समुद्रदेखि सगरमाथासम्मको पैदल अभियान नहुने

काठमाडौं, २१ चैत । मुटुरोग रोकथामका लागि विश्वव्यापी रूपमा जनचेतना जगाउन समुद्रदेखि सगरमाथाको टुप्पोसम्म सञ्चालन गर्ने भनिएको जागरण अभियान नहुने भएको छ ।

नेपाल हृदय रोग निवारण प्रतिष्ठानले गत वैशाखमा २५औँ वर्ष प्रवेश गरेको अवसरमा मुटुरोग रोकथामका लागि संसारभर जनचेतना जगाउन मुटुरोगविरुद्ध विश्वव्यापी जनचेतना जागरण अभियानअन्तर्गत ‘मुटु बचाउ सगरमाथा आरोहण २०१३’ गर्ने घोषणा गरेको थियो । प्रतिष्ठानले सन् २०१३ को मार्चदेखि दुई महिना लामो पैदल यात्रा गरी मुटु बचाउने जागरण अभियान चलाउने आवश्यक तयारी गरे पनि आर्थिक अभावका कारण अभियान नहुने भएको हो ।
प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार अभियानका लागि झन्डै एक करोड ७० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको थियो । ‘यसका लागि सरकारले एक करोड उपलब्ध गराउने र अरू रकम अन्यत्रबाट जुटाउने तयारी भएको थियो तर सरकारले सहयोग नगरेपछि यो वर्ष अभियान स्थगित गर्नुपरेको हो,’ रेग्मीले भने । उनले यस वर्ष सगरमाथाको आधार शिविरमा गएर स्वास्थ्य शिविर र चेतनामूलक सन्देश फैलाउने कार्यक्रमको भने तयारी भइरहेको बताए ।
प्रतिष्ठानले सन् २०१३ मार्चमा सुरु गरेर मेमा समापन गर्ने भनेको अभियान बंगलादेशको राजधानी ढाकाको समुद्री सतहबाट सुरु भएर सगरमाथाको चुचुरोमा झन्डा फहराएर सक्ने कार्यक्रम थियो । ‘यो विश्वको इतिहासमै नितान्त नौलो कार्यक्रम हुने थियो । यस कार्यक्रममार्फत विश्वभरका जनताको ध्यान नेपालतर्फ र मुटुरोगबाट बच्ने उपायतर्फ आकर्षित हुने थियो, सगरमाथा धेरैले चढे तर जनचेतना जगाउने उद्देश्य लिएर विश्वसमुदायका मानिसको सहभागिता गर्न खोजिएको यो पहिलो कार्यक्रम थियो,’ डा. रेग्मीले भने । एक वर्ष स्थगित भए पनि आगामी वर्ष यो कार्यक्रम गरिने उनले बताए ।
दुई महिनासम्म सञ्चालन हुने भनिएको सो कार्यक्रममा विश्व मुटु महासंघ, एसिया पेसिफिक हार्टनेट, नेपाल हार्टनेट, विश्व स्वास्थ्य संगठन, रोटरी इन्टरनेसनल, विभिन्न देशका कार्डियाक सोसाइटीका चिकित्सक तथा स्वास्थ्यकर्मी, नेपाल पर्वतारोही संघलगायत विश्वका धेरै संघसंस्था, चिकित्सक र समाजसेवी तथा पर्वतारोहीको सहभागिता रहने भनिएको थियो । अभियानका लागि ‘मुटु बचाउँm, वातावरण बचाउँm’ भन्ने नारा तय गरिएको थियो । मुटु रोगबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरू लेखिएका सातवटा सन्देश लेखिएका झन्डा बोकी समुद्री सतहबाट पैदल हिँड्दै सगरमाथाको चुचुरोसम्म पुर्‍याउने कार्यक्रम थियो ।

प्रतिक्रिया