हरितारा पुरस्कार तथा सम्मान प्रधान

Haritaraकाठमाडौं : लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउँदै आएका चर्चित कलाकार सुनील थापा र सञ्चारकर्मी एवं निर्देशक दिनेश डिसीलाई यस वर्षको ‘हरितारा चलचित्र पुरस्कार ०६९’ बाट परस्कृत गरिएको छ ।
हरितारा चलचित्र पुरस्कार गुठीले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यी दुवैलाई उक्त पुरस्कारद्वारा सम्मानित गरिएको हो । पुरस्कारको राशि जनही पच्चीस हजार रुपियाँ रहेको छ ।
उक्त कार्यक्रममा निर्माता छविराज ओझा, पत्रकार शान्तिप्रिय, कलाकारहरू विनोद श्रेष्ठ, सपना श्रेष्ठ र जेनी कुँवरलगायतलाई समेत सम्मान गरियो । यी सबैलाई ‘परिवर्तन सम्मान ०६९’ बाट सम्मानित गरिएको हो । पुरस्कृत तथा सम्मानित सबैलाई हरितारा चलचित्र पुरस्कार गुठीका पूर्वअध्यक्षसमेत रहेका अभिनेता शिव श्रेष्ठ, वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल, शुभद्रा अधिकारी, पहिलो रंगीन नेपाली चलचित्रकी नायिका चैत्यदेवीलगायतले पालैपाले पुरस्कार तथा सम्मान पत्र हस्तान्तरण गरे ।
यो पुरस्कार चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने तथा संघर्षरत स्रष्टालाई सम्मान गर्दै कलाक्षेत्रमा निरन्तर लाग्न प्रोत्साहन गर्नका निमित्त समाजसेवी स्वर्गीय विजय राणाले तीन लाख रुपियाँको अक्षयकोष खडा गरी स्थापना गरिएको पुरस्कार हो । ०५२ बाट निरन्तर रूपमा दिइँदै आइएको यो पुरस्कार निजीक्षेत्रबाट स्थापित चलचित्रसम्बन्धी पहिलो पुरस्कार हो ।
यस पुरस्कारबाट यसअगाडि मह जोडी, स्वर्गीय शान्ती मास्के, प्रथम नायिका भुवन चन्द, गोपाल भुटानी, जयनन्द लामा, सुशीला रायमाझी, श्रीकृष्ण श्रेष्ठ, सुभद्रा अधिकारी शर्मिला मल्ल, सकुन्तला शर्मा, शिव श्रेष्ठ, गोपालराज मैनाली, वसुन्धरा भुसाल, हरिहर शर्मा, रमेश बुढाथोकी, दीपकराज गिरी, दीपाश्री निरौलालगायत परस्कृत भइसकेका छन् ।
हाल अक्षयकोषमा ६ लाख रहेको छ । सोही अक्षयकोषबाट आएको ब्याजले पुरस्कार प्रदान गरिँदै आएका हरितारा चलचित्र पुरस्कार गुठीका महासचिव तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । (सौस)

प्रतिक्रिया