दूतावास भवन नबेच्न मागसहित रिट

काठमाडौं, १९ चैत । भूतपूर्व गोरखा सैनिक संघ (गेसो)ले लण्डनस्थित नेपाली दूतावासको भवन नबेच्न माग गरेर आज सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
गेसोका तर्फबाट कोषाध्यक्ष जितबहादुर राईले रिट दायर गरेका हुन् । लण्डनस्थित नेपाली दूतावास भवन नबेच्न मागसहित रिटलाई अग्राधिकार राख्न भनिएको छ । रिटमा गेसोका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र अधिवक्ता बेलबहादुर गुरुङले वहस पैरवी गर्ने छन् ।
गेसोले आज विज्ञप्ति जारी गरेर संरक्षण गर्न नसकिएको कारण देखाउँदै नेपाल सरकारले लण्डनको १२ ‘ए’ क्यान्सिटनस्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागे पछि संरक्षणको मागसहित रिट दायर गरेको जनाएको छ ।
बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाका निम्ति उच्च वफदारितापूर्वक बलिदान गरेबापत निशुल्क दिइएको सो भवन बेच्न सहसचिव स्तरको टोली हाल लण्डनमा छ ।
दूतावास बेच्ने सरकारको निर्णयले नेपालीहरुको स्वाभिमानमाथिको प्रहार भएको गेसोको टिप्पणी छ । पूर्खाहरुको बलिदानीको चिनोका रुपमा रहेको भवन नेपाल सरकार वा कुनै पनि राजनीतिक दललाई बिक्री गर्र्ने अधिकार नरहेको रिटमा जिकिर गरिएको छ ।
गेसोले राजनीतिक दल, तिनका नेता र कर्मचारीहरुले ‘कमिसन’को लोभमा लण्डनस्थित राजदूतावासको भवन बेच्न लागेको आरोप लगाएको छ । ‘भवनको संरक्षण गर्न सरकारले सक्दैन भने गेसोले पूर्ण रुपमा संरक्षण गर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया