले पनि १७ औं शताब्दीको अवस्थाबाट मुक्त हुन सकेको छैन भन्ने सन्देश पनि यस घटनाले दिएको छ । यो मानवता विरोधी जघन्य अपराध गर्न प्रेरित गर्ने मूल जड पहिल्याएर समुल नष्ट नगरेसम्म यस्ता गतिविधि समाजबाट हट्न सक्ने देखिँदैन । धामी, झाक्री, बोक्सी जस्ता कुसंस्कार समाजमा विद्यमान छन् । यही कारणले नेपाली समाज १७ औँ शताब्दीको पीडादायिक अवस्था २१ औँ शताब्दीमा पनि भोगिरहेको छ । यो अमानवीय र घृणित सोचबाट समाजलाई मुक्त गर्न के माध्यम अपनाउनुपर्छ त्यसको खोजी गर्न ढिला गरिनुहुँदैन ।
राजकुमारी रानालाई चरम यातना दिएर लालसिंह राना र निरा रानाहरूले आफ्नो सन्तान मरेको बदला लिन सकिन्छ भन्ने कुविचार कसरी लिए ? धामी, झाँक्रीहरूले भनेको आधारमा अथवा औँल्याएको भरमा अर्को व्यक्तिलाई यातना दिने परम्परा किन अहिले पनि समाजमा कायम छ ? यसको खोजी हुनुपर्छ । मुख्यतया यस्ता घटनाहरू शिक्षाको अभाव र गरिबीका कारणले हुने गरेका छन् । जो गरिब र अशिक्षित छ त्यस्ता व्यक्तिनै बोक्सो वा बोक्सीको आरोपमा प्रताडित हुने गरेको पाइन्छ । कैलालीको घटनामा पनि गरिब परिवारकी महिलालाई निर्ममतापूर्वक चरम यातना दिएको अवस्था छ । पीडकहरू अशिक्षित छन् । र, उनीहरू धामीले बोक्सी भनेर औँल्याएकी महिलालाई यातना दिँदै मुन्डन गरेर मलमूत्र खुवाएपछि आफू ठीक हुने र आफ्नो अभीष्ट पूरा हुने ठान्छन् । यस्तो पुरातन र रुढीग्रस्त सोचबाट समाजलाई मुक्त नगरेसम्म कैलाली घटना बारम्बार दोहोरिन सक्छ । तसर्थ, अशिक्षाले जकडिएका ग्रामीण क्षेत्रहरूमा सामाजिक संघ, संगठन साथै सरकारले सचेतना कार्यक्रम विस्तार गर्नुपर्छ । साथै पीडाकहरूमाथि कानुनी कारबाही गरिनुपर्छ । अन्यथा समाजलाई नै कलंकित पार्ने घटना हुने कार्य रोकिने छैनन् ।
नेपालका तराईका जिल्लाहरूमा बोक्सी, दाइजो र अन्य कारणले महिलाहरू चरम यातना भोग्न बाध्य छन् । कतिपयलाई दाइजो नल्याएको र बोक्सी भएको आरोपमा मारिएको छ । एउटा घटना भएपछि त्यसमा एकोहोरिने तर सचेतना कार्यक्रमहरू नगर्ने परम्परा पनि बस्दै गएको छ । महिलाअधिकारकर्मी, मानवअधिकारवादी, सामाजिक कार्यमा लागेकाहरू, विभिन्नखाले गैरसरकारी संघ–संस्था र सरकारसमेत घटना भएपछि मात्र तात्ने गरेको पाइन्छ । वास्तवमा यस्ता कार्य हुन नदिन दीर्घकालीन सोच राखेर कार्यक्रमहरू सञ्चालन गर्ने गरेको पाइँदैन । जसले गर्दा समाजमा हुने असामाजिक कामहरू रोकिन सकेका छैनन् । मुख्य रूपमा अशिक्षित ग्रामीण क्षेत्रमा शिक्षाको खाँचो छ, त्यहाँ चेतनाको अभाव छ र गरिबीको कहाली लाग्दो अवस्था छ । यो अवस्थाबाट समाजलाई मुक्त गर्ने अभियान नचलाउने हो भने रुढीग्रस्त कुसंस्कारले बारम्बार टाउको उठाउनेछ । तसर्थ, कैलाली घटनालाई दोहोरिन नदिन सबै पक्षले गम्भीरतापूर्वक सोचेर आफ्ना गतिविधिलाई अगाडि बढाउन जरुरी छ ।

प्रतिक्रिया