बलात्कारका अभियुक्त पक्राउ

राजविराज, १८ चैत । घरमा कोही नभएको मौका छोपेर छिमेकका महिलालाई करणी गर्न खोज्ने युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । बसवलपुर–६ का ३० वर्षीय डम्बरनारायण सरदारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई रातका समयमा २५ वर्षीया छिमेकी महिलालाई करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । पीडितका पति रोजगारीका लागि काठमाण्डौंमा रहेको र घरमा नाबालक सन्तान मात्र भएको फाइदा उठाएर डम्बरनारायणले करणी गर्न खोजेको प्रहरीको भनाइ छ ।
सुतिरहेका समयमा मध्यरातमा घरभित्र पसेर आफूसँग यौनसम्पर्क गर्न खोजेको र नमान्दा कुटपिटसमेत गरेको तथ्य पीडित महिलाले प्रहरीमा बुझाएको उजुरीमा उल्लेख छ । सरदारको आक्रमणमा पीडितको शरीरमा चोटपटकसमेत देखिएको इन्स्पेक्टर प्रद्युम्न अधिकारीले बताए । महिला चिच्याएपछि भागेका सरदारलाई राति नै गाउँलेले पक्रेर प्रहरीमा बुझाएका थिए । पीडित महिलाको स्वास्थ्यजाँच गरिएको र अभियुक्तलाई कारबाही प्रक्रियासमेत अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यसैगरी काभ्रेमा आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई स्थानीयको सहयोगमा प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको छ । डेढ महिनादेखि छोरीलाई नियमित बलात्कार गर्दै आएका ती बाबुले भने बलात्कार गरेको अस्वीकार गर्दै आएका थिए । पात्लेखेत–८ तिलखोरियाका ६० वर्षीय कृष्णबहादुर स्याङ्तानले ४० वर्षीया अविवाहित छोरीलाई बलात्कार गर्दै आएका थिए । छोरीले आफ्नै ठूली आमासमक्ष बाबुको कर्तुत भनेलगत्तै बिहीबार दिउँसो भेला भएका स्थानीयले कृष्णबहादुरलाई कारबाही गर्ने बताएपछि उनी चुरोट किन्ने बहानामा भागेका थिए । पछि गाउँलेले नै उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।
बलात्कृत छोरीले बिहीबार बिहान आफ्नै ठूली आमाको घरमा गएर बाबुले पटकपटक बलात्कार गरेकाले घर बस्न नसक्ने बताएकी थिइन् । २३ माघमा आमाको निधन भएको सात दिनपछि ३० माघदेखि नै बाबुले बलात्कार गरेको जानकारी गराएपछि ठूलीआमाले अपराधीलाई कारबाही गराउनुपर्छ भन्दै गाउँलेहरूको भेला बोलाएकी थिइन् । सामान्य रूपमा अस्वस्थ भई विवाह नगरी माइतमै बसेकी छोरीलाई पहिलो दिन दुईपटक जबर्जस्ती शारीरिक सम्पर्क राखेको छोरीको भनाइ उद्धृत गर्दै स्थानीयले बताए ।
एउटै घरमा बस्ने बाबु र छोरीको सम्बन्धका बारेमा छोराबुहारी भने अनभिज्ञ देखिएका छन् । बाबुले दिन बिराएरै सुतेको ठाउँमा मुख छोपेर झम्टन थालेपछि सुरक्षाका लागि छोरी धेरै रात छिमेकमा रहेका काका र ठूलो बुबाकहाँ सुत्दै आएकी थिइन् । उमेरको ४० वर्षसम्म आफ्नो घर कहिल्यै नछाड्ने छोरी प्राय: अर्कैका घरमा सुत्न जान थालेपछि उनको छरछिमेकका लागि समेत त्यो एक अनुसन्धानको विषय बनेको थियो । छोरी आफैँले ठूली आमासँग बलात्कारका कारण घर छाड्ने निर्णय सुनाएपछि मात्र बाबुको कर्तुत सार्वजनिक भएको हो ।

प्रतिक्रिया