साहित्य शोकेसमा सजिने वा खरिद–बिक्री हुने ‘वस्तु’ मात्र होइन । यसलाई भौतिकवादी आँखाले मात्र हेरिनुहुँदैन । यसको आफ्नै गहन, सार्वकालीक ‘अमूल्य’ मूल्य पनि छ । जुनसुकै भाषामा लेखिए पनि साहित्य गाउँ, क्षेत्र, प्रान्त, देश र विश्वकै सम्पत्ति हो ।
धेरै लेखकहरू भन्छन्, ‘आत्मसन्तुष्टिका लागि लेख्छु ।’ केही भन्छन्, ‘जनताका लागि लेख्छु ।’ थोरै लेखक भन्छन्, ‘जिम्वेवारी बोध गरेर लेख्छु ।’ लेखकले आफ्ना जेजस्ता विचार राखे पनि लेखिसकेर पाठकसामु आएपछि त्यो लेखकको मात्र सम्पत्ति हुँदैन । पाठकको हुन्छ, समाजको हुन्छ, देशको हुन्छ र विश्वको हुन्छ । तर, लेखेर पाठकसामु पुर्याएपछि पनि लेखक आफ्नो रचनामा निरपेक्ष र बेखबर रहन सक्दैन । र, हुँदैन पनि । रोलाँ वाथले भनेझैँ सम्र्पूणत: लेखकको मृत्यु भैसकेको हुँदैन । लेखक बाँचिरहेकै हुन्छ । संशोधन, परिमार्जन, पुनप्र्रकाशनको अधिकार लेखकसँगै हुन्छ । प्रतिक्रिया दिने अधिकार भने पाठकमा गैसकेको हुन्छ । रचना साझा सम्पत्ति बन्छ । पाठकले बहस गर्छ । गुणदोष केलाउँछ र लेखकलाई एउटा स्तर कायम गरिदिन्छ ।
साहित्यकार, समालोचक, समीक्षकहरूको भनाइ छ, ‘नेपाली साहित्य स्तरीय र उत्कृष्ट बन्दै गएको छ । हाम्रो साहित्य विश्वका समुन्नत भाषाको साहित्यसँग तुलनायोग्य भैसकेको छ ।’ नेपाली भाषा साहित्यमा उत्कृष्ट ठहरिने होड चलेको छ । उत्कृष्ट कविता, उत्कृष्ट कथा, उत्कृष्ट नाटक आदि नाम दिएर धेरै किताबहरू बजारमा आएका छन् । पाठककको मनमा प्रश्न उठ्नसक्छ–उत्कृष्टताको आधिकारिक मापन कसरी, केले र कसले गर्ने ? मानकहरू केके हुन् ? रचनाको शैली, कथानक, बिम्व, प्रतीक, पर्यावरण आदिमध्ये कुनचाहिँ गुण मानक हो, लेखक, समीक्षक, समालोचक वा सम्पादकले उत्कृष्टताको तत्त्व र कारण उल्लेख गरिदिनुपर्छ ।
उत्कृष्टता निरपेक्ष हुँदैन । अन्य कृतिसँग तुलना भएर मात्र कुनै कृति उत्कृष्ट ठहरिन सक्छ । कसैको राम्रो एउटा कविता पढेपछि त्यसैलाई ‘उत्कृष्ट कविता’ भनिदिनु वस्तुवादी र वैज्ञानिक तर्क होइन । त्योभन्दा उत्कृष्ट कविता अरू कसैले लेखेको हुन सक्छ । पढेको भन्दा अझै उत्कृष्ट अर्को कविता भेटियो भने पहिले पढेको उत्कृष्ट कवितालाई उत्कृष्टताको कुन दर्जामा राख्ने ? समस्या आउान सक्छ ।
नेपाली पुस्तक बजारमा उत्कृष्टताको नाम दिएका प्रसस्त पुस्तक पाइन्छन् । फलानाका उत्कृष्ट कथा, ढिस्कानाका उत्कृष्ट कविता वा निबन्ध । त्यस्तै अनधिकृतरूपमा छन्द न बन्धसँग अनुवाद गरिएका र ‘उत्कृष्ट’ भनिएका विदेशी लेखकका कृतिहरू पनि छ्यासछ्यासती पाइन्छन् । गोर्कीका उत्कृष्ट कथा, लु सुनका उत्कृष्ट कथा, खलिल जिब्रानका उत्कृष्ट कथा, एन्टोन चेकबका उत्कृष्ट कथा आदिआदि । यस्ता पुस्तकहरूमा उत्कृष्टाको मापन कसरी भयो वा मानक निर्धारण कसरी गरियो त्यसको प्रामाणिक जिकीर ती पुस्तकहरूमा कतै लेखिएको पाइँदैन । त्यस्ता कृतिको मूल भाषामा उत्कृष्ट भनिएको थियो थिएन, त्यो पनि उल्लेख गरिएको पाइँदैन । स्वधोषित र कोठे सम्पादकले उत्कृष्ट भनिदिँदैमा उत्कृष्ट हुँदैन । पाठकले देख्नुपर्छ र भन्नुपर्छ ।
