“तानाशाही बने रेग्मीलाई एक धक्कामै हटाइन्छ”

Sushil Koiralaकाठमाडौं, १८ चैत । कांग्रेस सभापति सुशील कोइरालाले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी तानाशाही बाटोमा नहिँड्ने विश्वास व्यक्त गरेका छन् । न्याय सेवामा खारिएका व्यक्ति तानाशाही बन्न नसक्ने उनको विश्वास छ ।

‘मलाई सरकार तानाशाही बाटोमा हिँड्छ भन्ने विश्वास छैन,’ नेपाल ट्रेड युनियन कांग्रेस स्वतन्त्रले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले भने । डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई विस्थापित गरेर चुनाव सुनिश्चित गर्न रेग्मीलाई नेतृत्व दिइएको उनले बताए ।
रेग्मी सरकार तानासाही बाटोमा हिँडे आन्दोलनले ठेगान लगाउने सभापति कोइरालाले बताए । ‘सरकार तानाशाही बाटोमा हिँडेमा एक धक्कामै हटाउँछौँ,’ उनले भने । बाध्यात्मक अवस्थामा रेग्मी सरकार बनाउनुपरेको भए पनि उनीमाथि शंका/उपशंका नगरेर चुनावमा केन्द्रित हुनुपर्ने कोइरालाले बताए । एमाओवादीका कारण संविधान नबनेको आरोप लगाउँदै कोइरालाले पार्टीभित्रका सबै तीता कुराहरू बिर्सेर चुनावमा होमिन नेता/कार्यकर्तालाई निर्देशन दिए ।
वरिष्ठ नेता शेरबहादुर देउवाले जंगलमा रहेको एमाओवादीलाई राजनीतिको मूलधारमा ल्याएर कांग्रेसले विश्वलाई नै चकित
पारेको बताए । पार्टीभित्र कुनै गुट–उपगुट नरहेको जिकिर गर्दै उनले निर्वाचनको माहोलमा सिंगो पार्टी एकबद्ध रहेको उनको दाबी छ । ‘छिटो निर्वाचनको घोषणा गर्नुपर्‍यो, असारमा गर्न नसक्ने हो भने मंसिरमा मिति घोषणा गर्नुपर्‍यो’, देउवाले भने ।
उप–सभापति रामचन्द्र पौडेलले पार्टीले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवादको बाटो अवलम्बन गर्ने अन्य पार्टीहरू अगाडि गएको अवस्थामा कांग्रेस पछाडि पर्नु चिन्ताको विषय भएको बताए । ‘पार्टीलाई किसानको र श्रमिकको साथी बनाउन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया