उत्तर कोरियाद्वारा दक्षिणसँग युद्धको चेतावनी

सोल : उत्तर कोरियाले दक्षिण कोरियासँगको सम्बन्ध युद्धको अवस्थामा पुगेको भन्दै युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको शनिबार जनाएको छ । उत्तर कोरियाले भनेको छ, ‘हामी युद्धको अवस्थामा पुगिसकेका छौँ । अहिलेकै अवस्था विद्यमान रहने हो भने दक्षिणसँग युद्ध घोषणा हुनेछ ।’
दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले कोरियाली प्रायद्वीपमा युद्ध भड्काउने खालका अनावश्यक एवं उत्तेजक प्रचार कार्य गरेकाले युद्धको अवस्था सिर्जना भएको आरोप लगाएको छ । उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले विगत केही समयदेखि उत्तरविरुद्ध प्रचार थालेका र यसले गर्दा युद्धको अवस्थामा प्रवेश गर्न बाध्य भएको आरोप पनि लगाएको छ ।
उत्तर कोरिया सरकारले शनिबार प्रकाशन गरेको एक विज्ञप्तिमा ‘हामीहरू दक्षिण कोरियासँग युद्धको चरणमा प्रवेश गरेका छौँ’ भनेको उत्तर कोरियाको समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । कोरियाली प्रायद्वीमा विगतका लामो समयदेखि युद्ध वा शान्ति कुनै पनि अवस्था नरहेको, तर हालैका क्रियाकलापका कारण युद्धकै अवस्थामा प्रवेश गर्नुपरेको विज्ञप्तिमा बताइएको छ । अझै युद्ध घोषणा नभइसकेको र हालका लागि युद्धमा प्रवेश मात्र गरेको भन्दै विज्ञप्तिमा युद्धको अवस्था आउनसक्ने सम्भावना रहेको जनाइएको छ । आगामी दिनमा पनि दक्षिण कोरिया र अमेरिकाले परिस्थितिलाई उत्तेजक बनाउन खोजे युद्ध घोषणा गर्न बाध्य हुनुपर्ने बताइएको छ ।
करिब ६ दशकदेखि युद्धकै अवस्थामा रहेका यी दुई कोरियाका बीचमा केही समययता तनाव उत्पन्न भएको छ । दुई कोरियाबीच अहिले पनि युद्धविरामको अवस्था छ ।
यसअघि कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भन्दै अमेरिका र दक्षिण कोरियाबीच सैन्य सम्झौता भएको थियो । उत्तर कोरियाबाट युद्ध भड्काउने स–साना काम भएको खण्डमा समेत संयुक्त प्रतिक्रिया व्यक्त गर्नेगरी दुई मुलुकबीच भएको सम्झौताको दक्षिणले स्वागत गरेको हो । सम्झौताले कोरियाली प्रायद्वीपमा जारी तनावका बीच दक्षिणलाई थप प्रतिरोधी क्षमता प्राप्त भएको सोलले सोमबार जनाएको छ ।
यसअघिको सम्झौताले दुई कोरियाबीच पूर्ण युद्ध भएमा अमेरिकालाई संलग्न हुने आधार दिएको थियो । नयाँ सम्झौताले दुई मुलुकबीच अन्तरसीमा संघर्षजस्ता सानो स्तरको संघर्षमा पनि अमेरिकालाई संलग्न हुने आधार तयार गरेको छ । सम्झौताअनुसार दक्षिण कोरियाले उत्तर कोरियाविरुद्ध गर्ने कुनै पनि जवाफी कारबाहीमा अमेरिकाले सहयोगको प्रत्याभूति दिन्छ भने सोलले आवश्यक ठानेमा उसले थप अमेरिकी सैनिक माग गर्नसक्छ । सम्झौताले जापानबाट थप सैनिक सहयोग प्राप्त गर्न बाटो पनि खोलिदिएको छ । सम्झौतामा उत्तर कोरियाली सैनिकले दक्षिण कोरियाको जल क्षेत्रमा प्रवेश गरे, सीमावर्ती द्वीपमा गोलाबारी गरे, युद्धक विमानबाट हवाई क्षेत्रमा प्रवेश तथा स्थल क्षेत्रमा प्रवेश गरे के गर्ने भन्ने विषयलाई समेटेको छ । यस्ता कार्यलाई सम्झौतामा ‘युद्ध भड्काउने कार्य’को संज्ञा दिएको छ । (एजेन्सी)

प्रतिक्रिया