लापर्बाही गर्ने चिकित्सकबाट क्षतिपूर्ति दिलाउन आदेश

काठमाडौं, २३ चैत । अदालतले चार जना चिकित्सकले बिरामीको उपचारमा लापर्बाही गरेको ठहर गर्दै उनीहरूबाट पीडितलाई क्षतिपूर्ति दिन आदेश दिएको छ ।

बिरामीको उपचारमा लापर्बाही भएको भन्दै त्यसविरुद्ध परेका छुट्टाछुट्टै रिटको सुनुवाई गर्दै अदालतले उनीहरूलाई दोषी ठहर गरी क्षतिपूर्ती दिन आदेश दिएको हो । उपभोक्ता हित संरक्षण मञ्चले बुधबार सार्वजनिक गरेको अदालतको फैसलाअनुसार चार जना चिकित्सकलाई अदालतले छुट्टाछुट्टै मितिमा दोषी ठहर गरी क्षतिपूर्ती दिन आदेश दिएको पाइएको छ । अदालतले डा. शुधा थापा, डा. मीना झा, डा. बुद्ध बस्नेत र डा. अचला वैद्यलाई दोषी ठहर गरेको हो ।
अदालतले चिकित्सकको लापर्बाहीका कारण बायाँ खुट्टा गुमाएकी धादिङ कम्पुरकी तीन वर्षिया बालिकालाई डा. शुधा थापा र डा. मीना झाबाट ९ लाख तथा प्रसूतिगृह अस्पतालबाट एक लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । पुनरावेदन अदालत पाटनका न्यायाशीशद्वय भरतप्रसाद अधिकारी र सुस्मालता माथेमाको संयुक्त इजलासले क्षतिपूर्तिको आदेश दिएको हो । चिकित्सकद्वय थापा र झाले ती बालिकाको उपचारमा लापर्बाही गरेको अदालतको ठहर छ । १४ माघ ०६६ मा थापाथलीस्थित प्रसूति गृहमा जन्मिएकी बालिकाले चिकित्सकको गलत उपचारका कारण खुट्टा गुमाउनुपरेको थियो ।
अदालतले धादिङ जिल्लाकै मैदीकी पाँच वर्षिया बालिका करुणा अधिकारीलाई प्रसूति गृह अस्पताल र स्त्री रोग विशेषज्ञ डा. अचला वैद्यबाट १० लाख क्षतिपूर्ति दिन फैसला गरेको छ । गलत उपचार गर्दा बालिकाको दाँया शरीर नै बांगो भएको छ भने बालिकाकी आमा सूर्यकुमारीको अवस्था पनि गम्भीर छ ।
अदालतले सुनसरी इटहरीकी किरण बस्नेतको स्वास्थ्य परीक्षण नगरी रोजगारका लागि इजरायल पठाएकोमा पनि क्षतिपूर्ती दिन आदेश दिएको छ । २४ वर्षिया बस्नेत इजरायलमा घरेलु हिंसाबाट समेत पीडित थिइन् । उनलाई लालदरबारस्थित नेपाल इन्टरनेसनल क्लिनिक प्रालिले स्वास्थ्य परीक्षण नै नगरी सात हजार रुपियाँ लिएर ‘स्वास्थ्य ठीक छ’ भन्दै इजरायल पठाएको थियो । इजराइलमा उनको स्वास्थ्य परीक्षण गर्दा दम रहेको देखिएको थियो । पुनरावेदन अदालत पाटनका न्यायाधीशद्वय टंकबहादुर मोक्तान र हरिकुमार पोखरेलको संयुक्त इजालसले पीडित बस्नेतलाई क्लिनिकबाट र परीक्षण रिर्पोटमा हस्ताक्षर गर्ने डा. बुद्ध बस्नेतबाट ६ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
चिकित्सकको लापर्बाहीका कारण समस्यामा परेका पीडितको तर्फबाट अदालतमा मुद्दा हालेको मञ्चले सबै मुद्दाको फैसला सार्वजनिक गर्दै पीडितले न्याए पाएको जनाएको छ । अब तत्काल क्षतिपूर्तिवापतको रकम उपलब्ध गराउनका लागि पहल गर्ने पनि मञ्चले जनाएको छ । मञ्चका महासचिव ज्योति बानियाँले लापर्बाहि गर्ने चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिलले समेत कारबाही गर्नुपर्ने बताए ।
वरिष्ठ फर्मासिस्ट एवं मञ्चका केन्द्रीय सदस्य बाबुराम हुमागार्इंले पछिल्लो समय चिकित्सक बढी पैसामुखी भएका कारण बिरामीलाई समय दिन नसक्दा लापर्बाहीका घटना बढिरहेको बताए । एकै जना चिकित्सक धेरै अस्पतालमा काम गर्ने, औषधि कम्पनीको कमिसनको लोभमा चिकित्सकले कमसल औषधि दिने प्रवृत्ति बढिरहेको आरोप हुमागाईंले लगाए ।
‘चिकित्सकले कतिसम्म लापर्बाही गर्दछन् भन्ने कुरा त पुनरावेदन अदालत पाटनको फैसलाबाट पनि पुष्टि भएको छ,’ उनले भने, ‘यस्ता चिकित्सकलाई मेडिकल काउन्सिलले कडा कारबाही गर्न सक्नुपर्दछ ।’

प्रतिक्रिया