अनुवादित साहित्यमा अर्को भ्रष्टीकृत रूप पनि पाइन्छ, विदेशी पुस्तकको अनुवाद गर्दा कहीँकतैबाट कपिराइट लिएको देखिँदैन । ओशो, रामदेवदेखि तसलीमा नसरीनसम्मका लेखकका पुस्तकले नेपाली पुस्तकबजार नै कब्जा गरेको देखिन्छ । यसमा पनि तसलीमाका पुस्तक बढी भेटिन्छ । को, कसले, कहाँबाट कपिराइट लियो वा लिइयो केही उल्लेख गरिँदैन । अनुवादित कतिपय पुस्तकमा सर्वाधिकार लेखक वा प्रकाशकमा राखेको पाइन्छ । विदेशी लेखकका कृतिहरू अनुवाद गरी प्रकाशन गर्न ती लेखक वा प्रकाशकले कसरी, कहाँबाट अनुमति पाए पुस्तकको प्राक्कथनमा त्यसको कतै उल्लेख गरिदिनुपर्छ । शरच्चन्द्र वस्तीले अनुवाद गरेको र शिक्षक मासिकले प्रकाशन गरेको भारतीय लेखक गिजुभाईको पुस्तक ‘दिवास्वप्न’ मा सम्पादक राजेन्द्र दाहालले सो पुस्तक प्रकाशन गर्दा भारतीय प्रतिलिपि कानुन पल्टाउनु परेको कुरा बताएका छन् । त्यहाँको कानुनअनुसार लेखकको मृत्यु भएको ६० वर्षपछि उसले लेखेको कृति वा रचना सार्वजनिक सम्पत्ति हुने व्यवस्था रहेको छ । नेपालमा ५० वर्ष र विश्वभरिको सरदर अवधि ५० देखि ७० वर्ष रहेको भेटिन्छ । लेखक वा प्रकाशक यतिसम्म चाहिँ जिम्मेवार हुनैपर्छ । नत्र जसले जसको पुस्तक प्रकाशन गरे पनि भयो । अर्काको पुस्तक आफ्नो नाममा छपाए पनि भयो ।
रचनाको उत्कृष्टताको कुरा गर्दा धेरैले मन पराउनु एउटा कुरा हो भने उत्कृष्ट ठहरिनु अर्को कुरा हो । जस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ उत्कृष्ट होइन, धेरैले मन पराएका हुन् । ‘मनममदन’ लाई कुन दृष्टिले उत्कृष्ट मान्न सकिन्छ ? कथानक, लय, प्रतीक, बिम्व, शैली, भाषा वा अन्य कुनै पक्ष ? महाकविका कृतिहरूलाई उनकासँग मात्र तुलना गर्दा सबैभन्दा उत्कृष्ट त ‘शाकुन्तल’ महाकाव्य हो । तर, यो महाकाव्य धेरैले बुझ्दैनन् । ‘मुनामदन’ सबैले बुझ्छन् । कुनै एउटा लेखकका रचना वा कृतिमध्येबाट छनोट गरी उसकै अन्य कृतिको सापेक्षतामा उत्कृष्ट हुन सक्छ । तर, अरूकोसँग तुलना गरी फलानाको उत्कृष्ट भनिदिनु न्यायसंगत हुँदैन । फेरि पुस्तक बिक्रीको आधारमा मात्र पनि पुस्तक उत्कृष्ट हुँदैन । बजारी हल्लाका कारण कमसल पुस्तक पनि बढी बिकेका प्रशस्त उदाहरणहरू छन् । यो वर्ष बढी बिकेको पुस्तक अर्को वर्ष ठ्याप्पै बिक्न पनि छाड्न सक्छ । सार्वकालीक वा सार्वभौम गुणवत्ताले मात्र पुस्तकको आयु निर्धारण गर्न सक्छ । बजारले पुस्तकको उत्कृष्टता निर्धारण गर्दैन । गोर्कीको ‘आमा’ उपन्यास कुनै समय उत्कृष्ट मानिएको थियो भने त्यसलाई पनि पछाडि पार्दै त्योभन्दा उत्कृष्ट अरू कृतिहरू निस्किसकेका छन् । एउटा कालखण्डमा रचिएको कृतिलाई उत्कृष्ट भनिहाल्नु उचित देखिँदैन । लगत्तै त्योभन्दा राम्रो कृति आइहाल्यो भने कुनलाई उत्कृष्ट मान्ने ?
प्रतिक्रिया