करिब तीन लाख किलो रक्तचन्दन नेपाललाई घाँडो

rakta chandanकाठमाडौं, २३ चैत । ‘बेच्न प्रतिबन्धित, जहाँ छ त्यही राख्न रातदिन तस्करको डर । न सुरक्षित राख्न सजिलो छ, न थान्को लगाउन नै सकिएको छ’, वन विभागका एक उच्च अधिकृतले भनेभैँm नेपाललाई अहिले झन्डै तीन लाख किलो रक्तचन्दन घाँडो भएको छ ।

विभिन्न समयमा तस्करहरूबाट बरामद रक्तचन्दन वन विभाग र देशका १७ जिल्ला वन कार्यालयमा सुरक्षाकर्मी खटाएर राखिएको छ । अवैध वनस्पतिलाई के गर्ने भन्ने टुंगो नहुँदा तस्करहरूबाटै बरामद गरिएको रक्तचन्दन तस्करहरूबाटै जोगाउन सरकारको टाउको दुखाइ बनेको छ ।
वनस्पति तथा जिवजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी (साइटिस) ले रक्तचन्दन ओसारपसार र बेचविखनमा प्रतिबन्ध लगाएको छ । विभिन्न समयमा भारतबाट चीनतर्फ लैजाँदै गरेका तस्करहरूबाट बरामद गरिएको दुई लाख ७१ हजार सात सय २७ दशमलव सात किलो रक्तचन्दन अहिले देशका विभिन्न भागमा स्टक छ । सन् २००६ देखि महिनैपिच्छे जसो नेपालभित्र कहीँ न कहीँ रक्तचन्दन बरामद भइरहेको छ । जसले रक्तचन्दनको परिमाण र तस्करको जगजगी दुवै बढाइरहेको छ ।
बरामद रक्तचन्दन के गर्ने भन्ने टुंगो नलागेपछि भारतको रक्तचन्दन नेपाललाई घाँडो भएको वन विभागका एक कर्मचारीले बताए । ‘न बेच्न मिल्छ, न भारतलाई लैजा भन्ने आधार छ । पक्रेको रक्तचन्दन जिल्ला वन कार्यालय र वन विभागमा थुपार्‍यो, तस्करहरूको जगजगी मात्रै’, विभागका ती कर्मचारीले सौर्यसित भने ।
रक्तचन्दन नेपालको प्रजाति होइन । साइटिस महासन्धीअनुसार पक्राउ परेको रक्तचन्दन जुन देशको हो उसैलाई फिर्ता गर्नुपर्छ । तर, त्यसका लागि बिक्री भएको प्रमाण हुनुपर्छ । रक्तचन्दनसँग ओसारपसारकर्ता पक्राउ नपरेकोले रक्तचन्दन
भारतबाट ल्याइएको हो भन्ने प्रमाण सरकारसित छैन ।
दुई महिनाअघि केही प्रमाणको आधारमा रक्तचन्दन भारतलाई फिर्ता गर्न वन विभागले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । तर, छलफल र निर्णय हुन नपाउँदै सरकार फेरिएकोले प्रक्रिया पनि बन्द भएको विभागका महानिर्देशक ब्रजकिशोर यादवले बताए । ‘रक्तचन्दन भारतलाई फिर्ता पठाउन मन्त्रिपरिषद्मा पठाएको प्रस्ताव छलफलका लागि सामाजिक समितिमा पठाइएको त थियो । तर, सरकार विघटनसँगै प्रक्रिया नै सकियो’, उनले सौर्यसित भने । जसरी भए पनि रक्तचन्दनको थान्को लगाउनुपर्ने उनले बताए ।
थुपारिएको रक्तचन्दनको चाँडो थान्को लगाउन नसके र थुप्रिने क्रम जारि रहे तस्करहरूको मनोबल बढ्ने विभागले जनाएको छ । ‘टुंगो नलाग्दा थुप्रिएको रक्तचन्दन कुनै न कुनै दिन छुटाउन सकिएला र बेच्न पाइएला भनेर ठेकेदार र तस्करहरूको मनोबल बढेको हुनसक्छ’ विभागका प्रवक्ता देवेशमणि त्रिपाठीले भने, ‘त्यसैले बजारमूल्य आकाशिएको यो अवस्थामा तत्काल रक्तचन्दन व्यवस्थापनको टुंगो लगाउनु आवश्यक छ ।’
बरामद रक्तचन्दन काठमाडौं, भक्तपुर, रसुवा, सिन्धुपाल्चोक, बारा, रूपन्देही, नवलपरासी, चितवन, सर्लाही, झापा, काभ्रे, तेह्रथुम, ताप्लेजुङ, दोलखा, कपिलवस्तु, धादिङ र बझाङ गरी १८ जिल्लामा थुपारिएको छ । काठमाडौंको वन विभाग परिसरबाहेक अन्य जिल्लाको सम्बन्धित जिल्ला वन कार्यालय परिसरमा रक्तचन्दन सुरक्षाकर्मी खटाएर राखिएको छ ।
चिनमा विभिन्न औषधी र कस्मेटिक बनाउन, खानदानीहरूले कौसी, झ्याल–ढोका बनाउन, टीका लगाउन, धार्मिक कार्य एवं शुभ वस्तुका रूपमा रक्तचन्दनको प्रयोग गर्ने गरिन्छ ।

कहाँ कति थुप्रिएको छ ?

जिल्ला परिमाण (किलोमा)

काठमाडौं १,५५,१४६.१
भक्तपुर १८,०८५
रसुवा १३,८८२.९
सिन्धुपाल्चोक ३६,४८०.५
रुपन्देही ४,३४४.२
नवलपरासी ७,६२८
चितवन ६,१८०
सर्लाही ४,५५९
भmापा १३,६५०.२
काभ्रे ८३६
तेह्रथुम २,०६५
ताप्लेजुङ २,२१५
दोलखा ५२७
कपिलवस्तु ८८३.१
धदिङ १,३२८.९
बझाङ ३,६८०
बारा २३७

जम्मा २,७१,७२७.७

 

प्रतिक्रिया