‘प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु पर्छ’

sujataललितपुर, १८ चैत । कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट तत्काल राजीनामा दिनु पर्ने दोहराएकी छन् ।
ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा आज नेविसंघले आयोजना गरेको स्वागत एवं सांस्कृतिक कार्यक्रममा कोइरालाले रेग्मीले राजीनामा नदिए मुलुक लोकतान्त्रिक पद्धतिबाट बाहिर जाने दाबी गरिन् । ‘खिलराज रेग्मीजीले तत्काल प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु पर्छ,’ उनले भनिन्, ‘राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि पनि रेग्मीको राजीनामा अनिर्वाय छ ।’
शक्तिपृथकीकरणप्रति आफ्नो पुरानै अडान कायम रहेको नेतृ कोइरालाको भनाई थियो । उनले उनले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सधै शक्तिपृथकीकरणका आधारमा प्रजातन्त्रको रक्षा गर्दै आएको बताईन् ।
केन्द्रीय सदस्य कोइरालाले भनिन्, ‘मुलुकलाई प्रजातान्त्रिक मूल्य र मान्यताबाट बाहिर जान दिनु हुँदैन ।’
उनले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रमुख चार राजनीतिक शक्तिको निर्णय गलत रहेको पनि टिप्पणी गरिन् ।
त्यसैगरेर नेतृ कोइरालाले नेविसंघलाई प्रजातन्त्र र राष्ट्रियताको रक्षाका लागि जुट्न आग्रह गरिन् । ‘तपाई नेविसंघका नेताहरु पैंसा र रक्सीको पछि लाग्नु हुँदैन,’ उनले भनिन्, ‘राष्ट्रियता जोगाउने दायित्व युवाहरुको हो ।’
नेविसंघका नेता ऋषिकेशजंग शाहले विद्यार्थी राजनीतिलाई पार्टीका केही नेताहरुले धरासायी बनाएको आरोप लगाए । ‘विद्यार्थी संगठन हेर्ने कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेविसंघलाई भताभूङग बनाए,’ उनले आरोप लगाउँदै भने, ‘नेविसंघको महाधिवेशन तत्काल घोषणा नभए जोशी विरुद्ध आन्दोलन थाल्छौं ।’
नेता शाहले नेविसंघको महाधिवेशन छिटो गराउन नसक्ने नेतृत्वलाई तत्काल पदबाट हटाउन पनि माग गरे ।
स्वतन्त्र विद्यार्थी युनियनको मिति तत्काल घोषणा गर्नुपर्ने बताएका नेता शाहले चैत २१ गतेबाट सुरु हुने नेविसंघको आमरण अनशनले त्रिविका पदाधिकारीको राजीनामा माग्ने चेतावनी दिए ।
‘स्ववियु निर्वाचनको मिति घोषणा गर्न ढिलाई भए चैत २१ गतेबाट सुरु हुने आमरण अनशनले त्रिवि पदाधिकारीको राजीनामा माग्छ,’ उनले भने ।
कार्यक्रममा पाटन क्याम्पस नेविसंघ ईकाईका अध्यक्ष दीपेन्द्र वान्तवा, सन्तोष कट्टेल, मनजित ताम्राकार, गायक प्रकाश घिमिरेलगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया