सडक विस्तारलाई निरन्तरता

काठमाडौं, २० चैत । काठमाडौंमा जारी सडक विस्तारको कामलाई निरन्तरता दिइने भएको छ । मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सम्पन्न समीक्षा बैठकमा मुख्यसचिव लीलामणि पौडेलले फिल्डमा समन्वय गर्ने प्राविधिक समितिको बैठक साप्ताहिक रूपमा गर्ने, उच्च मनोबलका साथ सडक विस्तारको काममा लाग्न र समन्वयात्मक ढंगले काम गरी परिणाम निकाल्न सम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् ।
बैठकमा काठमाडौं सडक विस्तार उच्चस्तरीय अनुगमन समितिका संयोजक कृष्णहरि बाँस्कोटाले काठमाडौं उपत्यकामा प्रारम्भ गरिएको सडक विस्तारको कामलाई निरन्तरता दिन विभिन्न मन्त्रालयका सचिव, महानिर्देशक र प्राविधिक कर्मचारीलाई आग्रह गर्दै यस काममा कसैको दबाब, बाधा वा अनुरोधबाट विचलित नहुन विशेष आग्रह गरे । सचिव बाँस्कोटाले हाल सञ्चालित सडक विस्तारको काम नटुंगिएसम्म विश्राम लिन नमिल्ने बताउँदै उनले सडक निर्माण भइसकेका स्थानबाट तुरुन्तै पोल हटाउन नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमका पदाधिकारीलाई आग्रह गरे ।
यसैगरी, उनले सडक निर्माण गर्दा खानेपानीका पाइप र ढलका पाइप फुटेको भन्ने गुनासो आएकाले क्षति नहुने गरी काम गर्न सडकतर्फका प्राविधिकलाई निर्देशन दिए । सचिव बाँस्कोटाले केयुकेलका पदाधिकारीलाई सडक विस्तारको काममा ढिलाइ नहुने गरी तत्कालै खानेपानीको पाइप व्यवस्था गर्न पनि निर्देशन दिए । बाँस्कोटाले निर्माण व्यवसायीहरूले तोकिएको मितिभन्दा अगाडि नै आ–आफ्नो जिम्माको काम सम्पादन गर्नेतर्फ उत्प्रेरित गर्न आग्रह गर्दै भत्काउन बाँकी संरचनामा विनामुलाहिजा समयमै काम गर्न पनि अनुरोध गरे । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले सडक विभागबाट ६५ वटा खण्डमा सडक विस्तार भइरहेको, सोमध्ये ११ किमी सडक कालोपत्रे भइसकेको, थप १३ किमी सडक अबको तीन हप्ताभित्र कालोपत्रे हुने र अबको डेढ महिनाभित्र थप २४ किमी सडक कालोपत्रे हुने बताए ।
यसैगरी, सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले सहरभित्र हरियाली कायम गर्ने, फ्लाई ओभर बनाउने, खोलाछेउमा बाटो बनाउने र बिल्डिङ कोड लागू गर्ने विषयमा गहन गृहकार्य भइरहेको जानकारी दिए । उनले गोकर्णदेखि सुन्दरीघाटसम्मको २७ किमी सडक आगामी २ वर्षभित्र सम्पन्न गरिने बताउँदै हाल सोअन्तर्गत खोलाको दायाँबायाँ ढलमाथि ९ मिटरको ११ किमी सडक निर्माण भइरहेकोसमेत जानकारी दिए ।
बैठकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले काठमाडौं महानगरपालिकाले सडक विस्तारका क्रममा ६ किमी सडक कालोपत्रे गरिरहेको बताए । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव ज्ञानदर्शन उदासले पाटन अस्पतालअगाडिका ६ वटा घरका सट्टा अन्यत्र जग्गा दिने विषयमा सहमति जनाइएको बताए । सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्माले टेलिकमबाट हटाउनुपर्ने पोल तत्कालै हटाउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा काठमाडौं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीले बाटो विस्तारको काम निरन्तर भइरहेको बताए । अनुगमन समितिका संयोजक बाँस्कोटाले काठमाडौंमा तापक्रम बढ्दै गएकाले अब कालोपत्रे गर्ने कार्यले तीव्रता लिने बताए । उनले सडक विभाग, काठमाडौं, ललितपुर र भक्तपुर नगरपालिका तथा काठमाडौं उपत्यका विकास प्राधिकरण सबैले गरी करिब २ सय किमी सडक विस्तारको काम भइरहेको, सडक विस्तारमा बजेटको अभाव नहुने, सडक विस्तारको साथै ब्युटिफिकेसन र हरियाली काठमाडौंको अवधारणा पनि अगाडि बढिरहेको जानकारी दिए ।
यसैगरी, सचिव बाँस्काटाले सम्भव भएका स्थानमा अपांगमैत्री सडक निर्माण गरिएको, स्वस्र्फूतरूपमा सडक विस्तारमा सहभागी भएको टोल र स्थानमा सडक विस्तारको कामलाई निरन्तरता दिइएको, सडक निर्माणको गुणस्तरीयता पनि अनुगमन भइरहेको बताए । आवश्यतानुसार राष्ट्रिय सतर्कता केन्द्रबाट निर्माण सम्पन्न भएको सडकको प्राविधिक परीक्षण गरिने बताउँदै अहिले नै काठमाडौंमा सडक विस्तारले राजधानीको स्वरूप बदलिइसकेको चर्चा गर्दै सचिव बाँस्कोटाले यस आवको अन्त्यसम्म हाल सञ्चालित सडक विस्तारको काम ९० प्रतिशत पूरा हुने दाबी गरे ।

प्रतिक्रिया