मोटोलाई चर्को भाडा

Moto-Manchheके तपाइंको शरीरको वजन बढी छ र हवाई जहाजबाट कतै यात्रा गर्ने सोचिरहनुभएको छ ? यदि छ भने तपाईंका लागि नराम्रो खबर छ । समोआको  एक  एयरलाइन्सले यात्रुको शरीरको वजनलाई ध्यानमा राखेर भाडा असुल गर्ने भएको छ । यसबाट सो एयरलाइन्स चढ्ने मोटो मान्छेको खर्च बढ्ने भएको छ ।
सामोआ एयरले यात्रुको वजन नापेर भाडा असुल गर्न सुरु गरिसकेको छ । आफूहरूको सिको गर्दै अरू एयरलाइन्सले पनि त्यसै गर्ने लख उसले काटेको छ ।
सामोआ एयरप्रमुख क्रिस लैंगटनले आफूहरूको निर्णयको बचाउ गर्दै भने, ‘हवाईजहाज उडाउँदा कति सिट भरिएका छन् भन्नेमा होइन, यात्रुको कुल वजन कति छ भन्नेमा ध्यान पुर्याउनुपर्छ । थोरै सिट भरिएका छन्, तर उनीहरूको वजनको कुल योग बढी रै’छ भने के फाइदा ?’
एयरलाइन्सले तोकेको औसत वजन पार गर्ने यात्रुले बढी भएको वजनका लागि प्रतिकिलोको दरले पैसा तिर्नुपर्नेछ । औसतभन्दा बढी वजन भएका मान्छेको प्रत्येक अतिरिक्त वजनलाई किलोग्राममा मापन गरेर हरेक किलोग्रामका लागि ४.१६ डलर भुक्तान गराइनेछ । मोटोपनको समस्या भएका मानिसबाट बढी रकम असुलेपछि मान्छेहरू स्वास्थ्यप्रति सचेत बन्ने लैंगनको भनाइ छ । ‘बढी पैसा तिनुपर्ने भएपछि मानिसहरू वजन घटाउनतिर लाग्नेछन् । त्यसैले हाम्रो नीतिबाट उनीहरूको स्वास्थ्यमा सुधार आउने लख काटेका छौँ हामीले,’ उनले भने । देशको सबैभन्दा बढी प्रयोग गरिने एयरलाइन्सले यस्तो नीति लिएपछि वजन बढी भएका व्यक्ति नराम्ररी प्रभावित भएको विश्लेषण गरिएको छ ।
तर, कतिपयले भने एयरलाइन्सको निर्णयको स्वागत गरेका छन् । समोआका मानिसका लागि मोटोपन सबैभन्दा ठूलो स्वास्थ्य समस्या बनेको छ । यसैलाई ध्यानमा राखेर आफूहरूले नयाँ नीति लिएको बताउँदै लैंगटन नयाँ नीति लागू भएपछि मानिसहरू स्वास्थ्यप्रति गम्भीर बन्न थालेका दाबी गर्छन् । (एजेन्सी)

प्रतिक्रिया