‘रेग्मीको राजीनामा लोकतन्त्रका लागि’

Sujata-Koiralaकाठमाडौं : कांग्रेस नेत्री सुजाता कोइरालाले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा नदिए मुलुक लोकतान्त्रिक पद्धतिभन्दा बाहिर जाने बताएकी छन् । राष्ट्रियता र प्रजातन्त्रका लागि रेग्मीले तत्काल राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
‘खिलराज रेग्मीजीले तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्छ । राष्ट्रियता र प्रजातन्त्रको रक्षा गर्न पनि उनको राजीनामा अनिवार्य छ,’ पाटन संयुक्त क्याम्पसमा नेविसंघले आइतबार गरेको कार्यक्रममा नेत्री कोइरालाले भनिन् । रेग्मीलाई राजीनामापछि मात्रै चुनावी सरकारको नेतृत्व दिनुपर्ने माग उनले राख्दै आएकी थिइन् ।
कांग्रेसमा दुई दर्जनभन्दा बढी केन्द्रीय सदस्यले रेग्मीलाई राजीनामा नगराई चुनावी सरकारको प्रमुख बनाउँदा शक्ति पृथकीकरणको सिद्धान्तविरुद्ध हुने भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । गिरिजाप्रसाद कोइरालाले सधैँ शक्ति पृथकीकरणमा जोड दिएको भन्दै नेत्री कोइरालाले मुलुकलाई प्रजातान्त्रिक मूल्य–मान्यताबाट बाहिर जान दिन नहुने बताइन् ।
प्रमुख तीन र मधेसी मोर्चाले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर गलत निर्णय गरेको टिप्पणी नेत्री कोइरालाले गरिन् । ‘तपाईं नेविसंघका नेताहरू पैसा र रक्सीको पछि लाग्नुहुँदैन । राष्ट्रियता जोगाउने दायित्व युवाहरूको हो,’ उनले भनिन् ।
नेविसंघका नेता ऋषिकेशजंग शाहले पार्टीकै जिम्मेवार नेताले नेविसंघलाई कमजोर बनाएको आरोप लगाए । पार्टीका विद्यार्थी प्रमुख नवीन्द्रराज जोशीले पनि नेविसंघको विवाद मिलाउन उचित पहल नगरेको भन्दै महाधिवेशन घोषणा नगरे जोशीविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए । (सौस)

प्रतिक्रिया